मुस्ताङको कोवाङमा स्वास्थ्यचौकीको भवन निर्माण

22
Shares


मुस्ताङ, १९ कात्तिक । मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा स्वास्थ्यचौकी भवन निर्माण भएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीले दुई तले १४ कोठे पक्की भवन निर्माण गरेको हो । दुई वर्षअघि तत्कालीन शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङले भवन निर्माणका लागि महादेवी–नाना जेभीसँग ठेक्का सम्झौता गरेको थियो ।

सङ्घीयता कार्यान्वयनसँगै डिभिजन खारेज भएपछि पोखराको कार्यालयमा यो आयोजना हस्तान्तरण भएको थियो । रु एक करोड ४३ लाखको लागत अनुमान गरिएको भवन बनाउन रु एक करोड १० लाखमा ठेक्का सम्झौता भएको थियो । भवनको भूइँतलामा बिरामी उपचार, औषधि भण्डारण, प्रसूति, स्वास्थ्य परीक्षण, प्रशासनिक, सहायता कक्षका लागि आठ कोठा छन् ।

माथिल्लो तलामा दुई परिवार स्वास्थ्यकर्मीको आवासका लागि छ वटा कोठा छन् । सुविधासम्पन्न भवन निर्माण भएपछि सेवा प्रवाह सहज भएको छ । यसअघि चौकीको भवन पुरानो र जीर्ण बनेकाले नयाँ बनाइएको हो । भवन बनाउन स्थानीयवासीले पाँच रोपनी जग्गा व्यवस्था गरेका थिए ।

नवनिर्मीत भवन सोमबार स्वास्थ्यचौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको महादेव निर्माण सेवाका सञ्चालक कृष्णकुमार शेरचनले बताउनुभयो । सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीका इञ्जिनीयर सुशील आचार्यले स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष नरप्रसाद हिराचनलाई भवन हस्तान्तरण गरेका थिए ।

भवन हस्तान्तरण कार्यक्रममा सांसद प्रेमप्रसाद तुलाचनले मुस्ताङको समृद्धि र विकासका लागि आफूले निरन्तर पहल गरेको बताए । पछिल्लो समय मुस्ताङमा सडक सञ्जालसँगै पर्यटक आवागमन बढेको उल्लेख गर्दै सांसद तुलाचनले पर्यटन विकासका लागि पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उल्लेख गरे । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *