सर्पदंश उपचार प्रणालीमा सुधार गर्नु आजको आवश्यकता : राष्ट्रपति भण्डारी

काठमाडौँ, १७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्पदंशको समस्या र यसबाट हुने मृत्युुदर घटाउन विभिन्न रोकथामका कार्यक्रमहरू सञ्चालन, जनचेतना अभिवृद्धि र उपचार प्रणालीमा सुधार गर्नु आजको आवश्यकता भएको बताएकी छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिपार्टमेन्ट अफ इन्टरनल मेडिसिनद्वारा राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित सर्पदंशसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति भण्डारीले नेपालमा गर्मी एवं वर्षायामसँगै हुने विभिन्न समस्यामध्ये सर्पदंश पनि एक भएको र यहाँका ग्रामीण बस्ती र त्यसमा विशेषतः तराई क्षेत्रमा अझ गम्भीर रूपमा रहेको उल्लेख गरिन्।

यस समस्याको समयमै निराकरण गर्न दक्ष जनशक्तिलाई अद्यावधिक गर्दै स्वास्थ्य केन्द्रहरू विस्तार गर्नुका साथै आइपरेका चुनौतीहरूको सामना गर्न रणनीति पहिल्याउने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको कार्यक्रम नेपालमा आयोजना हुनु खुशीको विषय भएको पनि राष्ट्रपतिले उल्लेख गरिन् । उनले भनिन्, “विषालु सर्पसम्बन्धी ज्ञान, प्राथमिक उपचार विधि र अति आवश्यक सर्पदंश प्रतिरोधक औषधिको सीमितताले गर्दा कयौँ मानिसले सर्पको डसाइबाट अकालमा मृत्युुवरण गर्नुपर्ने दुःखदायी अवस्था रहेको छ । यसलाई अन्त्य गर्नु जरुरी छ ।”

राष्ट्रपति भण्डारीले नेपालका स्वास्थ्यकर्मीहरूबाट गुणस्तरीय स्वास्थ्य सेवाको सुलभताका निम्ति सराहनीय कार्यहरू भइरहेको चर्चा गर्दै सीमित पूर्वाधार र न्यून जनशक्ति हुँदाहुँदै पनि निकै मिहिनेतका साथ समुदायमा सेवा पु¥याइएको उल्लेख गरिन् ।

सर्पदंशका बारेमा नेपालमा धेरै अनुसन्धानहरू भएका र यसको उपचार, व्यवस्थापन र रोकथामका निम्ति नेपालका विज्ञहरूबाट पहल कदमी भएको उनले सो अवसरमा बताइन् । सर्पदंशका बिरामीलाई नेपाली सेनाले आफ्नै साधनस्रोतबाट उपचार गर्दै आउनु सराहनीय कार्य भएको राष्ट्रपति भण्डारीले उल्लेख गरिन् ।

राष्ट्रपति भण्डारीले सर्पदंश उपचार र यससम्बन्धी अनुसन्धानका क्षेत्रमा प्राध्यापक सञ्जीवकुमार शर्माले पु¥याएको भएको योगदानको सराहना गर्दै उनको उत्तरोत्तर प्रगतिको कामना पनि गरिन् ।

नेपालमा बर्सेनी ४० हजारभन्दा बढी मानिस सर्पको डसाइबाट पीडित भएको र त्यसमध्ये एक हजारभन्दा बढीको ज्यान जाने गरेको छ । दुईदिने सो सम्मेलनमा नेपालसहित दक्षिण एशियाली क्षेत्रीय सहयोग सार्कका सदस्य राष्ट्रहरु, बेलायत, अमेरिका, स्विटजरल्याण्ड, जर्मनीका सर्पदंश उपचारका क्षेत्रमा कार्यरत चिकित्सक तथा नीति निर्माताको सहभागिता रहेको छ ।

सो अवसरमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले तराई÷मधेशमा सर्पदंशको समस्या सम्बोधन गर्न सङ्घ, प्रदेश र स्थानीय निकायका सामूहिक प्रयत्नको खाँचो औँल्याए । उनले सर्पदंशका बारेमा जनचेतना, उपचार सेवाका प्रदेशले प्राथमिकता दिएको जानकारीसमेत दिए ।

सम्मेलन आयोजक समितिका संयोजक विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक सञ्जीव शर्माले सर्पदंश उपेक्षित जटिल जनस्वास्थ्य क्षेत्रका रुपमा रहेको चर्चा गर्दै यसका बारेमा नीति बनाउन आवश्यक रहेकामा जोड दिए। “विशेषगरी तराई/मधेश तथा पहाडी क्षेत्रका गर्मी ठाउँमा यो समस्या रहेको छ । गरीब तथा पिछडिएको समुदाय यो समस्यासित बढी जुध्नुपरेको छ”, उनले भने ।

सर्पदंशको समस्या नियन्त्रण गर्न पूर्वतयारीका कुनै कार्ययोजना रहेको छैन । विश्व स्वास्थ्य सङ्गठनको गत वर्षको भेलाले विषालु सर्पले हुने मृत्यु रोक्न र स्वास्थ्यको पहुँच पु¥याउन सर्पदंश समस्या भएका देशलाई कार्ययोजना ल्याउन आग्रहसमेत गरेको थियो । यसअनुरुप स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्ययोजनाको कुनै तयारीसमेत गरेको छैन । सम्मेलनले सर्पदंश समस्या भएका देशलाई सर्पदंश उपचार तथा रोकथामका लागि कार्ययोजना बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *