रोटा भाइरस बिरुद्धको खोप शुरु गर्दै सरकार
काठमाडौँ, १० असार । सरकारले आगामी आर्थिक बर्षबाट रोटा भाइसर बिरुद्धको खोप सञ्चालनमा सञ्चालनमा ल्याउने भएको छ ।
खोप ‘सप्लाई’ गर्ने जिम्मा लिएको बेल्जीयन कम्पनी ग्ल्याक्सो स्मिथ क्लाइन फर्मास्युटिकल्स (जीएसके) खोप अभाव नहुने प्रतिवद्धता जनाएपछि सरकारले आगामी पुस माघबाट खोप सञ्चालन गर्ने भएको हो ।
गत मंसिर पुस देखि नै खोप सञ्चालन गर्ने भनिए पनि जीएसकेले खोपको अभाव देखाउँदै अन्तिम अवस्थामा हात झिकेपछि यो कार्यक्रम रोकिएको थियो ।
अहिले पुन जिएसकेसंगै ग्लोबल एलायन्स फर भ्याक्सिनेशन एण्ड इमुनाइजेशन (गाभी)ले अभाव नहुने प्रतिवद्धता जनाएपछि सोमबार राष्ट्रिय खोप समन्वय सल्लाहकार समितिबाटै खोप सञ्चालन गर्ने निर्णय भएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख डा. झलक गौतमले बताए ।
‘हामीले आउँदो पुस माघबाट यो खोप शुरु गर्ने भएका छौँ । त्यस सम्वन्धी निर्णय हिजो मात्रै भयो । जीएसकेले नै नयाँ प्रारुपमा तयार पारेको रोटा विरुद्धको खोप उपलव्ध गराउने प्रतिवद्धता जनाएको छ । एक बर्ष ढिलो भएपनि कार्यक्रम शुरु हुने भयो । यो नै खुशीको कुरा हो ,’डा. गौतमले भने ।
बालबालिकाको मृत्युको मुख्य कारक तत्वमध्येको एक झाडा पखला र झाडा पखला गराउने मुख्य तत्व रोटाभाइरस विरुद्धको खोप ‘रोटा रिक्स’ राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेपछि यो निशुल्क खोपको संख्या १२ पुग्नेछ ।
डा. गौतमका अनुसार यो खोप एक बर्ष भित्रका बालबालिकालाई ६ हप्ता र १० हप्ता उमेर समूहमा दिइने गरिन्छ । ‘यो खोप एक बर्ष मुनि उमेर समुहका ६ लाख ३० हजार बालबालिकालाई दिने योजना छ,’ उनले भने ।
सम्पर्क इमेल : [email protected]