प्राडा भगवान कोइरालाले खोल्न लागेको बाल अस्पताललाई साढे ४१ रोपनी जग्गा दिने सरकारको निर्णय
काठमाडौँ, ९ साउन । बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाको अध्यक्षतामा दर्ता गरिएको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच)का लागि सरकारले साढे ४१ रोपनी जग्गा उपलव्ध गराउने भएको छ । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले किओचका लागि ४१ रोपनी १० आना ३ पैसा लिजमा उपलब्ध गराउने निर्णय गरेको हो ।
उक्त जग्गा साविक खड्का भद्रकाली गाविस वडा नंं ७ कित्ता नं। ७३ हाल बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ हेपाली हाइटमा कित्ता नं। २३ कोको उपलव्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताए ।
डा कोइराला नेतृत्वको टिमले काठमाडौँमा १०० सैय्या सहित सातवटै प्रदेशमा ५० सैय्या क्षमताको विशेषज्ञ सेवा सहितको विशिष्ठीकृत बाल अस्पताल खोल्ने तयारी गरेको छ । उक्त परियोजना काठमाडौँ भित्र आगामी दुई बर्ष र प्रदेशमा ३ बर्ष भित्रमा सम्पन्न हुने बताइएको छ ।
प्राडा कोइराला अध्यक्ष रहेको किओचमा दीपकराज सापकोटा, गोविन्दप्रसाद अधिकारी, बीरेन्द्रबहादुर बस्नेत, डा जोतिन्द्र शर्मा, भुवन दाहाल र भवानी राणा सदस्य रहेका छन् ।
‘हामीले खोल्न लागेको यो अस्पताल पूर्ण रुपमा गैरनाफामुलक हुनेछ । समाज र देशका लागि केही योगदान गरौँ भन्ने सकारात्मक सोच लिएर सामुहिक प्रयासमा यो प्रोजेक्ट अघि बढाउन लागेका हौँ,’ गत शनिबार आयोजित विशेष समारोहमा डा कोइरालाले भनेका थिए ।
उनले त्यसबेला नेपालमा १८ बर्ष मुनिका बालबालिकाको संख्या ४० प्रतिशत अर्थात १ करोड २० लाख रहेको तर उनीहरुको सही र सहज उपचारका लागि अहिले पनि उत्कृष्ठ संस्थाको अभाव रहेकोले बाल अस्पताल खोल्ने योजना अघि सारेको बताएका थिए ।
किओचले इन्डियन रियालिटी सो सारेगमप लिटिल च्याम्समा सेकेण्ड रनरअप भएका नेपाली बाल गायक प्रितम आचार्यलाई आफ्नो गुडवील एम्बेस्डरमा नियुक्त गरेको गरिसकेको छ ।
के के हुन्छ सुविधा ?
किओचमा बाल बालिकामा देखिने सबै रोगको उपचार हुने बताइएको छ । गैर नाफामुलक भएकोले यसको उपचार सेवा आम सर्वसाधारणको पहुँचमा रहने डा कोइरालाको दावी छ ।
सञ्चालनमा आउनासाथ स्वास्थ्य बीमा, निशुल्क बाल उपचार कार्यक्रम लगयातका सबै सरकारी कार्यक्रम यो अस्पतालमा ल्याउनेछ । ‘आर्थिक रुपमा विपन्न नागरिकले पनि यो अस्पतालबाट उत्कृष्ठ सेवा लिन सक्नेगरी मोडल तयार गरिदैछ,’ डा कोइरालालले भने ।
सम्पर्क इमेल : [email protected]