नेपालको खोप सेवा र बढ्दो क्रममा रहेको नेपालीको आयू

- नेपाली हेल्थ
  • डा. झलक गौतम

नेपालीहरुको औषत आयू नाटकीय रुपमा बढेको छ । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले सन् २०१८ मा प्रकाशित गरेको तथ्यांक अनुसार नेपालीको औषत आयू ७० बर्ष भन्दा माथि पुगेको छ ।

दक्षिण एसियामा औषत आयूमा सबै भन्दा छिटो प्रगति श्रीलंकाले गरेको छ । श्रीलंकनहरुको आयू अहिले ७६ बर्ष पुगेको छ । डव्लुएचओको अनुसार अनुसार नेपालीको औषत आयू दक्षिण एसियाली देशमै दोस्रो बढी मानिन्छ ।  तेस्रोमा भुटान ६९ भारत र पाकिस्तानको समान ६६ बर्ष पुगेको देखिन्छ ।

सन् २०१५ को ब्रिटिस मेडिकल जर्नल ‘ल्यानसेट’मा प्रकाशित १८८ देशमा गरिएको अध्ययनको प्रतिवेदन अनुसार नाटकीय रुपमा (छिटो छिटो ) आयू बढाउने मूलुकमध्ये नेपाल दशौँ स्थानमा पर्दछ ।

आजभन्दा ६५ बर्ष अघि सन् १९५४ मा नेपालीहरुको औषत आयू करीब २८ बर्ष थियो । सन् २००० मा आयू बढेर ६२ बर्ष पुग्यो र सन् २०१६ मा ७० बर्ष पुग्यो । हाल ७२ बर्ष पुगेको अनुमान छ ।

यसरी ६५ बर्षको अन्तरमा ४२ बर्ष औषत आयू बढेको देखिन्छ । यो अचम्म लाग्दो प्रगति नेपालले हासिल गरेको छ । राष्ट्रिय योजना अयोगले पनि सन् २०२० सम्म नेपालीहरुको औषत आयू ७३ बर्ष पुरयाउने राखेको छ । जुन उदेश्य प्राप्तिका लागि मातृ मृत्युदर १२५ (प्रति लाखमा), पाँच बर्ष मुनिका बालबालिकाको मृत्युदर २५ (प्रति हजार)मा, बाल मुत्युदर १७ र नवजात शिशुमृत्युदर १२ मा झार्नुपर्ने हुन्छ ।

आजभन्दा २० बर्ष अगाडी नेपाली आमाहरु र बालबालिकाहरुको मृत्युदर भयावह थियो । सन् १९९६ मा गरिएको अध्ययन अनुसार नेपालको मातृमृत्युदर ८८० प्रति एक लाख जिवित जन्म र पाँच बर्ष मुनिका बालबालिकाको मृत्युदर ११८प्रति एक हजार जिवित जन्म थियो । हाल यो घटेर मातृमृत्यु २३९ प्रति १ लाख जिवित जन्म र पाँच बर्ष मुनिका बालबालिकाको ३९ प्रति हजार जिवित जन्म पुगेको छ ।

नेपाल सरकारले मातृ र बाल मृत्युको अवस्थामा सुधार गर्न आमा र बाल स्वास्थ्यसंग सम्वन्धित विभिन्न कार्यक्रमहरु लागू गरेको छ र तोकिएको समय सन् २०१५ भन्दा २ बर्ष अगाडी नै सहश्राव्दी विकास लक्ष्यको २ वटा मुख्य नीति मातृमृत्युदर र पाँचबर्ष मुनिका बालबालिकाको मृत्युदर घटाउने महत्वपूर्ण लक्ष्य पुरा गरयो ।

सामान्य त कुनै पनि देशले जब बालमृत्यु र मातृमृत्यु घटाउन सक्छ तब मात्रै त्यस देशको औषत आयू बढछ । त्यहि भएर नेपालले विभिन्न समयमा मृत्युदर र विरामीहुने दर घटाउने कार्यक्रमहरु कार्यान्वयन गर्दै गयो । सोही अनुसार परिणाम पनि सकारात्मक देखिदै आएको छ ।

क) स्वास्थ्य सेवामा संगठनिक तथा गुणस्तरीय सुधार र पहुँचमा विस्तार
१. औलो ज्वरो नियन्त्रण कार्यक्रम सन् १९५४ मा लागू गरिसकेपछि खासगरी तराई र भित्रि मधेशको औलो ज्वरोबाट हुनेमृत्यु र बिरामी हुने दरलाई अत्यधिक घटाउन सकियो ।

२.परिवार नियोजन कार्यक्रम सन् १९५९ मा देखि शुरु गरेर अनिच्छित गर्भधान रोक्न र जन्मान्तर बढाएर आमाको अकालमृत्यु घटाउन सहयोग पुग्यो । सन् १९९०मा ६ जना रहेको प्रजनन दर नाटकीय रुपमा हाल २.०५ जनामा झरेको छ । बच्चा कम जन्माउनु भनेको बालमृत्युदर घटाउनु पनि हो ।

३. विफर नियन्त्रण कार्यक्रम सन् १९६२ देखि शुरु गरि सन् १९७७ मा उन्मुलन नै गरियो । सामान्यत बालबालिकाहरुलाई विफर भएमा ३० प्रतिशत भन्दा बढीको मृत्यु हुन्थ्यो । विफरको खोपले बालमृत्युदर त घटायो नै विफर समेत उन्मुलन भयो । यो सफलतालाई खोप र जनस्वास्थ्यको क्षेत्रमा  क्रान्ति भन्दा अत्युक्ति नहोला ।

४. त्यसबेलाको सरकारले खोप कार्यक्रम सन् १९७७ देखि शुरु गरी सन् १९८८ सम्ममा सबै जिल्लामा पुरर्याएको थियो । अहिले यिनै खोपका कारण आश्चर्यजनक किसिमले बालमृत्यु घटाउन सकिएको छ ।

जस्तै:

  • बालबालिकालाई खोपकै कारणले दादुरा भएमा १० प्रतिशत भन्दा बढी बालबालिकाको मृत्यु हुनसक्छ । नेपालले दादुरालाई नियन्त्रण गर्ने लक्ष्य लिएको छ ।
  • जापानीज इन्सेफ्लाईटिस (जेई) भएमा करीब ३० प्रतिशतसम्मको मृत्यु हुन सक्छ । यस रोगलाई खोप लगाएर नै नियन्त्रण गरियो । 
  • पोलियो लागेमा ५ देखि १५ प्रतिशत सम्मको मृत्यु हुन सक्थ्यो खोपकै कारण अहिले यो रोग सून्यको अवस्थामा रहेको छ । 
  • बालबालिका वा नवजात शिशुलाई धनुष्टंकार रोग लगेमा ६ देखि ६० प्रतिशतसम्मको मृत्यु हुनसक्ने सम्भावना हुन्छ । जबकी नेपालले नवजात शिशुमा हुने धनुष्टंकार लाई खोप लगाएर नै निवारण गरिसकेको छ । 
  • भ्यागुते रोग भएमा ५ देखि १० प्रतिशतसम्मको मृत्यु हुने सम्भावना रहन्छ नेपालले भने खोपकै कारण यो रोगलाई नियन्त्रण गरिसकेको छ । 
  • लहरेखोकी लागेमा करीब १० प्रतिशत सम्मको मृत्यु हुन्छ । यसलाई पनि खोप लगाएर नियन्त्रण गरिएको छ । 
  • बालबालिकामा न्युमोनिया भएमा करीब १८ प्रतिशत सम्मको मृत्यु हुनसक्ने भएकाले खोपकै कारण धेरै न्युमोनियाबाट हुने मृत्युलाई रोक्न सकिएको छ । 

५. पखाला रोग नियन्त्रण गर्न कार्यक्रम सन् १९८३, श्वास प्रश्वास रोगसंग सम्वन्धीत कार्यक्रम १९८७ मा सन १९९७ मा आमा सुरक्षा कार्यक्रम र १९९८ मा समुदायमा आधारित एकिकृत बालरोग व्यवस्थापन कार्यक्रम कार्यान्वनय गरेर धेरै आमा र बालबालिकाको अकालमृत्यु हुनबाट जोगाइएको छ ।

ख) शिक्षामा राज्यको लगानी बढे पछि, खास गरी महिला साक्षरता बढेको छ । त्यसको प्रत्यक्ष र सकारात्मक प्रभाव स्वास्थ्य क्षेत्रमा पनि देखिएको छ ।

ग) नेपालीहरुको औषत आयमा बृद्धि भएकोले खानपीन सरसफाइ र स्वास्थ्य सेवा र उपचार व्यक्तिगत लगानी पनि बढाउँदै लगेका छन् । त्यसको पनि स्वास्थ्य क्षेत्रमा सकारात्मक परिणाम परेको छ ।

राज्यद्धारा सरुवा रोगहरुको जस्तै क्षयरोग कुष्टरोग, कालाजार, आदिको निशुल्क उपचार र मुटुरोग मिर्गौला रोग क्यान्सर जस्ता नसर्ने रोगहरुको निशुल्क निदान र उपचारमा राज्यको तर्फबाट सहयोगहुने भएकोले ती रोगबाट हुने मृत्युदर घटेको छ ।

ङ) जेष्ठ नागरिक, एकल महिला, अपांग आदिलाई भत्ता र स्वास्थ्य सेवामा प्राथमिकता दिएको कारणले पनि विरामी हुने र मृत्यु हुने दरमा कमि आएको देखिन्छ ।

अत: नागरिकको आयू बढाउने विषय राज्यले अंगिकार गरेका नीति र सो बमोजिम गरिएका कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्छ । खासगरी नेपालले विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको युनिभर्सल हेल्थ कभरेजको नीति प्रति प्रतिवद्धता जनाउँदै सोही बमोजिम स्वास्थ्य सेवाको पहुँच स्वास्थ्य संस्था र जनशक्तिको विस्तार र विकास, गुणस्तरीय सेवामा बृद्धि, अन्तराष्ट्रिय दातृ निकायहरु संगको सहकार्य र निजी क्षेत्रको स्वास्थ्य सेवामा व्यापक लगानी आदिले गर्दा यो उपलव्धी भएको हो ।

परिवर्तित सन्दर्भमा यो उपलव्धीलाई कायम राख्दै, स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै, स्वास्थ्यकर्मीहरुको सही ढंगले व्यवस्थापन गर्दै अगाडी बढनु अहिलेको आवश्यकता र चुनौती हो ।

# डा. गौतम बाल स्वास्थ्य तथा खोप शाखा प्रमुखको रुपमा कार्यरत छन् ।

थप समाचार

Loading...

One thought on “नेपालको खोप सेवा र बढ्दो क्रममा रहेको नेपालीको आयू

Leave a Reply

Your email address will not be published. Required fields are marked *