सडक दुर्घटनाः एक गम्भीर चुनौती

  • बसुन्धरा शर्मा


हिजो आज मन नलाग्ने तर सुन्नै पर्ने दैनिक रुपमा घटिरहने घटना हो सडक दुर्घटना । सडक दुर्घटनाबाट हुने घाइते, अपाङ्गता र मृत्यु एक्काइसौं शताब्दीको प्रमुख जनस्वास्थ्य चुनौतीको रुपमा रहेको छ । बर्षेनी लाखौ घाइते, अपाङ्ग तथा मृत्युका कारणले परिवार, समाज र समग्र राज्यलाई नै ठूलो भार परिरहेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्याँक अनुसार विश्वका धेरै देशहरुको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३ प्रतिशत सडक दुर्घटनामा खर्च भइरहेको छ । यसै गरी बर्षेनी २ करोड देखि ५ करोड मानिसहरु घाइते वा अपाङ्ग हुने गरेको तथा बार्षिक करिब १५ लाख अर्थात प्रत्येक दिन ३,६०० मानिसहरुको मृत्यु सडक दुर्घटनाका कारणले हुने गरेको देखिएको छ । विश्वमा मानिसरुको मृत्यु गराउने प्रमुख १० कारणहरु मध्ये यो एक प्रमुख कारण रहेकोे पाइन्छ ।

सडक दुर्घटनाका कारणले हुने मृत्यु धनी देशको तुलनमा गरिब तथा अल्पविकसित देशहरु मा २.६ गुणा बढि रहको छ, जुन समग्र मृतक संख्या मध्ये नब्बे प्रतिशत भन्दा बढी गरिब तथा अल्पविकसित देशहरुमा हुने देखिन्छ । विश्वमा मुख्य ५ देखि २९ बर्ष उमेर समुहका मानिसहरुको मृत्युको प्रमुख कारण सडक दुर्घटना नै रहेको छ । पैदल यात्री, साइकल यात्री, मोटर साइकल यात्रीहरु÷स्कुटर यात्रीहरु सबै भन्दा बढी जोखिममा रहेको तथ्याँकले देखाएको छ ।

यसैगरी नेपालमा पनि दिन प्रति दिन विभिन्न प्रकारका सवारी साधनहरुको प्रयोग बढ्दै जाँदा सडक दुर्घटना पनि बढ्दै गइरहेको छ । सडक दुर्घटनाले एक प्रमुख महामारीको रुप लिएको तथ्याँकबाट पुष्ठि भएको छ ।

सन् २००१ देखि सन् २०१३ सम्म गरिएका विभिन्न अध्ययन अनुसार करिब १ लाख सवारी साधनहरु दुर्घटनामा परेका, जसका कारण १ लाख भन्दा बढि मानिसहरु घाइते भएको तथा १५ हजार भन्दा बढि मानिसहरुको मृत्यु भएको देखिन्छ । कान्तिपुर दैनिकको समाचार अनुसार यसै वर्षको दशैंको घटस्थापना देखि कोजाग्रत पुर्णिमा सम्म विभिन्न ठाँउमा भएका सबारी दुर्घटनाबाट मात्रै १११ जना मानिसहरुको मृत्यु भएको देखाएको छ ।

सडक दुर्घटनाका संभावित कारणहरु

  • तिव्र शहरीकरण
  • साँगुरा बाटाघाटा तथा बाटोको गुणस्तर कमजोर हुनु
  • सुरक्षाको मापदण्ड पालना नगर्नु
  • सवारी नियमको पालना नगर्ने
  • तिव्र गति
  • ह्ेल्मेट वा सीट बेल्टको प्रयोग नगर्ने
  • सवारी चालकको थकान
  • मादक पदार्थ तथा अन्य लागू पदार्थको सेवन गरी सवारी चलाउने
  •  प्ुाराना तथा खराव अवस्थाका सवारी साधनहरु
  • लामो दूरीका ठूला सवारी साधनमा २ जना चालक राख्ने व्यवस्था भएता पनि कडाइका साथ लागू गर्न नसक्नु

रोकथामका तथा व्यवस्थापनका केहि उपायहरु

  • सवारी चालक तथा यात्रुहरुलाई चेतना मूलक कार्यक्रमहरु निरन्तर रुपमा प्रभावकारी किसिमले संचालन गर्ने
  • बाटाघाटाहरु मर्मत तथा चौडा गर्नु पर्ने
  • सिट बेल्ट र हेल्मेट अनिवार्य प्रयोग गर्नु पर्ने
  • बच्चाको लागि बिशेष प्रकारको सिट बेल्ट अनिवार्य प्रयोग गर्नु पर्ने
  • ठाँउ ठाँउमा सि.सि. क्यामेराहरु राख्नु पर्ने
  • सवारी साधनको अवस्था जाँच गरेर मात्र चलाउनु पर्ने
  • सबै ठाउँमा सडक बत्तिको व्यवस्था गर्नु पर्ने
  • सडक दुर्घटना भैहाले पनि तुरुन्तै संचार तथा प्राथमिक उपचारको व्यवस्था हुनु पर्ने
  • सवारी नियम उलङघन गर्ने चालक, यात्री तथा पैदल यात्रीलाई सजाय दिने
  • अधिकार सम्पन्न निकायको व्यवस्था हुनु पर्ने
  • लामो दूरीमा समय कार्डको प्रयोग गर्नु पर्ने
  • सवारी साधन विच हने अस्वस्थ्य प्रतिस्पर्धा हटाउनु पर्ने
  • घाइतेहरुको विवरण राख्नको लागि सर्भिलेन्स प्रणालीको विकास गरी प्रयोग गर्नु पर्ने
  • सवारी साधन चलाइरहँदा ध्यान भंग गर्ने साधनहरु जस्तै मोबाइल फोनको प्रयोग गरेमा कडा कारवाही हुनु पर्ने
  • साइकल यात्रीको लागि छुट्टै साइकल लेन बनाउनु पर्ने

संयुक्त राष्ट्र संघले सन २०११ देखि २०२० सम्मलाई “सडक सुरक्षाको लागि कार्य” दशकको रुपमा घोषण गरेको छ । जसबाट सडक दर्घटनाका कारणले मृत्यु हुने ५० लाख मानिसहरु बचाउन सकिने अनुमान गरिएको छ । यसैगरी दिगो विकास लक्ष्य (सन २०३०) मा पनि सन २०२० सम्ममा सडक दुर्घटनाबाट हुने मृत्यु तथा घाइतेको संख्या आधा घटाउने लक्ष्य रहेको छ ।

नेपाल सरकारले पनि यो लक्ष्य पुरा गर्न अन्तराष्ट्रिय स्तरमा प्रतिबद्धता जाहेर गरेको छ । साथै विभिन्न नीति, रणनीति, नियमहरु जस्तै सार्वजनिक यातायात आचार संहिता २०१०, सडक सुरक्षा कार्य योजना २०१३ -२०२०, स्वास्थ्य नीति २०१९ लगायत अन्य नीतिहरु कार्यान्वयन भइरहेका छन् ।

अन्त्यमा, यति ठूलो मानवीय तथा आर्थिक श्रोतको क्षति भइरहँदा पनि सम्बन्धित सरोकारवाला निकायहरुद्धारा न्यूनिकरण तथा रोकथामका लागि प्रभावकारी उपायहरु अबलम्बन गर्न सकिरहेको अवस्था देखिदैन । त्यसैले गुणस्तरीय व्यव्स्थापन गर्न यथा सक्य छिटो अधिकार प्राप्त उच्च स्तरीय संयन्त्रको विकास गर्नु आवश्यक रहेको देखिन्छ । साथै सडक सुरक्षा बहुआयमिक विषय भएकोले सुधारका लागि वहुक्षेत्रीय समन्वय र सहकार्यबाट मात्र सम्भव हुने हुनाले व्यक्ति, परिवार, समुदाय तथा राज्यका तीनै तहका निकायहरु सदैव प्रयासरत रहनु पर्दछ । जसरी मादक पदार्थ सेवन (मा.प.से) जाँच कार्यक्रम प्रभावकारी देखियो, यसैगरी अन्य उपायहरु पनि अनुसन्धान गरी कार्यान्वयन गरिनु पर्दछ ताकि हामी ढुक्कसँग आफ्नो गन्तव्यमा पुग्न सक्छौं ।

# शर्मा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरमा बरिष्ठ जनस्वास्थ्य अधिकृतको रुपमा कार्यरत छिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *