पश्चिम पाल्पाको सिद्धेश्वरमा फैलियो झाडा पखला, ५३ जना बिरामी

196
Shares

पाल्पा, २८ असार । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, सिद्देश्वरस्थित अर्चलेको सिङ्गो बस्तीमा झाडापखालको प्रकोप फैलिएको छ । साविक सिद्देश्वर गाविसको वडा नम्वर २ र ३ अर्चलेका एउटै खानेपानीको मुहान प्रयोग गर्ने सबै स्थानीयवासी झाडापखालाका बिरामी बनेका हुन् ।

तल्लो घाटाखोलाको पानी प्रयोग गर्ने सबै ५३ जनामा झाडापखाला फैलिएको हो । रैनादेवी छहरा गाउँपालिका–१ का वडाध्यक्ष सोमबहादुर दर्लामीका अनुसार दूषित पानीका कारण झाडापखालाबाट बिरामी परेका हुन् । दुई जनाको बिरामी तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । केही बिरामीको गुल्मी क्षेत्रमा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको वडाध्यक्ष दर्लामीले बताए ।

चार दिनदेखि पखाला, बान्ता, ज्वरो आउने लक्षण बिरामीमा देखिएको छ । स्थानीय स्वास्थ्य संस्थामा उपचार गराए पनि झाडाबान्ताका बिरामी बढ्दो छन् । जिल्ला अस्पताल पाल्पाका चिकित्सक गगन अधिकारीको नेतृत्वमा छ स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पुगेको छ । शुक्रबार ५ बजेसम्म ३० जनाको स्वास्थ्य परीक्षण गर्ने काम सम्पन्न भएको महामारी नियन्त्रण पाल्पाका फोकलपर्शन ईश्वरी न्यौपानेले जानकारी दिए।

चार दिनदेखि झाडाबान्ताग्रस्त बने पनि स्वास्थ्य कार्यालय, रैनादेवी छहरा गाउँपालिकाको बेवास्ताका कारण समयमा उपचार पाउन नसक्दा थप समस्या हुन पुगेको स्थानीयवासीको गुनासो रहेको छ । जिल्लाको स्वास्थ्यको टोलीमा जनप्रतिनिधि, प्रहरी अहिले प्रभावित क्षेत्रमा पुगेर बिरामीको उद्धारमा जुटेको वडाध्यक्ष दर्लामीले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *