के आयुर्वेदमा डेंगूको उपचार सम्भव छ ?

- नेपाली हेल्थ

 

यतिबेला डेंगू रोग एसिया र अफ्रिकामा निकै फैलिरहेको छ । नेपालमा पनि यसले विकराल रुप लिई सकेको छ ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुसार काठमाण्डौमा मात्र करिब ६० जनामा डेंगू देखिएको बताएको थियो । त्यस्तै पोखरामा १० ट्राफिक प्रहरीसहित ४३९ जना संक्रमित भएको खबर आएको छ ।

पछिल्लो पटक  स्वास्थ्यमन्त्रीको डेंगू नियन्त्रण बाहिर गएको र नियन्त्रणका लागि सेना परिचालन गर्न पर्ने स्थिति आएको भन्ने आशययुक्त अभिव्यक्तिले पनि यसको गम्भीरतालाई  दर्शाउँछ ।

यस्तो अवस्थामा हाम्रो मौलिक चिकित्सा मानिने आयुर्वेदले के कस्तो टेवा पुर्याउन सक्छ त भन्ने बारे छलफल गर्नुपर्ने आवश्यकता आएको छ ।

लक्षणको आधारमा डेंगूलाई आयुर्वेदमा उल्लेख गरिएको “दण्डक ज्वार” सँग तुलना गर्न सकिन्छ ।

विगत केही दशकमा डेंगू रोगको व्यवस्थापनका लागि कतिपय आयुर्वेदिक जडिबुटीहरुको प्रयोग गरि अनुसन्धानहरु भएका छन् । यस लेखमा शास्त्रीय सन्दर्भ भन्दापनि डेंगूकै परिप्रेक्षमा अनुसन्धान गरिएका जडिबुटीहरु बारे व्याख्या गर्ने कोशिश गरिएको छ ।

नीम :

सन् २००२ मा गरिएको एक अध्ययन अनुसार निमको काँचो पातलाई थिचेर निकालिएको स्वरसले डेंगू भाईरस माथि उल्लेखनीय रुपमा नियन्त्रण गरेको पाइएको छ।

त्यस्तै बच्चाहरुमा देखिने तौल घट्ने, हिडाईमा ढिलोपन, आमाको दूध चुस्न नसक्ने आदि जस्ता डेंगूका लक्षण ५ दिनमै कम भएर गएको पाइएको छ । यसर्थ, निमको पातलाई डेंगू विरुद्धको “एन्टीभाइरल” को रुपमा प्रयोग गर्न सकिन्छ ।

डालेचुक :

फाइटोमेडिसिन जोर्नलमा प्रकाशित यसको पातमाथि सन् २००८ मा गरिएको अध्ययन अनुसार यसले बजारमा उपलब्ध “Ribavirin” नामक “एन्टीभाइरल” को जस्तै काम गर्ने देखिएको छ ।

यसर्थ, डालेचुकको पातलाई पनि “एन्टीभाइरल” को रुपमा उपयोग गर्न सकिन्छ ।

पाठा (गुजर्गानो) :

पाठाको प्रयोगले डेंगूको चारै प्रकारको भाईरस माथि उल्लेखनीय नियन्त्रण गर्न सकिने निष्कर्ष सन् २०१५ मा मुसामा गरिएको अध्ययनले निकालेको छ । साथै यसले ज्वरोलाई पनि नियन्त्रण गरेको पाइएको छ ।

यसर्थ, पाठालाई डेंगू विरुद्धको “एन्टीभाइरल” तथा “एन्टीपाइरेटिक” को रुपमा प्रयोग गर्न सकिने देखिन्छ ।

मेवा :

अन्य जडिबुटीको तुलनामा डेंगू रोगको व्यवस्थापनका लागि मेवाको प्रयोग गरि सबैभन्दा बढी अनुसन्धानहरु गरिएका छन ।| सन् २०१३ मा केमोस्फियर जोर्नलमा प्रकाशित अध्ययन अनुसार डेंगू फैलाउने मुख्य कारक “Aedes aegypti” प्रजातिको लामखुट्टेका लागि मेवाको बिउ विष जस्तै सावित हुने देखिएको थियो ।

यस तथ्यलाई स्वास्थ्य मन्त्रालयले अहिलेको स्थितिमा डेंगू नियन्त्रण गर्नमा उपयोग गर्न पनि एउटा राम्रो मार्गनिर्देश हुन सक्छ ।

त्यस्तै सन् २०१२ मा “मेडिसिनल एण्ड एरोमेटिक प्लान्ट्स” जोर्नलमा प्रकाशित अध्ययनमा मेवाको पातलाई थिचेर निकालिएको रसको प्रयोगले २४ घण्टामै बिरामीको “प्लेटेलेट काउन्ट” मा उल्लेखनीय सुधार आएको देखिन्छ ।

सन् २०१६ मा भारतमा गरिएको अध्ययनमा के पाइयो भने मेवाको पातको प्रयोगले प्लेटेलेट का साथै सेतो रक्तकोषको संख्यामा पनि वृद्धि गराउँछ ।

यसर्थ, मेवालाई डेंगू रोगीको क्रिटिकल फेजमा देखिने समस्या न्यूनीकरणमा उपयोग गर्न सकिन्छ ।

सन् २०१५ मा मलेसियामा मेवाको विषाक्ततामाथि गरिएको अध्ययन अनुसार मेवाको पातको रसलाई “हाइ डोज” मा प्रयोग गर्दा समेत कुनै विषाक्त प्रभाव नदेखिने पाइएको छ ।

प्रयोग गर्ने तरिका :

“ब्रिटिश मेडिकल जोर्नल” मा सन् २०१५ मा प्रकाशित क्लिनिकल रिभिउमा मेवाको पातको रसलाई यस प्रकार प्रयोग गर्न निर्देश गरिएको छ :

१. बनाउने तरिका :
फलयुक्त मेवाको पात ५० ग्राम मा ५० मि.लि. उमालिएको चिसो पानि र २५ ग्रा. चिनी मिलाई १५ मिनेट पिस्ने र ३० मिनेट पछि हातले मिचेर रस निकाल्ने ।

२. मात्रा :
वयष्क : ३० मि.लि. दिनमा ३ पटक खानापछि
बच्चाका लागि : ५-१० मि.लि. दिनमा ३ पटक
अवधि : पूर्ण निको नहुँदा सम्म

राज्यको मौलिक उपचार पद्धति रहेको आयुर्वेदमा थुप्रै अद्भुत क्षमताहरु छन । आयुर्वेदमा वर्णित बोट बिरुवा, वनस्पति र ज्ञानको उपयोग गर्नसके डेंगूको नियन्त्रण पनि सहज हुने र रोगको उपचार शिघ्र र रोगीको ज्यान जानबाट जोगाउन सकिन्छ ।

# डा. चापागाईँ आयुर्वेद क्याम्पस शिक्षण अस्पताल कीर्तिपुरमा इन्टर्न डाक्टरको रुपमा कार्यरत छन् ।

थप समाचार

One thought on “के आयुर्वेदमा डेंगूको उपचार सम्भव छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *