हेटौँडा अस्पतालमा बिरामीको अत्यधिक चाप

अञ्जली थापा


चुरियामाई, १० असोज । हेटौँडा अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । डेङ्गु, स्क्रबटाइफस, भाइरलज्वरो जस्ता समस्याले हेटौंडा अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको हो । बिरामीको चाप अस्पतालमा अत्यधिक बढ्दा सेवा प्रभावमा समस्या भइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार तीन सय बिरामीको उपचार क्षमता रहेको सो अस्पतालमा ५०० देखी ७०० सम्म बिरामी उपचारका लागि आउने गरेका छन् । उपचारका लागि अस्पताल आउने बिरामीको चाप अत्यधिक बढ्दा उनीहरु श्यया कुरेर बस्न बाध्य भएका छन् ।

विगत दुई वर्षदेखि बीमा कार्यक्रम लागू भएकाले उपचार गर्नेहरूको सङ्ख्या ह्वातै बढ्नाका साथै वर्षायाम शुरू भएदेखि डेङ्गु र स्क्रबटाइफसका बिरामी पनि बढेकाले श्यया अभावको समस्या विकराल बन्दै गएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

एकातिर अस्पतालमा बिरामीलाई श्यया पाउन कठिन भएको छ भने अर्कोतिर कर्मचारीलाई श्यया व्यवस्थापन गराउन झन् कठिन बन्दै गएको छ । चिकित्सकले भर्ना गर्नुपर्छ भनेका बिरामीहरूमध्ये कतिपय श्यया नपाएर अन्यत्र गएका छन् भने कतिपय बिरामी श्ययाका लागि कुरेर श्यया बाहिर बस्ने गरेको पाइएको छ । दुई महीनायता डेङ्गु र भाइरल ज्वरोका कारण बिरामीको चाप बढेर भर्ना हुने वार्ड तथा आकस्मिक सेवाका श्ययासमेत अभाव हुँदै गएको छ ।

एउटा चिकित्सकले ४५ जनासम्म बिरामीको उपचार गर्ने भनिएकामा पछिल्लो समय एउटा चिकित्सकले कम्तीमा १०० देखि १५० सम्म बिरामी जाँच गर्नुपरेको अस्पताल विकास समितिले जनाएको छ । दैनिक ५०/६० बच्चाको स्वास्थ्य जाँच भइरहेको उक्त अस्पतालमा हाल १५० सम्म बच्चा बिरामी भएर आउने गरेको बालरोग विशेषज्ञ डा राजु सेढाईंले बताए । उनले भने, “डेङ्गु देखिए पनि सामान्यतया खान नसक्नेसम्मका बच्चालाई घर पठाएका छौँ, तर भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीलाई श्यया नपुगे पनि हामीले कुरुवा बस्ने श्यया, भुइँ कोरिडोर सबैतिर राखेर उपचार गरिरहेको छौँ ।” उनका अनुसार बच्चामा डेङ्गु, स्क्रबटाइफसलगायत समस्या देखिएका छन् ।

अस्पतालको टिकट काउन्टरको लाइन छेउमा बसेर एक वृद्धा ढाड दुख्यो भन्दै कराउँदै गर्दा उनीसँगै गएकी हेटौँडा–४ की सुजता मैनालीले भनिन्, “हिजो नि टिकट काट्न नभ्याएर फर्केको हामी आज पनि ताल त्यस्तै छ, छिमेकी आमालाई ल्याइदिएको घर पुग्दा त व्यथा थपिन्छ जस्तो छ ।”

हेटाँैडा–६ की ७३ वर्षीया रेवती चौलागाईं दम र सुगरको बिरामी भएर अस्पताल आएको बताइन् । छोराले स्वास्थ्य बीमा गरेकाले लगातार अस्पताल आएकी उनलाई वृद्धवृद्धा भएकै कारण लाइनमा बसेर उपचार गराउनुपर्ने बाध्यता थिएन । जचाएर जानु भनेर छोरा अफिस गयो तर कसैले अगाडि दिएनन बृद्धाले भनिन ।

त्यस्तै निमोनियाले थलिएर थरथर काप्दै भर्ना गर्ने वार्डसम्म पुगेकी बाटुली सञ्जेल धेरै समय वार्ड बाहिर कुरेर बसिरहेको बताइन् । मकवानपुरगढी–३ निवासी ६५ वर्षीया बाटुली सञ्जेललाई हेटौँडा अस्पतालमा भर्ना हुन सिफारिश त ग¥यो तर दुईदिनदेखि अस्पताल धाइरहेकी बाटुली अस्पतालमा बेड खाली नहुँदा कोही डिस्चार्ज भएर जालान र आफूले बेड पाउँला भन्ने आशामा वार्ड बाहिर कुरेको बताइन् । उनलाई उभिन नसक्ने हालतमा छोरीको हातको साहारा लिइरहनुपरेको थियो ।

वार्डमा बस्ने एक परिचारिकाले हकार्दै यहाँ नआउनु यता बस्ने ठाउँ छैन भन्दै गर्दा अस्पतालको अवस्था अनुमान लगाउन सकिन्थ्यो । परिचारिकाले बिरामीलाई भन्दै थिए, “तपार्इंहरू फर्कनुस् खाली भएपछि भोलिपर्सी आउनुस् ।”

वार्डका नर्सहरू भने बेड खाली छैन भन्दै जान आग्रह गर्दै थिए । रनिङमा रहेका एक चिकित्सकले एक बिरामीलाई डिस्चार्ज गरेपछि श्यया खाली भयो भई बाटुलीले भर्ना हुन पाउँदा उनको परिवारमा समेत खुशी छल्किएको थियो । वार्डकी नर्स सुरक्षा पौडेलले पर्याप्त श्यया नहँुदा बिरामी व्यवस्थापन गर्न अत्यधिक गाह्रो भएको बताउनुभयो । भर्ना हुन आउने बिरामीलाई पनि फर्काउनुपर्दा नमज्जा लाग्ने गरेको समेत उनको भनाइ छ । बिरामी कुरूवा श्ययासमेत प्रयोग गरेर बिरामीको उपचार गराउनुपरेको छ उनले बताइन् ।

अस्पतालको आकस्मिक कक्षमा रहेको आठ श्ययामा २० भन्दा बढी बिरामी राख्नुपरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्षप्रकाश पौडेलले बताए । उनले भने, “करीब ३०० बिरामीको मात्र उपचार गराउन सक्ने क्षमता रहेको छ, तर बिरामीको चापलाई हेरेर काम गर्नुपरेको छ, उपचार नगरी पनि भएको छैन् तर बिरामी राख्ने ठाउँ पनि छैन, विकल्पमा हामीले आकस्मिक कक्षको एउटै श्ययामा दुई÷तीन जना र भर्ना वार्डमा कुरुवा बस्ने स्थानसम्म बिरामी राखेका हौँ ।” अस्पतालले नयाँ निर्माणाधीन भवन तयार नभएसम्म अझै १० महीनासम्म अस्पतालको हालको समस्यालाई व्यवस्थापन गर्न कठिनाइ हुने अध्यक्ष पौडेलको भनाइ छ । हाल अस्पतालमा व्यवस्थापन समितिअन्तर्गत ३५ र कर्मचारीअन्तर्गत ३४ गरेर अस्पतालमा ७४ कर्मचारी छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *