‘मेडिकल कलेजले लिएको बढी शुल्कको विषयमा दोष एउटाको मात्रै रहेनछ’

प्राडा धर्मकान्त बास्कोटा, उपकुलपति त्रिभुवन विश्वविद्यालय

मेडिकल कलेजले लिएको बढी शुल्कको विषय बल्झिदै जाँदा निजी मेडिकल कलेजमा चिकित्सा शास्त्र तर्फका नयाँ भर्ना नै अन्योलमा परेको छ । विद्यार्थी आन्दोलनमा छन्, शिक्षा मन्त्रालयले मेडिकल कलेजका नाममा १५ दिने अल्टिमेटम दिईसकेको छ । तर आजै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले कलेज सञ्चालकहरुलाई बोलाई यसै सन्दर्भमा छलफल राखे । विवाद समाधानका लागि सहजीकरण गरेको भनेका प्राडा बास्कोटाले कलेजसञ्चालकहरुसंग के कुरा गरे त ? नेपाली हेल्थले उनीसंग आज भएको छलफलको बारेमा कुराकानी गरेको छ । प्रस्तुत छ उनीसंग गरिएको छलफलको सारसक्षेप :

मेडिकल कलेज सञ्चालकहरुसंग छलफल भएको हो ?
हो । मेडिकल कलेजमा शुल्कको विषयमा विद्यार्थीहरुको आन्दोलन छ । शिक्षा मन्त्रालयले यहि सन्दर्भमा मेडिकल कलेजका नाममा पन्ध्र दिने सूचना जारी गरेको अवस्था छ । सञ्चालकहरु आ आफ्नै कुरा गरिरहेका छन् । यी सबैकुराले मेडिकल शिक्षाको शैक्षिक कार्यक्रमलाई नै अवरोध पार्न सक्ने देखिएकोले यस विषयलाई कसरी सहजिकरण गर्न सकिन्छ । आज मेडिकल कलेजका सञ्चालकसंग छलफल गरेको हो ।

छलफलमा विद्यार्थी प्रतिनिधि र शिक्षा मन्त्रालयका अधिकारी पनि थिए कि ?
होइन, विद्यार्थी प्रतिनिधिसंग मैले केही दिन अघि नै बसिसकेको थिएँ । उहाँहरुको कुरा सुनिसकेको थिएँ । शिक्षा मन्त्रालयले त सार्वजनिक रुपमा सूचना जारी गरिसकेको अवस्था छ । त्यसैले आज चाहि मेडिकल कलेजका सञ्चालक तथा प्रतिनिधिसंग मात्रै बसेका हौँ ।

छलफल पछि के निस्कर्ष निस्कियो त ?
पहिलो कुरा छलफल गर्नुको उद्धेश्य यो अहिको विद्यमान समस्यालाई कसरी सलटाउने भन्ने नै हो । किनभने शैक्षिक सत्र ढिलाई हुँदा समस्या पर्ने विद्यार्थीलाई हो, कलेजहरुलाई हो । विश्वविद्यालय र स्वयं शिक्षा मन्त्रालयलाई पनि यसले खुशी दिन सक्दैन । त्यसैले यो समस्यालाई बल्झाउँदै जानु भन्दा सुल्झाउदै जानु उपयुक्त हुन्छ भन्ने ठानेर छलफल गरेको हुँ । छलफलमा हामीले कलेज सञ्चालकलाई भन्यौँ सकेसम्म तपाईँहरु मिल्नुस । मिल्न सकिने अवस्था छैन भने हामीले के सहजी करण गर्नुपर्छ त्यो गर्न तयार छौँ पनि भन्यौँ । नमिलेपछि सरकारले इन्टरभेन्सन गर्नै पर्छ, विश्वविद्यालयले पनि त्यो कदम चाल्नै पर्छ भन्यौँ । जे होस् उहाँहरु सकारात्मक हुनुहुन्छ जस्तो लाग्छ ।

तर मन्त्रालय र विद्यार्थीको कुराले त मेडिकल कलेजहरुले बदमासी गरेको जस्तो देखिन्छ नि होइन र ?
त्यसो पनि होइन । मेडिकल कलेजले बढी शुल्क लिने अवस्था आउनुमा अनेक फ्याक्टर रहेछन् । विगतका कुराहरुलाई हेर्ने हो भने अलि अलि दोष सबैको देखिन्छ । विद्यार्थीकै भूमिका हेरौँ न सरकारले २०७२ साल देखि शुल्क तोकेर सूचना जारी गरिरहेको छ । विद्यार्थी र गार्जेनले तोकेको शुल्क भन्दा बढी लगेर किन बुझाएको ? त्यसबेला पनि डिन कार्यालय थियो । मन्त्रालय थियो । सरकार थियो । शुल्क बढी माग्यो भनेर आवाज उठाएको पाइएन ।

दोस्रो कुरा विश्वविद्यालयमा पनि के भो भने चिकित्सा शिक्षा आयोग आयो बीचमा एक पटक अध्यादेशबाट । अनि विश्वविद्यालयले यो त अब आयोगको काम हो भनेर छाडिदियो । फेरी आयोग निस्कृय भयो । फेरी अहिले आयोग आयो । यसले गर्दा यसको स्वामित्व कसले लिने भन्ने पनि बीचमा अलिकति अलमल भयो । फेरी त्यहि बीचमा शिक्षण शुल्क बाहेक अन्य शुल्क पनि लिन पाउने भनेर सूचना प्रभाव भयो । यसले गर्दा कलेजहरुले अन्य शुल्क भन्ने स्पेश पायो । अनि त्यहि अन्य शुल्कलाई टेकेर कलेजहरुले धमाधम आफूखुशी शुल्क तोक्न थालेछन् । यो कलेज सञ्चालकहरुले गरेको दुरुपयोग हो । र त्यसरी शिर्षक राक्ने विश्वविद्यालय पनि दोष होला ।

सरकारले पनि यो बीचमा जब विद्यार्थी भर्ना भइसक्छन् त्यसपछि मात्रै शुल्क तोक्ने जस्तो गरेको पाईयो । यहाँ निर पनि कमजोरी छ । त्यसैले अहिलेको अवस्था आउनुमा सबैको थोरै थोरै दोष छ भन्छु म । तर कुरा के हो भने इस्यु उठिकसेपछि यसलाई बल्झाउँदै लैजाने होइन समाधान गर्नुपर्छ । त्यसैले कलेजहरुलाई मैले भनेको छु । मन्त्रालयले सूचना निकालि सकेको छ । अब आफै समाधान गर्नेमा लाग्नुस भनेको छु । आफै मिल्न गाह्रो भयो भने हामी सहजीकरण गछौँ भनेको छु । अब मेडिकल कलेजको इस्यु सडकमा नराखौँ भनेको छु । यसलाई सधैको लागि निमिट्यान्न पारौँ भनेको छु ।

आफै मिल्नुस भनेको मन्त्रालयले भनेजस्तै बढी शुल्क फिर्ता गर्नुस भन्ने हो ?
फिर्ता गर्नुपर्ने देखियो भने फिर्ता गर्ने । फिर्ताको पनि कस्तो हुँदो रहेछ भने दुई किसिमको हुँदो रहेछ । जति बढी लिएको छ तुरुन्तै फिर्ता गर्ने वा आगामी बर्षको किस्तामा समायोजन गर्ने भन्ने पनि उपाय रहेछ ।

कलेज सञ्चालकहरुले के भने ?
उनीहरु सकारात्मक छन् ।

अन्य शुल्कको विषयमा पनि छलफल भयो कि ?
त्यहि त विश्वविद्यालय र डिन अफिसले अन्य शुल्क भनेर लिन मिल्ने भन्ने पत्र पठाएको रहेछ । र यो मेडिकलमा मात्रै होइन । अरु फ्याकल्टीमा पनि रहेछ । तर त्यसको मिस इन्टरप्रिटेसन भनौँ कि के भनौ । कलेज सञ्चालकहरुले त्यही अन्य शव्दमा खेल्ने मौका पाएछन् ।

शुल्कको विषयमा थप कुरा केही भयो कि ?
मैले स्पष्ट रुपमा भनेको छु, पहिलेको शुल्कको लफडा छिटो मिलाउनुस । त्यसमा हामीले खेल्नुपर्ने भूमिका वा सहजीकरणका लागि के गर्नुपर्छ गर्छौ भनेको छु । यो पटकका लागि सरकारले साढे ४ प्रतिशत बढाएर नयाँ शुल्क तोकिसकेको छ । यसलाई यसलाई हुवहु कार्यान्वयन गर्नुहोस । चित्त बुझेन भने अर्को सालमा बरु सर्वपक्षीय समिति बनाएर बास्तविक लागतका आधारमा नयाँ शुल्क तोकौँला भनेको छु ।

के भने सञ्चालकहरुले ?
अहिलेको शुल्कमा हामीलाई मर्का त छ तर सबै कुरा मिलाउने हो भने एक बर्षका लागि हामी सहमतिमा आउन तयार छौँ भन्नुभयो ।

मेडिकल कलेजमा देखिएको यो लफडाले भर्ना प्रक्रिया सुरु हुन सकेको छैन । यसले शैक्षिक सत्रलाई प्रभाव पारेको छ कि छैन ?
त्रिविको हकमा ढिलै चाही भईसकेको छैन आजको दिनसम्म । किनभने विगतमा पनि मंसिरको पहिलो हप्ता देखि भर्ना शुरु हुन्थ्यो । अहिले पनि हामी पहिलो हप्तामा छौँ । केयुको चाहि यो भन्दा केही अघि हुन्थ्यो । अन्तिम भर्नाको समय भर्ना शुरु भएको ३५ दिनको समय राखेको हुन्छ । खाली सिट भयो भने भर्न भनेर । त्यसलाई हिसाव गर्दा प्रभावित भएको छैन भन्न सकिन्छ । कक्षा हुने दोस्रो तेस्रो हप्ता पछि नै हो । केयुमा केही अघि सुरु हुन्थ्यो ।

आजको छलफलमा विद्यार्थीलाई पनि राखेको भए छिटो निकास निस्कन्थ्यो कि ?
मैले यसअघि नै विद्यार्थी संग बसिसकेको छु । उनीहरुको सबै कुरा सुनेको छु । आज कलेज सञ्चालकहरुको कुरा सुनियो । यद्धपी मलाई के लाग्छ यो समस्याको समाधान निकै छिटै हुनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

2 thoughts on “‘मेडिकल कलेजले लिएको बढी शुल्कको विषयमा दोष एउटाको मात्रै रहेनछ’

  1. Pahile lute ani aru sulka shirsahak banaudai xan daka haru. Yadi aru sulkaka shirsakharu hun vane kin cheque bata pani bhuktani nalie cash garna lagaye daka harule. Yadi shikkshya mantrile nakhaeko vaye double tirnu parxa medical harule.

  2. Pahile lute ani aru sulka shirsahak banaudai xan daka haru. Yadi aru sulkaka shirsakharu hun vane kin cheque bata pani bhuktani nalie cash garna lagaye daka harule. Yadi shikkshya mantrile nakhaeko vaye double tirnu parxa medical harule.

    मेडिकल कलेजहरुले प्रतिपविद्यार्थी २ लाखदेखि २५ लाख ४१ हजार रुपैयाँसम्म अतिरिक्त शुल्क उठाउने गरेको

Leave a Reply to santu.sharma2014@gmail.com Cancel reply

Your email address will not be published. Required fields are marked *