मुखको क्यान्सरको प्रमुख कारक र यसको उपचार

डा. प्रकाश बुढाथोकी

विश्वमा प्रमुख दशवटा क्यान्सरको नाम लिनुपर्दा मुखको क्यान्सर पर्दछ । हाम्रो छिमेकी राष्ट्र भारतमा एक तिहाई क्यान्सर मुखको क्यान्सर पाइएको छ । बेलायतमा हरेक वर्ष तीन हजार ५ सय पीडित हुन्छन् भने ५० प्रतिशत मर्दछन् । विकसित देशमा मुखको क्यान्सर घट्दो क्रममा छ भने हाम्रो जस्तो मुलुकमा बढ्दो क्रममा छ ।

नेपालमा विश्व स्वास्थ्य संगठनले गरेको सर्वेक्षणमा पुरुषमा पहिलो र महिलामा तेस्रो पाठेघर र स्तन क्यान्सर पछि मुखको क्यान्सर पहिलो छ ।

ग्लोबोकोआन ईन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले दक्षिण पूर्वी एसियाका मुलुकमा मुखको क्यान्सर बढि भएको देश श्रीलङ्का र वंगलादेश पछि नेपाल हो भनेको छ ।

मुखको क्यान्सर भनेको मुखका अगं, तन्तुहरुको कोषको अस्वाभाविक अनियन्त्रित र असामान्य किसिमको बृद्धि नै हो । हटाउदा पनि कुनै कोषको आकार प्रकारमा बृद्धि भइरह्यो र घाउ खटिराहरु २/३ हप्तासम्म पनि निको नभएमा मुखको क्यान्सर हो की भनी शंकाको घेरामा राखेर तुरुन्त विशेषज्ञ सेवा लिनुपर्दछ ।

मुखको क्यान्सर हुनुको प्रमुख कारण सूर्तिजन्य पदार्थको सेवन भन्ने कुरा त मैले यसअघिको लेखमा बताइसकेको छु । त्यसपछिको अन्य कारणमा यी कुराहरु पर्दछन् ।

मद्यपान (अल्कोहल) :
आधुनिक समाज तथा मनिसमा रक्सीको सेवन चर्को देखिन्छ । अल्कोहल, वियर,रम, जीन, ह्व्स्किी, टुकुचे, झ्वाइखट्टे, तिनपाने, लोकल, ब्राण्डी, भोड्का जस्ता र वाइन जुनसुकै प्रकारको र मात्राको सेवन गर्दा पनि मुखको क्यान्सर हुनसक्दछ ।

मद्यपानले मुखको म्युकोसालाई सुख्खा बनाइदिन्छ । म्युकोसाभित्र क्यान्सर बनाउन सक्ने तत्व छिर्नसक्ने बनाइदिन्छ । त्यसैगरी रक्सीले क्यान्सर बनाउनसक्ने तत्वको क्षमता र असरमा बृद्धि गरीदिन्छ ।

पोषणको कमी तथा सुर्तीलाई घुलनशील बनाइदिन्छ । यस्को साथै कलेजोलाई कमजोर बनाइदिने, नोक्सान गर्ने गरी प्रतिरोधात्मक शक्ति कमजोर बनाउने काम पनि मद्यपानले गर्दछ ।

मुख, घाँटी र कलेजोको क्यान्सर अत्यधिक र कडा रक्सीले बनाउँदछ । मद्यपान गर्दा, सुर्तीजन्य पदार्थ धुम्रपानको पनि सेवन हुने गरेको प्रशस्तै भेटिन्छ । अनुसन्धानले के देखाएको छ भने सुर्ती र रक्सीसँगै र साथै सेवन गर्दा मुखको क्यान्सर हुने सभावना १५ गुनाले बढ्ने गर्दछ ।

 संक्रमण :
पहिले तेस्रो स्टेजको भिरिंगीमा जिव्रोको सृजनबाट जिब्रोको क्यान्सर देखियता पनि अहिले नदेखिने भएकोले, यस्को उपचारमा प्रयोग गरीने आर्सेनिक भएको औषधिले भएको होला भन्ने गरिएको छ । इप्सटन वार, साइटोमेगालो इनकलुजन, हप्स सिम्प्लेक्स, एच.आइ.भी., भेरीसेलाजुस्टर भाइरस, ह्युमन प्यापीलोमा र क्यान्डीडाको सक्रमणले पनि मुखको क्यान्सर निम्त्याउँछ ।

पोषणको कमी :
फलाम, जस्ता, तामा र म्यागनीज खनिज पदार्थको कमीले तन्तुलाई एन्टी अक्सीडेन्ट तत्वको कमि र टयुमर इन्हान्सीङ फ्री रेडिकलको उत्पादनमा बृद्धि गरि र भिटामिन ए, ई र सी को कमीले एमाइनबाट नाईट्रस एमाईनमा बदल्ने क्रम बढाई मुखको क्यान्सर बनाउँछ ।

