नेपाल मेडिकल काउन्सिलमा ५ सदस्य खाली, दुई पछि अध्यक्षको पदावधि सकिदै

काठमाडौँ, १९ जेठ । चिकित्सकहरुको नियमन गर्ने सरकारी निकाय नेपाल मेडिकल काउन्सिलमा पाँच जना सदस्य पद रिक्त भएको महिनौ भैसक्यो तर नियुक्तिको छाँटकाट अहिलेसम्म देखिएको छैन ।

पदावधिकै कारण दुई दिनपछि काउन्सिलबाट अध्यक्ष प्राडा धर्मकान्त बास्कोटा समेत बाहिरिदिदै छन् । यसपछि नयाँ अध्यक्ष नआउँदासम्म काउन्सिलको नेतृत्व स्वत उपाध्यक्ष डा नारायणविक्रम थापाको काधमा जानेछ ।

काउन्सिलमा उपभोक्ताको तर्फबाट सदस्य बनेका भीमबहादुर चन्दको पदावधि सकिएको छ महिना नाघिसकेको छ । अरु चार जना सदस्यहरु डा चन्दा कार्की र डा कृष्ण अधिकारी (मेडिकल समूहबाट) , डा प्रकाश पराजुली र डा सुदीप आचार्य (डेन्टल समूह)बाट नियुक्ति खाएका थिए । उनीहरुको पदावधी सकिएपनि ३ महिना नाघिसकेको रजिष्ट्रार डा दिलिप शर्माले बताए ।

रिक्त सदस्य पदमा नियुक्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्याविनेटमा प्रस्ताव पठाउनु पर्ने हो । तर मन्त्रालयले त्यस तर्फ ध्यान दिएको छैन । मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा विकास देवकोटाले रिक्त सदस्य पदमा नियुक्तिका लागि प्रस्ताव पठाई नसकेको जानकारी दिए । ‘काउन्सिलमा सरकारी कोटा रिक्त छन् । त्यसमा नियुक्तिका लागि लागि हामीकहाँबाट प्रस्ताव जानुपर्ने हो । त्यो गइसकेको अवस्था छैन । अब छिटै जाला,’ उनले भने ।

‘उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले काउन्सिल अध्यक्षको समेत पदावधि सकिएपछि एकैपटक नियुक्ति गर्ने योजना बनाएको बुझिएको छ । त्यसैले पनि २१ जेठबाट बास्कोटाको पदावधि सकिएपछि अध्यक्ष सहित पाँच सदस्यको नियुक्ति गर्ने होला,’ मन्त्रालय सम्वद्ध एक अधिकारीले भने ।

काउन्सिलमा अध्यक्ष उपाध्यक्ष सहित १९ सदस्यीय कार्यसमिति छ भने एक जना रजिष्ट्रार हुने प्रावधान छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *