बिरामीको मृत्यु पछि ‘चिकित्सकको चरम लापरवाही’ भन्दै ओम अस्पताल घेरे आफन्तले

काठमाडौँ, ३० जेठ । उपचाररत बिरामीको मृत्युपछि चावहिलस्थित ओम अस्पताल तनावग्रस्त भएको छ । चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भएको आफन्तहरु नाराबाजीमा उत्रिएपछि अस्पताल तनावग्रस्त भएको हो । अहिले अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
गत शुक्रबार पित्तथैलीको पत्थरीको शल्यक्रिया गरिएकी ५० बर्षीया रामप्यारी थापा मगरको आज विहान मृत्यु भएको थियो । आफन्तका अनुसार इन्द्रावती १० सिन्धुपाल्चोक स्थायी घर भई नयाँ बानेश्वर बस्ने थापा मगरको डा रबिन कोइरालले शल्यक्रिया गरेका थिए ।
शल्यक्रियाका क्रममा सानो आन्द्रामा प्वाल पारिएको र त्यसलाई नटाली बाहिरको लियर टालेपछि आन्द्राबाट फोहर लिक भई शरीर भरि फैलिएको र इन्फेक्सनका कारण विरामीको मृत्यु भएको आफन्तको आरोप छ । यस सम्वन्धमा अस्पतालका तर्फबाट केही प्रतिक्रिया आएका छन् ।
मृतकका आफन्त (बैनी ज्वाई) खड्गबहादुर श्रेष्ठ चिकित्सकको लापरवाही हो भनेर यसरी दावी गर्छन् :
आज मृत्यु भएको बिरामी इन्द्रावती गाँउपालिका १० सिन्धुपाल्चोक स्थायी ठेगाना हाल नयाँ बानेश्वर बस्ने बर्ष ५० को रामप्यारी थापा मगर हो । म उहाँको बैनी ज्वाई । म शुक्रबार देखि नै उहाँसंगै अस्पतालमा छु ।
‘केस’ के हो भने बिरामी (रामप्यारी) गत बिहीबार चेक जाँचको लागि यहाँ ( ओम अस्पतालमा) आउनु भएको थियो । चेक जाँचको क्रममा चिकित्सकले पित्तथैलीमा पत्थरी भएको र अप्रेशन गर्नुपर्ने सुझाए ।
दुबै पक्षको सल्लाह अनुसार शुक्रबार अर्थात भोलिपल्ट आउने भर्ना हुने र अप्रेशन गर्ने निर्णय भयो । सोही अनुसार शुक्रबार घर परिवारलाई खाना खुवाएर भर्ना हुने र अप्रेशन गर्ने भन्दै दिदी (रामप्यारी) खाली पेटमा अस्पताल आउनुभयो । भर्ना हुनुभयो । शुक्रबार बेलुका नै उहाँको अप्रेशन भयो । सहज रुपमा काम सम्पन्न भयो भनेर हामी खुशी भयौँ ।
तर सहज कहाँ भएको रहेछ र अप्रेशनले त थप जटिलता ल्यायो । डाक्टर कोइरालाले पछि भने अनुसार अप्रेशनका क्रममा सानो आन्द्रामा प्वाल परेको रहेछ । तर त्यसलाई नटालीकन बाहिरी (छाला)को प्वाल टालेछ । आन्द्राको प्वाल नटालेपछि आन्द्राबाट मलद्धारबाट निस्कनुपर्ने फोहर त्यहि आन्द्राको प्वाल परेको ठाँउबाट लिकेज भएर पेटभरी फैलियो ।
त्यसपछि यति छिटो संक्रमण बढ्यो कि कुरै नगर्नुस ।
त्यो बढेपछि विरामीको अवस्था एक्कासी नाजुक हुँदै गयो । शनिवार देखि नै विरामी झन झन सिरियस हुँदै जाने, व्लड प्रेसर लो, स्वासप्रस्वास समस्या हुँदै जाने जस्तो देखियो । त्यसपछि अरु चेकजाँच भिडियो सिटिस्क्यान जस्ता सबैखाले जाँचहरु फटाफट गरियो । त्यसले पनि के भएको हो भनेर पत्ता लगाउन सकेन रे । यो डाक्टर कोइरालाले हामीलाई भनेको कुरा हो ।
मैले तपाईँलाई उनले (डा कोइरालाले) हामीलाई भनेको कुरा सुनाउदैछु । त्यसपछि उनले (डा कोइरालाले) कतैबाट समस्या पत्ता नलागेपछि आफैले दुईवटा टाका खोलेर हेरेछन् । त्यो हेर्दा फोहर लिकेज भएको थाह पाए रे । त्यहि कुरा हामीलाई सुनाए र तत्काल अर्को अप्रेसन गर्नुपर्ने भयो भने । हामीले गर्नुपर्ने भए गर्नुहोस न त भन्यौँ ।
त्यसपछि दोस्रो अप्रेसन आइतबार भयो । डा कोइरालाका अनुसार सो अप्रेसनमा डेढ मिटर आन्द्रा काटेर फालियो । त्यसपछि मलद्धारमा जाने आन्द्रा चाही पेटबाट निकालियो ।
त्यसपछि भेन्टिलेटरमा राखेर उपचार भयो । उनीहरुले कहिले धेरै राम्रो सुधार भयो भन्थे । कहिले अलि कम सुधार भएको छ भन्थे । आज विहान ७ बजे तिर भने तपाईँहरुको बिरामी रहनु भएन भनेर जानकारी दिए ।
अब तपाईँ आफै भन्नुस् ।
उनीहरुको असावधानी होला तर हाम्रोलागि त सत प्रतिशत डाक्टरको लापरवाही नै हो । उसकै कारणले मेरो मान्छेको ज्यान गयो । त्यसको क्षतिपूर्ति कसरी पुरा हुन्छ ? त्यसैले हामीले अहिले हामी सबै आफन्तहरु यहाँ जुटेका छौँ ।
प्रहरीले घेरा हालेको छ । हाम्रो माग हेलचेक्राईपुर्वक गर्ने उपचारलाई रोकिनुपर्छ । बिरामीको क्षतिपूर्ति त हुने कुरै भएन तर परिवारलाई राहत दिइनुपर्छ । र गैरजिम्मेवार डाक्टरलाई कानुनी कारवाहीका लागि प्रक्रिया अघि बढाउनुपर्छ भन्ने हो ।
(बिरामी कुरेर बसेका श्रेष्ठसंगको कुराकानीमा आधारित यो भनाई हो । हामीले अस्पताल पक्षबाट पनि यस विषयमा धारणा लिने प्रयास गरेका थियौँ तर सफल हुनसकेन । )
सम्पर्क इमेल : [email protected]