तनहुँ : स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या


दमौली, १७ मंसिर । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित धरमपानी स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सर्वसाधारणको उपचारमा समस्या परेको छ । समायोजनका क्रममा दुई महिनाअघि अन्यत्र गएका र सरुवा भएर आउनुपर्ने स्वास्थ्यकर्मी नआएका कारण कर्मचारीको अभाव भएको हो ।

स्वास्थ्यचौकीका प्रमुख सिनिअर अहेव धर्मराज बढुले स्वास्थ्यकर्मीको अभावमा सेवा दिन असहज भएको बताए। दैनिक १५ देखि २० सर्वसाधारण उपचार सेवा लिन आउने स्वास्थ्यचौकीमा बढु र एक कार्यालय सहायक मात्र कार्यरत छन् ।

आफू एक्लैले कार्यालयको प्रशासनिक काम, बिरामीको स्वास्थ्य परीक्षण र औषधि वितरणको काम गर्नुपरेको बढुले बताए । “एक्लैले सबै काम गर्नुपर्दा कठिनाइ भइरहेको छ”, बढुले भन्नुयो, “जसकारण सबै बिरामीलाई सेवा दिन सकिएको छैन ।”

बिरामीको स्वास्थ्य परीक्षण गर्ने अहेव र स्वास्थ्य सहायक नै नभएपछि सेवा लिन आउने सबै सर्वसाधारणलाई सेवा दिन नसकिएको उनको गुनासो छ । बढुका अनुसार सरुवा भएर आउने कर्मचारी नआउने भएमा अर्को विकल्प खोज्न गाउँपालिकालाई अनुरोध गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले सरुवा भएर आउने स्वास्थ्यकर्मीको टुङ्गो लागिसकेपछि अर्को व्यवस्था गरिने जानकारी दिँदै सर्वसाधारणको स्वास्थ्यप्रति गाउँपालिका गम्भीर रहेको बताए । स्थानीयवासी रामबहादुर गुरुङले स्वास्थ्यचौकीमा एक मात्रै स्वास्थ्यकर्मी भएका कारण सेवा लिन धेरै समय कुर्नुपरेको बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *