वर्तमान सन्दर्भमा स्वास्थ्य सेवा : चुनौति र अवसर

- नेपाली हेल्थ
  • डा. यदुचन्द्र घिमिरे  – प्रमुख स्वास्थ्य प्रशासक


शरीरिक रुपमा तन्दुरुस्त तथा निरोगी रहनु, मानसिक रुपमा द्धन्दरहित भई उपयुक्त ब्यवहार गर्न सक्नु, सामाजिक रुपमा आफ्नो भूमिका निर्वाह गर्न सक्नु र भावनात्मक रुपमा सकारात्मक सोच हुनु एवं सन्तुष्ट हुनु नै स्वास्थ्य हो । त्यसैले स्वास्थ्य विकाससँग जोडिएको एक बहुआयमिक विषय हो । स्वास्थ्य सेवाको उद्देश्य स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा र रोगीको रोग निवारण गर्नु नै हो ।

श्रोत–साधन सिमित भएको हाम्रो जस्तो देशमा स्वस्थ जनताको स्वास्थ्यको रक्षा र रोगीको रोगको ब्यवस्थापन गर्ने सेवालाई समुचित विकास र कार्यान्वायन गर्न सके मात्र स्वास्थ्य सेवा प्रभावकारी हुन सक्दछ । त्यसको लागी यथासंभव उपयुक्त स्वास्थ्य संरचना, आवश्यक र वैज्ञानिक अनुपातको सीप मिश्रित जनशक्तिको माध्यायमबाट स्वास्थ्य सेवा संचालन गर्ने व्यवस्थालाई सुनिश्चित गर्नु आवश्यक छ । देश विकासको महत्वपूर्ण क्षेत्र स्वास्थ्य भएकोले स्वास्थ्य सेवाको अवस्थाले देशको समग्र विकासमा पनि प्रत्यक्ष प्रभाव पार्दछ ।

उपयुक्त स्वास्थ्य संरचना र स्वास्थ्य जनशक्तिहरुको सही व्यावस्थापन र परिचालन एवं स्वास्थ्य कार्यक्रमहरुको प्रभावकारी अनुगमन–मुल्यांकनको व्यवस्था मिलाउन सके मात्र स्वास्थ्य सेवाको उद्देश्य हासिल हुन सक्दछ । यसका लागि स्वास्थ्य सेवाका विभिन्न बिधाहरु र त्यमा सेवा गर्ने जनशक्तिको हरेक तहमा समुचित आँकलन, बर्गिकरण र व्यवस्थापन हुनुपर्दछ ।

स्वास्थ्य क्षेत्रमा सरकारी सेवामा स्वास्थ्यकर्मीहरु विगत लामो समयदेखि २५ भन्दा बढि समुह तथा ८० भन्दा बढि उपसमुहमा विभक्त भएता पनि केन्द्रदेखि समुदाय स्तरसम्म तत्कालिन स्वास्थ्य संरचना मार्फत प्रभावकारी स्पमा सञ्चालिन स्वास्थ्य सेवाका कारण वाल स्वास्थ्य, मातृस्वास्थ्य र रोग नियन्त्रण लगायतका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हाँसिल गरेको अवस्था छ ।

माथि उल्लेखित समुह÷उप–समुहमा विभक्त भएका स्वास्थ्य जनशक्तिहरुको सरुवा, बढुवा तथा वृत्ति–विकास र सेवा–सुविधाका बिषयमा विभेद भएको भनि धेरै गुनासाहरु र प्रश्नहरु उठेकै थिए र तिनको समाधान गर्न ठूलो श्रम र समय लगायतका श्रोत–साधनहरुको खर्च गर्नु परेको अवस्था अझसम्म पनि विद्यमान छ ।

वैज्ञानिक, तथ्यपरक र उपयुक्त व्यवस्था एवं कार्यविधिको अभावमा उपरोक्त बमोजिमका विभिन्न समुह÷उप–समुहहरुले स्वास्थ्य सेवा प्रवाह गर्ने कार्यमा पूर्ण रुपमा केन्द्रित नभै व्यक्तिगत र सम्बन्धित समुह÷उप–समुहका स्वास्थ्य जनशक्तिहरुको सरुवा, बढुवा तथा वृत्ति–विकास र सेवा–सुविधाका बिषयमा समय खर्चेको र आवश्यकता, औचित्य र विवेक भन्दा पनि पहुँच, दवाव र प्रभाव नै अवसर र सुविधा प्राप्त गर्ने आधार हुन की भन्ने देखिने अवस्था आएको कुरा स्पष्ट छ ।

उक्त अवस्था हालसम्म पनि विद्यमान छ । यो परम्पराले स्वास्थ्य संस्थामा पठाइने जनशक्तिको मनोवल कमजोर, अनश्चित र अस्थिर बनाएको छ । हाल स्वीकृत स्वास्थ्य संरचनामा समेत विगतको परम्पराले सृजना गरेको जनशक्ति, संरचना र दरवन्दीबीचको वेमेलको परिणाम देखिन्छ । उदाहरणका लागी एउटै संगठनमा प्रदेश पिच्छे एउटै पदमा अनावश्यक फरक फरक समुहका व्यक्तिको पद सृजना भएको कुरालाई लिन सकिन्छ । जुन तर्कसंगत, न्यायपूर्ण र निश्पक्ष हुदैन र यो सेवाग्राही र सेवा प्रदायक कसैको माग पनि हुन सक्दैनन ।

परिवर्तित अवस्थामा स्वास्थयका सेवा, समुह÷उप–समुहको व्यावस्थापन एकातिर अझ पेचिलो बन्दै गएको छ भने अर्कोतिर यी कुराहरुमा राम्रो व्यावस्थापन भएमा उचित समाधान निकाली राष्ट्रले लिएको लक्ष हासिल गर्ने अवसर पनि हामी सामु छ ।

स्वास्थ्य क्षेत्रको विकासमा कुसल र निश्पक्ष संगठानिक नेतृत्व र सुशासनको भुमिका हुन्छ । यसको लागी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समग्र स्वास्थ्यकर्मीहरुलाई समेट्ने गरी रणनीतिक रुपले नेतृत्वदायी पहलकदमी लिन आवश्यक छ ।

स्थायी संगठन तथा ब्यवस्थापन सर्वेक्षण मार्फत यस्ता बिषयमा सम्बोधन हुने गरी विभिन्न समुह-उप–समुहमा काम गर्ने स्वास्थ्य जनशक्तिहरुलाई उपयुक्त स्थान र पदमा रहि कार्य गर्ने वातावरण बनाउन सके स्वास्थ्यकर्मीहरुलाई उच्च मनोवलका साथ देश, संविधान र दिगो विकास लक्ष र सरकारको नीति तथा कार्यक्रमले आशा गरे अनुरुपको लक्ष प्राप्त गर्ने काममा परिचालन गर्न सकिन्छ ।

अहिलेको बिशिष्ठ परिस्थितिमा सवै सेवा–समुहमा काम गर्ने स्वास्थ्यकर्मीहरुले पनि आफ्नो सेवा–समुहको दायराबाट माथी उठेर स्वास्थ्यको साझा उद्देश्य पुरा गर्न सोच्ने र उचित निकास दिन पहलकदमि लिन ढिलो गर्नु हुदैन ।

उल्लेखीत बिषयहरुमा स्वास्थ्य सेवामा कार्यरत स्वास्थ्यकर्मीहरुमध्ये कार्य विवरण मिल्न सक्ने यथासम्भव धेरै समुहहरुलाई एउटै समुहमा मिलाई विभिन्न समुहहरुको अनावश्यक संख्या घटाई औचित्यपूर्ण संख्यामा ल्याउनु पर्दछ । यस्ले स्वास्थ्यकर्मीहरुकोे ध्यान रचनात्मक प्रतिष्पर्धा र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गरी पेशाागत सम्मान बृद्घि गर्न केन्द्रित हुन सक्दछ । यस्तो ब्यवस्था गर्न सके लोक सेवा र बढुवामा उल्लेख्य मात्रामा प्रतिस्पर्धा भइ उत्कृष्ठ र सक्षम जनशक्ति छनौट हुने संभावना समेत बढ्दछ । माथिल्लो, नेतृत्वदायी र नीति–निर्माण गर्ने पदमा समुहकृत नगरी समायोजन ऐनको भावना अनुरुप कुशल नेतृत्व छनौट गर्न विद्यमान धेरै समुहबाट प्रतिष्पर्धा गर्न सक्ने ब्यबस्था गर्नु आवश्यक देखिन्छ ।

यसरी सबै स्वास्थ्यकर्मीहरुलाई समान अवसर, उपयुक्त जिम्मेवारी सहित ठिक स्थानमा पदस्थापन गरी कामकाजमा खटाउँन सकेमा स्वास्थ्य क्षेत्रमा शुसासन कायम गर्न, जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन र हालसम्म स्वास्थ्य क्षेत्रले हासिल गरेको उपलब्धि रक्षा गर्दै अझ अगाडी बढ्न सजिलो हन्छ । यस बिषयमा सम्बन्धित सवैले गम्भिर भइ स्वास्थ्य सेवाको विकास गर्न योगदान गर्नु नै सवैको हितमा हने छ ।

# प्रमुख स्वास्थ्य प्रशासक डा. घिमिरे रौतहटस्थित गौर अस्पतालमा कार्यरत छन् ।

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *