महिला सहकर्मीमाथि दुर्व्यवहार गरेपछि स्वास्थ्य अनुसन्धान परिषदका अधिकृत परे निलम्बनमा
काठमाडौँ, ६ मंसिर । कार्यालय समयमै मादक पदार्थ सेवन गरी महिला सहकर्मीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का तालिम अधिकृत विजयकुमार झा निलम्बनमा परेका छन् । परिषदले उनको दुई महिनाको तलव समेत रोक्का गरेको छ ।
घटना गत १ मंसिरको हो । दिउसो ३ बजे तिर मादक पदार्थ सेवन गरी ‘फिट्टु’ भएर आएका झाले एक जना महिला सहकर्मीमाथि यौन दुर्व्यवहार गरेका थिए । घटना लगत्तै ती महिला कर्मचारीले परिषद अध्यक्ष प्राडा अञ्जनीकुमार झा समक्ष आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै उजुरी गरेकी थिइन ।
अधिकृत झा विरुद्ध उजुरी परेपछि अध्यक्ष झाले तत्काल कर्मचारीहरुको बैठक बोलाई विभागीय कार्वाही गर्ने निर्णय गरेका हुन् ।
झालाई ४ मंसिरदेखि १७ मंसिरसम्म १५ निलम्बन गरिएको छ । साथै, उनलाई मंसिर र पुस दुई महिनाको तलब समेत रोक्का गर्ने परिषदले निर्णय गरेको छ ।
तलब रोक्का तथा निलम्बन सम्वन्धी पत्रमा परिषद्को कर्मचारी प्रशासन विनियमावली १०.३ बमोजिम निलम्बन गरिएको र सोही विनियम अनुसार दुई महिनाको तलब रोक्का गरिएको उल्लेख छ ।
पत्रमा आइन्दा कार्यलय समयमा पुनः यस्ता मर्यादा विपरित कार्य दोहोरिएको पाइएमा विनियमको १०.६ बमोजिम भविष्यमा परिषद्को सेवाको लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्ने गरी कारवाही हुने चेतावनी समेत दिइएको छ ।
अधिकृत झालाई निलम्बन र तलब रोक्का गरेको पत्रमा कार्यकारी अध्यक्ष आफैले हस्ताक्षर गरेका छन् ।
सम्पर्क इमेल : [email protected]