नेपालमा नसर्ने रोगबाट ६६ प्रतिशत मानिसको मृत्यु
काठमाडौँ, २६ कात्तिक । नेपालमा ६६ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको छ । विश्वमा भने ७१ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको बताइएको छ ।
प्रदेश नं ३ सामाजिक विकास मन्त्रालय अन्तरगर्तको प्रदेश स्वास्थ्य निर्देशनालयद्धारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो ।
खासगरी शारीरिक व्यायममा कमी, आरामदायी निद्रा अभाव, नकारात्मक सोच, सन्तुलित खानाको अभाव, धुम्रपान र मध्यपानको बढ्दो प्रयोगका कारण नसर्ने रोग समेत बढ्दो क्रममा रहेको प्रदेश नं ३ अन्तरगर्तको प्रदेश स्वास्य तालिम केन्द्रका निर्देशक बद्रीबहादुर खड्काले बताए ।
उनले नेपालमा ८५ प्रतिशत मानिस नसर्ने रोगको समस्या लिएर अस्पताल आउने गरेका जानकारी दिए । मुटुरोग, रक्तचाप, मधुमेह, दम, अर्बुद आदि नसर्ने रोग हुन् । नेपालको मुख्य समस्या बनेको ८५ प्रतिशत नसर्ने रोगमा १८ प्रतिशत मानिसमा मानसिक रोगका बिरामी भेटिएका निर्देशनालयले जनाएको छ ।
यसैगरी पुरुषको तुलनामा बढी महिलामा चिन्ता र निराशा रहने, नेपालको प्रदेश नं ५ को पाल्पामा बढी मानिस कालाज्वरको समस्याबाट पीडित भएका, नेपालमा १२ हजार ३७५ ले विपद्मा ज्यान गुमाएका, सो प्रदेशमा ५० प्रतिशत गर्भवतीले मात्र भिटामिन ‘ए’ खाएको र १३ प्रतिशतले रक्सीबाहेकका लागुपदार्थ सेवन गर्ने गरेका बताइएको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

