राप्तीपारि १५ श्ययाको अस्पताल बन्दै

104
Shares


राँझा, १५ कात्तिक । बाँकेको राप्तीपारि पर्ने नरैनापुर गाउँपालिकाको लक्ष्मणपुरमा १५ श्ययाको अस्पताल बन्ने भएको छ । लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पताल रुपान्तरण गर्ने योजना स्वीकृत भइसकेकाले अब थप भौतिक पूर्वाधार निर्माणका साथै दक्ष र पर्याप्त जनशक्ति व्यवस्थापनमा प्रदेश तथा केन्द्रीय सरकारलाई अनुरोध गरिएको गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिए ।

उनले १५ श्ययाको अस्पताल बनेपछि नरैनापुरवासी उपचारका लागि नेपालगञ्ज र भारतीय शहरमा पुग्नुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो । हाल लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना एमबीबीएस चिकित्सकसहित १३ जनाको दरबन्दी रहेको छ ।

अध्यक्ष शाहले नरैनापुरको विकासका लागि आफू लागिपरेको बताउँदै पिछडिएको क्षेत्रको विकासका लागि सङ्घीय सरकारले कम बजेट दिएको गुनासो गर्दै यथेष्ट बजेट उपलब्ध गराउन आग्रह गरिएको बताए ।

जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले नरैनापुर गाउँपालिकामा अस्पताल निर्माण हुनु बघौडावासीका लागि खुशीको क्षण भएको बताउँदै यो कार्यलाई पूर्णता दिन आफूले प्रयत्न गरिरहेको बताए । प्राथमिक स्वास्थ्य केन्द्रलाई भौतिक पूर्वाधार अभाव हुन नदिन सुविधासम्पन्न भवन निर्माण सम्पन्न भएको छ । रु तीन करोड १९ लाखको लागतमा बनेको भवन स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको छ ।

भवन निर्माणका लागि विसं २०६८ भदौ २० गते १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि आठ वर्षपछि मात्र भवन निर्माण सम्पन्न भएको सङ्घीय शहरी विकास आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका प्रमुख सुवास बस्नेतले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *