कृत्रिम हातखुट्टा पाउँदा सबै दङ्ग

  • चन्द्रकला भण्डारी

मोरङ, १७ मंसिर । पथरी–३ का १९ वर्षीय चन्द्र दर्जीले एक वर्षअघि करेन्ट लागेर दाहिने हात गुमाउनुप¥यो । झापाको अर्जुनधारा जलेश्वरधाममा निःशुल्क रूपमा कृत्रिम हात प्रत्यारोपण गर्न पाउँदा उनले हर्षको आँशु खसाइन ।

सत्तरी वर्षको बुढ्यौलीमा बागलुङ नगरपालिका–३ का रेवतीरमण पौडेलले पनि अर्जुनधाराधाममा कृत्रिम खुट्टा लगाएकी छन् । भारतको नागाल्याण्डमा रोजगारीका सिलसिलामा काम गर्दा २५ वर्षअघि गाडी दुर्घटनामा परेर उनले खुट्टा गुमाउनुपरेको थियो ।

दर्जी र पौडेल मात्र होइन, ताप्लेजुङको सिरीजङ्गा –५ का २२ वर्षीय राजकुमार भण्डारीलगायत २०० जनाले अर्जुनधाराधाममा आयोजित कृत्रिम हातखुट्टा प्रत्यारोपण कार्यक्रमबाट सोमबार निःशुल्क लाभ उठाएका छन् । भण्डारीले ११ वर्षका उमेरमा विद्यालय जाने क्रममा रुखले किचेर एउटा खुट्टा गुमाएका थिए ।

स्वामी हेमानन्द गिरीको विशेष पहलमा कोलकाता भारतको महावीर सेवा सदनले जलेश्वरधाममा यही मङ्सिर १३ देखि २० गतेसम्म कृत्रिम हातखुट्टा प्रत्यारोपण कार्यक्रम आयोजना गरेको हो । मुलुकका विभिन्न जिल्लाबाट ४०० भन्दा बढीले कृत्रिम हातखुट्टा लगाउनका लागि धाममा नाम लेखाएको र प्रत्यारोपण धमाधम भइरहेको शङ्कराचार्य गिरीले बताए । धामले आफ्नो ३७औँ वार्षिक धार्मिक अनुष्ठानको अवसर पारेर कृत्रिम हातखुट्टा प्रत्यारोपण कार्यक्रम आयोजना गरेको धामका अध्यक्ष नवीन गट्टानी बताउँछन् । टाढाबाट सेवा लिन आउनेलाई धामले खाने र बस्ने व्यवस्थासमेत निःशुल्क उपलब्ध गराएको छ ।

महावीर सेवा सदनले झापामा पहिलो पल्ट यस्तो शिविर सञ्चालन गरेको हो । कोलकाताबाट सात प्राविधिकको टोली अर्जुनधाराधाममा आएर कृत्रिम हातखुट्टा बनाउने अस्थायी कारखाना नै स्थापना गरेको छ । हातखुट्टा गुमाएका व्यक्तिको नापजाँच गरेर स्वास्थ्य परीक्षणपछि सोही कारखानामा कृत्रिम अङ्ग निर्माण गरिने भारतबाट आएका मुख्य प्राविधिक मुकेश पाण्डेले जानकारी दिए । प्राविधिकसमेत कृत्रिम हातखुट्टा प्रत्यारोपण गरेका व्यक्ति छन् ।

कृत्रिम हातखुट्टा लगाएपछि कम्तीमा पाँच वर्षसम्म कुनै मर्मतसम्भारविना हिँडडुल र सामान्य काम गर्न सकिने प्राविधिक पाण्डे बताउँछन् । प्रत्यारोपण गरिएको हात र खुट्टा साङ्गसरह देखिन्छ । अस्पतालमा एउटा कृत्रिम हात वा खुट्टा प्रत्यारोपण गर्दा रु ७५ हजारसम्म पर्ने बताइएको छ । यहाँ निःशुल्क उक्त सेवा उपलब्ध हुँदा सेवाग्राही दङ्ग छन् । स्वामी हेमानन्द धार्मिक संस्थाले गरीब, असहाय र पीडितलाई यसैगरी उद्धार हुने किसिमका सेवा प्रदान गर्नुपर्ने बताउँछन् ।

मधुमेहका कारण घाउ फैलिएर एक वर्षअघि एउटा खुट्टा काट्नुपरेको पीडा व्यहोर्दै आउनुभएका भद्रपुर–१ की ७० वर्षीया धनमाया तामाङले कृत्रिम खुट्टा लगाउन पाउँदा पुनःजन्म भएजस्तो खुशी लागेको बताए । उनले भने, “पोहोर साल नोबेल अस्पतालमा खुट्टा काट्नुपर्दा साह्रै पीर लागेर धेरै दिन रोएकी थिएँ, अहिले उस्तै खुट्टा जोडिदिँदा पहिलेजस्तै हिँडडुल गर्न सक्ने भएकी छु, खुशी लागेको छ ।”

महावीर सेवा सदन कोलकाताले गत साता अर्जुनधाराधाममै निःशुल्क आँखा शिविरसमेत आयोजना गरेको थियो । तीन हजार ७०० जनालाई निःशुल्क चश्मा वितरण गरिएको शिविरमा पाँच हजारभन्दा बढीले उपचार सेवा लिएका थिए । आँखा शिविर र कृत्रिम हातखुट्टा प्रत्यारोपणमा सदनले रु एक करोडभन्दा बढी नै खर्च गरेको आयोजकले जनाएको छ ।

नेपालमा अपाङ्गता भएका व्यक्तिको सुरक्षा, स्वास्थ्य र रोजगारीको जिम्मा राज्यले नै लिनुपर्ने संवैधानिक व्यवस्था छ । एक लाखभन्दा बढी अपाङ्गता भएका व्यक्तिले सामाजिक सुरक्षाभत्ता पाइरहेको तथ्याङ्क पाइए तापनि कतिले कृत्रिम हातखुट्टा पाएका छन् भन्ने तथ्याङ्क भेटिँदैन । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *