जिल्ला अस्पताल डोटीमा डिजिटल एक्सरे मेसिनबाट सेवा शुरु

डोटी, १ मङ्सिर । जिल्ला अस्पताल डोटीमा आधुनिक डिजिटल एक्सरे मेसिनबाट सेवा दिन थालिएको छ । सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लाहरुमा सादा खालको एक्सरे मेसिनबाट सेवा प्रवाह भइरहेका बेला यहाँको जिल्ला अस्पतालमा भने पहिलोपटक आधुनिक डिजिटल एक्सरे मेसिनबाट बिरामीलाई सेवा दिन शुरु गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले लाखौँ मूल्य पर्ने उक्त डिजिटल एक्सरे मेसिन डोटी अस्पतालमा पठाएपछि अहिले सेवा दिन शुरु गरिएको हो । आधुनिक डिजिटल एक्सरे मेसिनबाट सेवा दिन थालिएपछि बिरामीको रोगका बारेमा सहजै पत्ता लगाउन सकिएको जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा भुषण मिश्रले बताए । अस्पतालमा आधुनिक डिजिटल एक्सरे मेसिनले सेवा दिन थालेपछि बिरामीको चाप पनि बढ्न थालेको छ ।

अस्पतालमा डिजिटल एक्सरे मेसिन आएपछि अहिले स्थानीयवासी निकै खुशी भएको त्रिवेणी एफएमका स्टेशन मेनेजर कर्ण चन्दले बताए ।

जिल्ला अस्पताल डोटीमा एकपछि अर्को सेवा थपिदै आए पनि अस्पतालमा सरकारी दरबन्दीअनुसारका चिकित्सक नहुँदा भने बिरामीलाई समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ । चार जना मात्र सरकारी चिकित्सकको दरबन्दी रहेको सो अस्पतालमा पछिल्लो समय गैरसरकारी संस्थाले खटाएका चिकित्सकका भरमा काम सञ्चालन हुँदै आएको छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा अझै पनि एउटा राम्रो रेफरल अस्पताल नभएकाले सरकारले तत्कालै ध्यान दिई अस्पतालको स्तरोन्नति गर्नुपर्ने जिल्ला अस्पताल डोटीमा कार्यरत डा गिरीश अवस्थीले बताए । उनले भने, “संरचना तयार भइसकेको अस्पताललाई स्वीकृति प्रदान गर्न हिच्किचाउनु हँुदैन, स्वीकृति दिँदा राम्रो हुनेछ ।” उनका अनुसार जिल्लामा राम्रो अस्पताल नभएकै कारण ९० प्रतिशत हाडजोर्नीका बिरामी भारत र नेपालगञ्ज सिफारिश गर्नुपर्ने अवस्था छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *