तपाँईको महिनावारी सामान्य छ कि गडबडी ?

डा. आशा सिंह (बरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ)

कहिलेबाट शुरु हुनु पर्ने हो महिनावारी ?

सामान्य त छोरी मान्छे एघार, बाह्र वर्ष पुगेपछि महिनावारी सुरु हुन्छ । तर जलवायू परिवर्तनको असरको कारणले पनि हुनसक्छ अचेल ९, १० बर्षमै पनि महिनवारी हुन थालेको छ । यी उमेरमा शुरु हुने महिनावारीलाई सामान्य रुपमा लिनुपर्छ ।

कसै कसैको १४ बर्ष पुग्दा पनि महिनावारी सुरु हुँदैन । यसो भन्दैमा आत्तिई हाल्नु पर्ने अवस्था होइन । कसैको ढिला हुन्छ । कसैको १६ बर्षसम्म पनि महिनावारी सुरु हुँदैन । यो अवस्थामा भने एक पटक स्त्रीरोग विशेषज्ञलाई देखाएर आवश्यक जाँच गर्नुपर्न सक्छ । हुन त १४ बर्षसम्म भएन भने पनि एक पटक डाक्टरसंग सल्लाह लिएको राम्रो १६ बर्षसम्म नै सुरु भएन भने केही परीक्षण पनि गर्नुपर्न सक्छ ।

महिनावारी नियमित हुनुपर्ने हो कि होइन ?
एघार बर्षमा पहिलो पटक महिनावारी शुरु भयो तर त्यसपछि दोस्रो पटक महिनावारी हुन चार पाँच महिना लाग्न सक्छ । तर कतिपय अभिभावकले भने यसैलाई नै महिनावारी गडवडीको संज्ञा दिदै आत्तिई रहेका भेटिन्छन् ।

आफ्नो नानीको महिनावारी शुरु भएर पनि रोकियो भनेर डराउने गरको समेत पाइन्छ । यो गलत हो । किनभने महिनावारी सुरु भएपछि मासिक रुपमा महिनावारी हुन अझ एक दुई बर्ष समय लाग्छ । किनभने अण्डा बन्ने प्रक्रिया परिपक्व हुन एक दुई बर्ष त लाग्छ ।

तर ११ बर्षमा महिनावारी शुरु भएर १६ – १७ बर्षसम्म पनि नियमित भएन भने त्यतिवेला चिकित्सकसंग परामर्श लिनु राम्रो हुन्छ ।

रगत बढी गयो ? कति गयो ?
महिनावारीका बेला रगत जाने पद्धती पनि हरेक व्यक्तिमा फरक फरक हुन्छ । कसैलाई दुई दिन गएर रोकिन्छ कसैलाई ४ – ५ दिनसम्म गइरहन्छ । त्यसैले एक अर्काको तुलना गरेर महिनावारी गडवडी भयो भनेर निस्कर्ष निकाल्न हतार हुन्छ ।

बरु यदि कसैको महिनावारी शुरु भए देखि नै २ दिनमात्रै रगत जाने गर्दथ्यो तर पछि एक्कासी रगत जाने प्रक्रिया छ दिन सम्म जान थाल्यो भने त्यो गडबडी हुनसक्छ । अथवा पहिले चार दिन हुन्थ्यो तर अहिले एक दिन मात्रै हुन थाल्यो भने पनि त्यो गडवडी हुन सक्छ । तर पहिले जस्तै दुई वा तीन दिन वा चार दिन जति जाने गरेको छ त्यति नै रहयो भने त्यसलाई सामान्य मान्नुपर्छ । छिमेकीको पाँच दिन गयो मेरो गएन भनेर आत्तिनु बेकार हो ।

सामान्य त महिनावारीमा तीन देखि चार दिन रगत जाने समस्या हुनसक्छ । तर सुरु देखि नै छ दिन भइरहेको छ र अहिले पनि छ दिन भएको छ भने त्यो समस्या होइन ।

महिनावारी हुने समय ?
२८ दिनमा महिनावारी हुनुपर्छ भनिएपनि सामान्य त २० देखि ४५ दिन भित्र यता उता हुनसक्छ । यो अवधीलाई सामान्य मान्न सकिन्छ । कसैको १ गते महिनावारी भयो र २२ गते पनि भयो भने मेरो महिनामा दुई पटक महिनावारी भयो भन्ने ?

यस्तै कसैको १ गते भयो त्यो महिनाभरी भएन अर्को महिनाको १२ गते भयो भने मेरो त डेढ महिनामा भयो भने चलन पछि त । तर त्यो केही होइन आत्तिनु पर्दैन ।

महिनावारी बेलामा पेट बेस्सरी दुख्छ ?
महिनावारी बेलामा पाठेघरले बाहिर रगत फाल्ने प्रक्रियामा पाठेघरमा संकुचन (कन्ट्राक्सन ) हुन्छ । यस्तो अवस्था सुत्केरी भएका बेला बच्चा निकाल्दा पनि पाठेघर कन्ट्रयाक्ट हुने गर्दछ छ नि त्यस्तै अवस्था हो । यो प्रक्रियामा केही दुख्छ ।

यसकारण महिनावारी हुँदा सहन सक्ने गरी दुखाई हुनुलाई सामान्य रुपमा नै लिनुपर्छ । तर बढी नै दुख्दा जाँच त गर्नै पर्दछ । अरु कारणले पो दुखेको हो कि ? बढी दुख्दा औषधि पनि लिन सकिन्छ । किनभने पढन जाने र काम काजमा जाने महिलालाई सधैभरी दुख्छ भनेर आराम गरेर बस्न सकिन्न । जाँच गर्दा रोगहरु केही छैन भनेर प्रमाणित भयने भने त्यसलाई सामान्य मान्नुपर्छ ।

महिनावारीको भएका बेलामा कति जान्छ रगत ?
रगत जाने कुरा व्यक्तिमा भर पर्दछ । मेरो लागी सुरु देखि जति रगत जान्थ्यो त्यति नै गइरहेयो भने त्यो नर्मल हुन्छ । तर पनि सामान्य त महिनावारीका बेलामा ३० देखि ५० एमएल रगत जान्छ भन्ने छ । तर यसो भन्दा फेरी नयाँ पुस्ताले रगत नाप्न पो थाल्ने हो कि ? तर नाप्ने कसरी ? प्याड जोखेर वा कसरी ? त्यसैले यति रगत जानुपर्ने यति गयो होला भनेर चिन्ता नलिऔँ । रगत जाने कुरालाई सामान्य रुपमा लिऔँ ।

तर रगत गईसकेपछि पोषणयुक्त खानेकुरा, आराम आदिमा ख्याल राखौँ । किनभने अहिले स्कुलमा अध्ययन गर्ने किशोरीहरुमा ७० प्रतिशतमा एनेमिया देखिएको छ । महिनावारीमा रगत बढी जाने, पोषणयुक्त खानेकुरा नखाने वा नपाउने आदि कारणले पो हो कि भन्ने पनि अनुसन्धानले प्रश्न उठाएको छ ।

त्यसैले म के भन्न चाहन्छु भने महिनावारी गडवडी हो भने ढिला नगरौँ तर सामान्य अवस्थालाई नै गडवडी हो भनेर नआत्तिउ ।

महिनावारी गडवडी हुनु एक किसिमको रोगहरुको कारणले पनि हुनसक्छ । शारीरिक समस्याका कारणले पनि हुनसक्छ । त्यसैले यसलाई सावधानीपूर्वक लिने गरौँ ।

महिनावारी हुन शुरु गरेका आफ्ना नानीहरुलाई विशेषगरी आमाहरुले महिनावारीको बारेमा जानकारी दिऔँ । महिनावारी सामान्य र प्राकृतिक कुरा हो भनेर बुझाउने प्रयास गरौँ । कुन अवस्था गडवडी हो कुन अवस्था सामान्य हो नजिकका स्वास्थ्यकर्मीहरुसंग सल्लाह लिऔँ ।

# डा.  सिंह नेपाल प्रहरीमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा कार्यरत छिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *