डडेल्धुरा अस्पताल बिरामी मृत्यु प्रकरण : के गर्दैछ छानविन टोलीले ? अस्पतालको अवस्था कस्तो छ ?
काठमाडौँ, ३ असार । बिरामीको मृत्युपछि तनावग्रस्त बनेको डडेल्धुरा अस्पताल सामान्य बन्दै गएको छ । यद्धपी चिकित्सकहरुले अझै पनि ढुक्कका साथ सेवा दिन सकिरहेका छैनन् । प्रहरी सुरक्षामा उनीहरुले हिजो देखि ओपिडी सेवा सञ्चालन गरेका छन् ।
गत ३१ जेठमा अमरगढी नगरपालिका बस्ने २५ वर्षीया गीता ताम्राकारको शल्यक्रियाका क्रममा निधन भएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको थियो । विरामीका आफन्तहरु प्रदर्शन र तोडफोडमा उत्रिएको थिए । यतिसम्मकी चिकित्सकहरु अस्पताल छाडेर भाग्नु पर्ने अवस्था आएको थियो ।
सो घटना पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपसचिव भानुभक्त न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । सो समितिले हिजो विहानै देखि काम शुरु गरेको बताएको छ ।
समितिले अहिलेसम्म के के गर्यो त ? डडेल्धुरामा रहेका समितिका संयोजक न्यौपानेले यसरी बर्णन गरे
समिति गठन भएकै दिन बेलुका अर्थात १ असार बेलुका हामी डडेल्धुरा आइसकेका थियौँ । आएपछि चिकित्सक तथा स्वास्थयकर्मीहरुको अवस्था विशेषगरी उहाँहरुको सुरक्षा अवस्थाको बारेमा जानकारी लिने काम भयो । स्थानीय प्रशासनका अधिकारीहरुसंग पनि टेलिफोनमा कुराकानी गरयौँ ।
दोस्रो दिन २ असार अर्थात हिजो विहानै हामीले जिल्ला सुरक्षा समन्वय समितिसंग बैठक बसी घटनाको बारेमा जानकारी लिएर औपचारिक रुपमा काम शुरु गरयोँ ।
त्यस लगत्तै दिउसो अस्पताल पुगि चिकित्सक तथा स्वास्थ्यकर्मीसंग घटनाको बारेमा सोधपुछ गर्ने काम गरयौँ । मृतक गीता ताम्राकारको उपचारका लागि प्रयोग भएका कागजातहरु पनि अस्पतालबाट संकलन गरियो । अनि जिल्ला प्रहरी कार्यालयमा बुझ्नुपर्ने कुराहरु बुझियो । नगर प्रमुखसंग पनि एक चरणको बैठक बसियो ।
आज हामी पिडीतको घरमा जाँदैछौँ । काजकिरिया गरेर बसेको बेलामा बाहिर बोलाउन पनि मनासिव भएन । उहाहाँको घरमा गएर उहाँको भनाई पनि बुझ्नु परयो । सम्वन्धित वडाको वडाध्यक्षसंग राय लिने काम पनि भएको छ ।
अस्पताल सुचारु छ । अस्पतालमा आउनेले सेवा पाएका छन् । हिजो पनि धेरै जनाले सेवा पाएका छन् । चिकित्सकहरुको मनोभावनाको कुरा गर्ने हो भने सयमा सय आइसकेको छैन जस्तो लाग्छ । तर पनि हामीले कन्भिन्स गर्ने काम गरेका छौँ । उहाँहरु पनि विस्तारै नर्मल अवस्थामा जाँदै हुनुहुन्छ ।
अस्पतालको मेसु डा जितेन्द्र कंडेल यसो भन्छन् …..
हिजोबाट ओपिडी सञ्चालन गरेका छौँ । तर छुट्टा छुट्टै कोठामा बसेर होइन सामुहिक रुपमा एउटै कोठामा बसेर सेवा दियौँ । आज पनि त्यसैगरी सेवा दिने योजनामा छौँ । शल्यक्रिया गर्नुपर्ने केश अझै केही दिन हुँदैनन् । किनभने शल्यक्रिया कक्ष तोडफोड भएको छ । त्यो मर्मत गर्न केही दिन लाग्न सक्छ । हिजो मात्रै केन्द्रबाट आएको छानविन समितिले हेरेर गएको छ ।
अस्तिको घटनामा ओटीरुपमा पनि क्षति पुग्यो लेवर रुम तर्फ जाने ढोका पनि फोडिएको छ । एनआईसीयु जाने ढोका पनि क्षतिग्रस्त भएको छ । त्यसैले ओटी ढोका फुटाएर त्यति ठूलो मास भित्र गएको छ त्यो मर्मत गरेर त्यसलाई संक्रमणरहित बनाएर मात्रै सेवा सञ्चालनमा गर्नुपर्ने हुन्छ ।
हिजो छानविन समितिले हेरेको छ । लिनुपर्ने बयान लिएको छ । आज टोली मृतकको घरतर्फ गएको छ । समग्रमा भन्नुपर्दा अस्पतालमा एक तहको सेवा सुचारु भइसकेको छ । हिजो ओपिडीमा डेढ सय जना भन्दा बढीले सेवा लिए । रुटिन ओपिडी जस्तै चले जस्तै गरी नै चल्याछ ।
अस्पतालमा यति नै क्षति भयो भनेर अहिले म भन्न सक्दिन । सात ओटी रुम, लेवररुम, एनआईसीयू सहितका गरी ७ वटा ढोका फुटेका छन् । तीन चारवटा झ्याल फुटेका छन् । भेन्टिलेसन पनि फुटाइएको छ ।
अस्पताल भित्र हामी अहिले सुरक्षित छौँ । जिल्ला प्रशासन कार्यालयले यथेष्टमात्रामा सुरक्षाकर्मी उपलव्ध गराउनु भएको छ । तर बाहिर निस्कन हामीलाई समस्या भएको छ । त्यो आक्रमणमा आएको झुण्डले हाम्रो नामै तोकेर बाहिर आयो भने जानेको छौँ भनेर अहिले पनि धम्की दिइरहेको छ ।यसले त्रासको बातावरण अझै घटेको छैन ।
हाम्रो विरोध गर्ने र आक्रमणको प्रयास गर्ने सानो झुण्ड हो । ठूलो समूहले हामीलाई माया नै गरेको छ । हाम्रा ती शुभचिन्तकहरुले अहिले बाहिर ननिस्कनुस भन्नु भएको छ । हेरौँ सधैभरी त यस्तो नहोला । अवस्था विस्तारै सहज होला ।
सम्पर्क इमेल : [email protected]