सुपारी :
हिन्दु धर्म तथा वौद्ध धर्म अनुसार धार्मिक महत्व राख्ने सुपारीको सेवनले मुख खोल्न नसक्ने र मुखमा घाउ खटीरा आउने अवस्था ओरल सवम्युकस फाइव्रोसीस हुने गर्दछ । त्यती हुँदा पनि सुपारी सेवन नरोके एरेक्वाईडीन र एरेकोलिन अल्कल्वाईड ले डि. एन. ए. लाई वदलिई मुखको क्यान्सर बनाउने गर्दछ ।

चोटपटक, दीर्घकालीन घर्षण :
तिखिला दाँत, नमिलेका दाँत, नमिलेका नक्कली दाँत, भाँचिएका दाँत, फोहोर मुख, कम तेल भएको खाना, ज्यादै मसलादार, तातो खाना, रातो खुर्सानी, धेरै नुन, लगातार लामो समयसम्म प्रयोग गर्दा घाउ भएर, रगडीयर, मुखको क्यान्सर बन्दछ ।

सूर्यको प्रकाश र एक्सरे :
अल्ट्राभाइलेट, आयोनाइजिगं विकीरण र एक्सरेले पनि मुखको क्यान्सर प्रायतः तल्लो ओठको क्यान्सर बनाउन सक्दछ । सूर्यको प्रकाशले छालाको र ओठको क्यान्सर बनाउछ । यो क्यान्सर घर बाहिर काम गर्ने,गोरो वर्णका पुरुषमा, अप्रसोधित लिप स्टिक, लिप लाईनर आदी प्रयोग गर्नेमा बढी देखिने गर्दछ ।

करिब दुई प्रतिशत भन्दा कम मुखका क्यान्सरहरु आनुवंशीक तथा वंशानुगत रुपमा परिवारमा पनि भएको देखिन्छ । मुखको क्यान्सर रक्त समूह ए भएकामा बढी र इ भएकोमा न्यून संभावना रहेको देखिन्छ ।

त्यसैगरी मुखको क्यान्सर ४५ वर्षभन्दा बढी उमेरकामा ९५ प्रतिशत देखिएकोले उमेरलाई पनि कारण मान्न सकिन्छ ।

मुख मैथुनले पनि हुन्छ मुख तथा घाँटीको क्यान्सर !

बढ्दो मुखमैथुनले गर्दा अमेरिकी युवाहरुमा मुखको क्यान्सर बढी रहेको छ । ओरल सेक्स प्रतिको आकर्षणले मुख तथा घाँटीको क्यान्सर बढीरहेकोमा स्वास्थ्यकर्मीहरु चिन्तित भएका छन ।

ओरल सेक्स गर्दा मुखमा क्यान्सर बनाउन सक्ने प्यापीलोमा भाईरस तीब्र गतिले सर्ने र बढ्ने दुबै हुन्छ । ५० वर्ष भन्दा कम उमेरकामा मुखको क्यान्सरको प्रमुख कारण प्यापिलोमा भाईरस नै देखिएको छ ।

ओहियो विश्वविद्यालयको खोजमा समेत समग्रमा सुर्ती सेवन भन्दा बढी मुखको मैथुन नै मुख क्यान्सरको कारक देखिएको छ । टन्सिल र जिब्रोको तल्लो भागको क्यान्सरमा ६० देखि ७० प्रतिशत कारकमा ह्युमन प्यापिलोमा भाईरस नै देखिएको छ ।

त्यस्तै बेलायतमा भएको अनुसन्धानमा बढी यौनसाथी वा ६ भन्दा बढी यौनसाथी हुनेमा एचपीभीले हुने घाँटी र टाउकाको क्यान्सर ४ गुणा बढी हुन्छ भन्ने देखिएको छ ।

धेरै यौनसाथीहरुसंग सम्बन्ध बनाएर मुख मैथुन गर्ने महिलाहरुमा मुख तथा घाँटीको क्यान्सर हुनसक्ने संभावना बढी भएको हालै स्विडेनमा गरिएको अनुसन्धानले पत्ता लगाएको छ ।

प्रजनन अगंको रोग जेनाईटल वार्टको लागि जिम्मेवार बिषाणु पेपिलोमा भाईरसका कारण नै आजकल मुख तथा घाँटीको क्यान्सरको प्रमुख कारक बन्दै गएको पाईएको बताईएको छ । धेरै ब्यक्तिसंग शारीरिक सम्बन्ध राख्नेहरुलाई जेनाईटल वार्ट हुने खतरा सवैभन्दा बढी हुन्छ । हाल मुख तथा घाँटी क्यान्सर भएकामा पनि मुख मैथुनको ईतिहास भएकाले मुख मैथुनबाटै क्यान्सर भएको पुष्टि गरेका हुन ।

पाश्चात्य मुलुकमा सन १९५० भन्दा सन २००९ मा मुखका क्यान्सरका बिरामी दुईगणा बढेकोले मद्यपानलाई कारक मान्दै आईएको थियो । तर सर्भाईकल क्यान्सर बनाउने प्रमख कारक एच.पी.भी.को सक्रमण पनि मुखमा देखिएको छ ।

बढ्दो आधुनिकता र बिलासी जीवनले तथा एच.आई.भी बाट बच्न भन्दै मुख मैथुन ओरल सेक्सको बढ्दो प्रयोगले हो कि भनी सोच्न बाध्य बनाएको छ । यस सम्बन्धमा अनुसन्धान बेलायत र अमेरिकामा भैरहेका छन् र सम्बन्ध सकारात्मक भएकोले गाईडलाईन ईन ओरल सेक्स एक्टिभीटी ल्याउने तयारीमा समेत जुटेका छन ।

लक्षण तथा चिन्हरुले मुखको क्यान्सर भएको शंका उत्पन्न गरेता पनि निदान भने उक्त घाउ खटिरा वा सुजनबाट लिएको मासु/श्रावद्वारा नै गर्ने गरिन्छ । जस्लाई हामी वायोप्सी भन्ने गर्दछौं ।

उपचार :
कुनैपनि क्यान्सरको उपचार कति सफल रहन्छ भन्ने कुरा क्यान्सरको अवस्था, स्थान, प्रकार तथा किसिमले साथै बिरामीको स्वास्थ्य अवस्था र उमेरले पनि निर्धारण गर्दछ । यदि शुरुकै अवस्थामा नै क्यान्सरको निदान हुन सक्यो र उपचार शुरु गरियो भने उमेर ढल्किसकेका र रोगको अवस्था जटिल तथा ढिलो भै सकेकोमा भन्दा सफल रहन्छ र क्यान्सर निको भै धनजनको क्षति न्युनिकरण गर्न सकिन्छ ।

रोकथाम :
हाल सम्म प्राप्त ज्ञान, शीप र प्रविधिले एक तिहाई क्यान्सर हुनु अगावै रोकथाम गर्न सकिने, अर्को एक तिहाई समय मै पत्ता लगाई उपचार गरि निको गर्न सकिने र बाँकि एक तिहाईलाई निको पार्न नसके पनि यस रोग बाट हुने पिडा कम गरि स्तरीय आयु लम्ब्याउन सकिन्छ ।

शुरुमा उपचार गरे क्यान्सर निको हुन्छ तैपनि मुखको क्यान्सरबाट पाइने दुःख, हुने विकृति र विभिन्न समस्या तथा लाग्ने उपचार खर्चलाई सजिलैसँग नियन्त्रण गर्न सकिने भएकोले रोगको उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम हुन्छ । मुखको क्यान्सरलाई नियन्त्रण गर्न सकिन्छ किन भने :
१. मुखको क्यान्सर बनाउन सक्ने कारणहरु लामो समयदेखि पहिचान भइसकेका छन् ।
२. मुखमा भएका परिवर्तन, घाउ खटिरा, दाग सजिलैसँग हेर्न, निदान गर्न सजिलो छ ।
३. प्रायजसो मुखका क्यान्सर, क्यान्सर हुनुभन्दा पहिलेको अवस्था प्रिक्यान्सेरस लिजन र कन्डीसन भएर मात्रै आउँने गर्दछन ।
तसर्थ मुखको क्यान्सरको रोकथाम भनेकै सुर्तीजन्य पदार्थको सेवन नगर्ने, मद्यपान, सुपारीजन्य पदार्थ नखाने दीर्घकालीन चोटपटक, घर्षणबाट मुक्त रहने, धेरै तातो नखाने, संक्रमणको उपचार गर्ने, अखाद्य पदार्थ,रसायनिक पदार्थको संसर्गमा नआउने, राम्रो संग मुखको सफाई गर्ने, कुल्ला गर्ने, सन्तुलित खाना, हरियो सागपात, फलफुल खाने, जस्ता कुरा हुने भएकोले यस्ले मानिसलाई स्वास्थ्य राख्नुका साथै सबै क्यान्सरबाट टाढा राख्न सहयोग पु¥याउँदछ ।

नराम्रा आदत वानी, रहनसहन त्यागेर र महिनाको एक पटक आफ्नो मुखको स्वयं ऐना अगाडी मुख परीक्षण तथा प्रत्येक ६/६ महिनामा दन्त चिकित्सक र एक एक वर्षमा चिकित्सकसँग मुख र स्वास्थ्य परीक्षण गराउने वानी बसाल्यौँ भने मुखको क्यान्सरको रोकथाम हुन्छ ।

अन्तमा,क्यान्सर निको हुन्छ शुरुमा उपचार गरेमा । त्यसैमा अझ क्यान्सर हुनुभन्दा पहिलेको अवस्था प्रिक्यान्सेरस लिजन र कन्डीसन भएकै अवस्थामा, आदतवानी रोक्न सकियो, कारण हटाउन सकियो र उपचार गरियो भने मुखको क्यान्सर हुनै पाउँदैन ।

# बरिष्ठ कन्सलटेन्ट डेण्टल सर्जन डा. बुढाथोकी मुख स्वास्थ्य समितिका केन्द्रिय संयोजक तथा स्वास्थ्य मन्त्रालयको उपचारात्मक सेवा महाशाखा अन्तरगर्त आँखा, नाक,कान, घाँटी तथा मुख स्वास्थ्यका प्रमुख हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *