कार्यालय सहयोगीका भरमा फार्मेसी सञ्चालन

डडेल्धुरा, ९ भदौ । डडेल्धुरा जिल्लाको भित्रीमधेश क्षेत्रमा पर्ने पर्शुराम नगरपालिकामा रहेको जोगबुडा अस्पतालमा कार्यालय सहयोगीलाई फार्मेसीमा औषधि बिक्री वितरण गर्न लगाइएको छ ।

अस्पतालले सञ्चालन गरेको उक्त फार्मेसीमा कार्यालय सहयोगीले औषधि बिक्री गरिरहेका छन् । दक्ष प्राविधिक कर्मचारीले मात्रै फार्मेसीबाट औषधि उपलब्ध गराउनुपर्ने व्यवस्था भए पनि यहाँका कर्मचारीको लापर्वाहीले फार्मेसीमा कार्यालय सहयोगीले औषधि दिइरहेका छन् ।

मानवको स्वास्थ्यप्रतिको संवेदनशीलतालाई नबुझी अस्पतालले कार्यालय सहयोगीको भरमा फार्मेसीबाट औषधि बिक्री वितरण गर्नु गैरजिम्मेवारी भएको स्थानीय रामदत्त जोशीले बताए ।

नेपाल सरकारले स्वास्थ्य संस्थाबाट निःशुल्क औषधि उपलब्ध गराउने भए पनि यहाँको अस्पतालमा भने सेवाग्राहीले निःशुल्क पाउने औषधिसमेत नपाएको गुनासो गरेका छन् । औषधि निःशुल्क पाइने आशले सेवाग्राही आउने गरेका र अस्पतालमा पुगेपछि निःशुल्क औषधि नपाएर अन्य फार्मेसीबाट किन्नुपर्ने भएपछि सेवाग्राही मर्कामा पर्ने गरेको जोशीले बताए ।

अस्पतालले निःशुल्क औषधि दिनुपर्नेमा अहिलेसम्म उपलब्ध नगराएको र अस्पतालकै फार्मेसीबाट किनेको औषधिको बिलसमेत नदिने गरेको सेवाग्राही बताउँछन् । अस्पतालको फार्मेसीबाट औषधि किन्ने कसैलाई पनि बिल नदिइने र फार्मेसीमा राखिएको रजिस्टरमा टिप्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । अस्पतालले आकस्मिक सेवाका लागि रु ५० को टिकट दिने गरेको भए पनि फार्मेसीले भने औषधि किनेको बिल नदिएको अर्का सेवाग्राही मोहन भाट बताउछन् ।

यसरी दैनिकरूपमा औषधिको बिल नदिई बिक्री गर्नुले फार्मेसीको आर्थिक अपारदर्शिता झल्किएकोसमेत सेवाग्राहीको आरोप छ । जोगबुडा अस्पतालमा पर्शुराम नगरपालिका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिकाको रुपाल क्षेत्रलगायतका सेवाग्राही आउने गर्दछन् । नेपाल सरकारले जोगबुडा अस्पताललाई १५ श्ययाको अनुमति दिएको भए पनि यसैअनुरुप सेवासुविधा प्रदान गर्न नसकेको आम सर्वसाधारणको गुनासो छ ।

अस्पतालमा कर्मचारी अभावसँगै आवश्यक उपकरणसमेत नहुँदा समस्या हुने गरेको अस्पताल प्रशासनले जनाएको छ । जोगबुडा अस्पतालका मेडिकल अधिकृत डा करुणा बज्राचार्यले फार्मेसीमा कार्यरत कर्मचारी बिदामा गएकाले कर्मचारी अभावका कारण कार्यालय सहयोगीलाई नै सहयोग गर्न भनेको बताए । समस्या समाधानका लागि स्थानीय सरकारसँग समन्वय गरी सुधारका लागि प्रयास भइरहेको अस्पतालका मेडिकल अधिकृत डा बज्राचार्यले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *