विश्वविद्यालयसंग समन्वय गरी शुल्क समायोजन गर्ने निजी मेडिकल कलेजको प्रतिवद्धता

548
Shares

काठमाडौँ, १० मंसिर ।  निजी मेडिकल कलेजहरुले  सम्वन्धित  विश्व विद्यालयसंग समन्वय गरी अतिरिक्त शुल्क समायोजन गर्ने प्रतिवद्धता जनाउने भएका छन् । शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई केही बेरमा भेटेर प्रतिवद्धता पत्र हस्तान्तरण गर्ने तयारीमा रहेका कलेज सञ्चालकहरुले शुल्क समायोजनको विषयमा आफूहरु विश्वविद्यालयको निर्देशन अनुसार अघि बढ्ने बताएका छन् ।

शिक्षा मन्त्रालयमा हिजो भएको बैठकमा कलेज सञ्चालकहरुले आज मध्यान १२ बजेसम्ममा खाका बुझाउने भनेका थिए । तर आन्तरिक छलफलको कारणले समय केही लाग्ने भन्दै अपरान्ह ४ बजे भित्र समायोजन सम्वन्धी प्रतिबद्धता पत्र बुझाउने बताएका छन् ।

हिजो १२ बजेसम्म सम्मको समय दिनुस भनेर निस्कनु भएको थियो तर आज केही समय लाग्ने भयो भन्नु भएको छ । सम्भवत ४ बजेसम्ममा आउनुहुन्छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने । मेडिकल कलेज सञ्चालक डा हरिशचन्द्र न्यौपानेले अहिले प्रतिवद्धता पत्र तयार गर्ने काम भइरहेको भन्दै अपरान्ह ४ बजेसम्ममा शिक्षा मन्त्रीलाई हस्तान्तरण गरिसक्ने बताए ।

यस्तो बनाइदै छ खाका

शिक्षा मन्त्रीसंग सोमबार बैठक बसेपछि निजी मेडिकल कलेजहरुले अतिरिक्त शुल्क समायोजन गर्ने खाका प्रस्तुत गर्ने र त्यसमा छलफल गरेर एउटा टुंगोमा पुग्ने बताइएको थियो । ‘अहिले त्यसैको तयारीमा लागेका छौँ’ , चितवन मेडिकल कलेजका सञ्चालक रहेका डा न्यौपानेले भने ।

उनका अनुसार अव मेडिकल कलेजहरुले त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालय मार्फत शुल्क समायोजनको प्रतिवद्धता जनाइने छ । ‘कुन, के, कति, कसरी, गर्ने समायोजन गर्ने भन्ने कुरा विश्वविद्यालयसंग समन्वय गरी आवश्यकताका आधारमा शुल्क समायोजन गर्न आफूहरु तयार रहेको प्रतिवद्धता जाहेर गर्दैछौँ,’ डा न्यौपानेले भने । 

प्रतिवद्धता पत्रमा शुल्कका बारेमा देखिएका भ्रम र यसमा क कसको गल्ती छ भनेर समेत खुलाउन लागेका छन् । ‘यसमा हाम्रो मात्रै कमजोरी भनिएको छ, यसमा विश्वविद्यालय, मन्त्रिपरिषद, आईओएम आदी सबैका कमजोरी छन् । ती कुराहरु पनि औल्याइने छ,’ डा न्यौपानेले भने ।

आजको छलफलका क्रममा कतिपय सञ्चालकहरुले अन्य शुल्क लिनै नपाइने हो भने धरान, पाटन आर्मीले किन लिएको ? काठमाडौँ विश्वविद्यालयले लिन पाउने भनेर किन सूचना निकाल्यो ?भनेर प्रश्न गरेका थिए । उनीहरुले समस्या आउनुमा सरकारी संयन्त्रको समेत दोष रहेको भन्दै कारवाही निजी मेडिकल कलेजलाई मात्रै गर्ने कि अरुलाई पनि गर्ने भन्ने विषय ड्राफ्ट राख्न माग गरेका छन् ।

सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित हुँदा सरकारले निजी मेडिकल कलेजहरुलाई शुल्क समायोजन गर्न १५ दिनको समय सिमा तोकेको थियो । सो समयसिमा हिजो सकिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *