नवलपरासी : सर्पदंश उपचार सेवा शुरु


नवलपरासी , २१ साउन । नवलपरासी पूर्वनवलपुरको कावासोती–१६, डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा सर्पदंश उपचार सेवा शुरु गरिएको छ । सामुदायिक अस्पतालको रुपमा रहेको अस्पताललाई जिल्ला अस्पतालमा स्तरोन्नति गरिएसँगै यहाँबाट सर्पदंशको उपचार सेवा थप गरिएको हो ।

नवलपुरमा सर्पदंशका बिरामी धेरै हुने गरेकाले गण्डकी प्रदेश सरकारले सर्पदंश उपचार सेवा केन्द्र निर्माणका लागि बजेट विनियोज गरेको थियो । मध्यविन्दु जिल्ला अस्पताललाई प्रदेश सरकारबाट रु ४० लाख सर्पदंश उपचार केन्द्र निर्माण तथा सेवा शुरु गर्नका लागि बजेट विनियोजन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा गोपाल खनालले बताए।

हाल अस्पतालको आकस्मिक कक्षबाट सर्पदंशको उपचार सेवा शुरु गरेको अध्यक्ष डा खनालले बताए । उनका अनुसार प्रदेशबाट प्राप्त बजेटबाट सर्पदंश कक्ष स्थापनासहित उपचारका लागि जनशक्ति तयार गर्न तालीम प्रदानलगायतका कार्य गरिनेछ । हाल अस्पतालमा रहेको चिकित्सकलाई तालीम प्रदान गरी सर्पदंश उपचार सेवा शुरु गरिएको छ ।

सर्पदंशको उपचारका लागि आवश्यक पर्ने भेनम जनस्वास्थ्य कार्यालयबाट माग गरिएको अध्यक्ष डा खनालले बताए । अस्पतालमा ५० भायल एन्टि स्नेक भेनम माग गरिएको छ । तत्कालका लागि सर्पदंशको उपचार गर्दै आएको कालीगण्डकी सामुदायिक अस्पतालबाट भेनम ल्याएर उपचार शुरु गरिएको उनले बताए ।

गण्डकी प्रदेश सरकारले नवलपुरको मध्यविन्दु जिल्ला अस्पताल र पहाडी क्षेत्रको बौदिकाली गाउँपालिकाको डेढगाउँमा रहेको रकुवा प्राथमिक स्वास्थ्य केन्द्र डेढगाउँमा सर्पदंश उपचार केन्द्र स्थापनाका लागि बजेट विनियोजन गरिएको थियो । डेढगाउँमा पनि चाँडै उपचार शुरु गर्ने तयारी गरिएको छ ।

नवलपुरमा विषालु सर्पको टोकाइका कारण समयमा उपचार नपाएर वर्षेनी धेरैले ज्यान गुमाउँदै आएका छन् । जिल्ला अस्पतालमा सर्पदंशको उपचार सेवा शुरु भएसँगै सर्पदंशका बिरामीको उपचारका लागि सहजता हुने अस्पतालका अध्यक्ष डा खनालले बताए । पहाडी क्षेत्रमा हुने सर्पदंशको घटनामा समयमा उपचार पाउन नसक्दा धेरैले ज्यान गुमाउँदै आएका थिए ।

डेढगाउँमा स्थापना गरिने सर्पदंश उपचार सेवा केन्द्रले पहाडी क्षेत्रका सर्पदंशका बिरामीको उपचारका लागि धेरै सहजता हुने स्थानीय वीरबहादुर बिसीले बताए । मध्यविन्दु जिल्ला अस्पतालमा शव परीक्षण सेवासमेत शुरु गरिएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *