दुई दिन पछि स्वास्थ्यकर्मी संघको अधिवेशन : होला कि नहोला ?

काठमाडौँ, २० कात्तिक ।  दुई दिन पछि शुरु हुने भनिएको सातौँ अधिवेशनलाई लिएर नेपाल स्वास्थ्यकर्मी संघमा विवाद चुलिएको छ । पदाधिकारीबीच आगामी २२ र २३ कात्तिकका लागि तोकिएको महाधिवेशन सार्नुपर्छ भन्ने पक्षबीच र सार्नु हुँदैन भन्ने पक्षबीच विवाद चुलिएको हो ।

संघका अध्यक्ष रामजी घिमिरे अधिवेशन जसरी भए पनि तोकिएकै समयमा गर्नुपर्छ भन्ने पक्षमा छन् तर सहअध्यक्षद्धय ओमप्रसाद उपाध्याय र कृष्णप्रसाद नागिला, महासचिव दीपक मुडभरी, सल्लाहकार धनप्रसाद पौडेल केही समय पछि सार्ने पक्षमा देखिन्छन् ।

उनीहरु अध्यक्ष घिमिरेमाथि विधानविपरित कार्य गर्दै अवैध ढंगले संघको अधिवेशन आफ्नो पक्षमा पार्न उद्धत रहेको आरोप लगाएका छन् । उनीहरुले अध्यक्ष घिमिरेले एकलौटी ढंगले अघि बढेको भन्दै अधिवेशन रोक्नका लागि ट्रेड युनियन कांग्रेस समक्ष उजुरी गरेका छन् ।

त्यसो त गत ४ साउनमा बसेको पदाधिकारी तथा कार्यसमितिको बैठकले संघको सातौँ अधिवेशन २२ र २३ कात्तिकमा गर्ने निर्णय गरेको थियो । त्यसका लागि त्यतिवेलै सह अध्यक्ष कृष्णप्रसाद नागिलाको संयोजकत्वमा १० सदस्यीय अधिवेशन तयारी समिति गठन गरेको थियो । तर अध्यक्ष घिमिरेले सहयोग नगरेको भन्दै समिति संयोजक नागिलाले ३० असोजमा राजिनामा दिए ।  त्यसपछि विवाद सतहमा आएको हो ।

‘अधिवेशन त २०७४ सालमा हुनुपर्ने हो । यसै पनि २ बर्ष ढिलाई भैसक्यो । तर अधिवेशन अघि गर्नुपर्ने थुप्रै काम बाँकी थियो । ४ साउनमा बसेको बैठकले सह अध्यक्ष नागिलाको संयोजकत्वमा समिति गठन गरेर त्यसले बाँकी काम गर्ने भनिएको थियो । तर अध्यक्षले सहयोग गर्नुभएन । अन्तत समिति संयोजक सहित सदस्यहरुले राजिनामा दिए,’ महासचिव दीपक मुडभरीले भने ।

उनले अहिले पनि स्वास्थ्यकर्मी संघको ५० जिल्लामा मात्रै अधिवशेन भएको । ७ मध्ये ४ प्रदेशमा मात्रै अधिवेशन भएको । संघको १६ वटा क्षेत्रगत समिति मध्ये ती कुनैको पनि अधिवेशन नभएको बताए ।

‘प्रतिनिधि लिष्ट माग्यो पाइदैन, कुन स्थानमा अधिवेशन गर्ने भनेर सोध्यो जवाफ आउँदैन, प्रमुख अतिथि कसलाई बनाउने भन्यो निधो हुँदैन । अधिवेशनका लागि खर्चको व्यवस्थापन गरौँ भन्यो सुनिदैन । अनि एकलौटी ढंगबाट अधिवेशन गर्न खोजेर मिल्छ ? संस्था त सबै स्वास्थ्यकर्मीको होला नि ?,’ प्रतिप्रश्न गर्दै मुडभरीले भने ।

अध्यक्ष घिमिरेले भने आफू बैठकमा रहेको भन्दै पछि कुरा गर्ने भनेर पन्छिए ।

दुईवटा उस्तै संस्था अध्यक्ष पनि उही !
उता अधिवेशनको विवाद चर्किदै जाँदा अध्यक्ष घिमिरेमाथि एउटै नाममा दुईवटा फरक फरक संस्था खोलेर अध्यक्ष बनेको आरोप लागेको छ । नेपाल स्वास्थ्यकर्मी संघको नाममा दर्ता भएका दुईवटा संस्थामा उनी आफै अध्यक्ष रहेको बताइएको छ ।

एउटा निजामति सेवा ऐन अनुसार दर्ता गरिएको छ जसको दर्ता नम्बर २७२ छ भने अर्को श्रम तथा रोजगार प्रर्वद्धन विभागमा दर्ता भएको छ जसको दर्ता नम्बर १४३ रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *