प्रत्यारोपण केन्द्रको स्थायी पदपूर्ति होला स्थगित ? आयोगले आज निर्णय गर्दै

804
Shares

काठमाडौँ, ३ जेठ । अनशनरत एक जना नर्सको ज्यानको सुरक्षाको लागि भन्दै भक्तपुरस्थित राष्ट्रिय प्रत्यारोपण केन्द्रले लोक सेवा आयोगलाई स्थायी पदपूर्ति कार्यक्रम स्थगित गर्न पत्र पठाएको छ । सो पत्रको विषयमा लोक सेवा आयोगका पदाधिकारीबीच आज छलफल हुने बुझिएको छ ।

प्रत्यारोपण केन्द्रमा लामो समय देखि करारमा कार्यरत नर्सहरुको एउटा समूह स्थायी पदपूर्तिको प्रक्रियाको विरोधमा आन्दोलन गरिरहेका छन् । उनीहरु मध्येकीे एक जना नर्स डिक्की शेर्पा त प्रत्यारोपण केन्द्रमै अनशन बसेकी छन् । उनीहरुको माग स्वत स्थायी वा आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गरिनुपर्ने भन्ने छ ।

शेर्पाको अनसन तोडाउन केन्द्रले स्थायी पदपूर्तिको कार्यक्रम स्थगित गर्न पत्र पठाएको हो ।

प्रत्यारोपण केन्द्रको नियमावलीले स्वत स्थायी वा आन्तरिक प्रतिस्पर्धामा मार्फत स्थायी पदपूर्ति गर्न मिल्दैन । तर आन्दोलनरत नर्सहरुले लामो समय देखि करारमा राखेर अहिले विचल्ली पार्न पनि मिल्दैन भन्दै आफ्ना तर्कहरु प्रस्तुत गर्दै आईरहेका छन् ।

नर्सहरुको आन्दोलनकै कारण ९६ जना स्टाफ नर्स, १० जना एमबीबीएस डाक्टर सहित विभिन्न पदमा १७० जनाका लागि स्थायी पदपूर्ति गर्न गत १३ बैशाखमा खोलिएको विज्ञापन अहिले अन्योलमा परेको छ ।

केन्द्रको पत्र अनुसार आयोगले विज्ञापन स्थगित गर्ला त ?
केन्द्रका पदाधिकारीहरुसंग विहीबार भएको अनौपचारिक छलफलमा आयोगका पदाधिकारीहरु केही समयका लागि विज्ञापन स्थगित गर्न सकारात्मक देखिएका छन् । तर अहिले स्थगित गर्दा भविस्यमा नजिर बस्न सक्छ भन्दै उनीहरु सशंकित देखिन्छन् ।

‘स्थगित भयो भने पनि अनिश्चित कालका लागि होइन निश्चित समयका लागि होला,’ आयोगका एक जना अधिकारीले भने, ‘परीक्षाको समय केही समय पछि धकेल्ने अर्थात तयारी समय केही बढी हुने गरी स्थगित होला कि।’

केन्द्रका निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले विज्ञापन स्थगित गर्ने पत्रको विषयमा आयोगसंग आज विहान १० बजे छलफल हुन लागेको भन्दै निर्णयको बारेमा आफूले केही भन्न नसक्ने बताए । ‘हामीले त अवस्था यस्तो छ भनेर आग्रहका साथ लेखि पठाएका हौँ । निर्णय गर्ने नगर्ने आयोगको अधिकारको कुरा भयो,’ उनले भने ।

यता लोकसेवाको विज्ञापन अनुसार अहिलेसम्म स्टाफ नर्स पदमा मात्रै ११०० भन्दा बढीले दरखास्त हालेका छन् , नर्सिङ अधिकृत पदमा ८२ जना भन्दा बढीको दरखास्त परेको छ । यस्तै चिकित्सक तथा अन्य विभिन्न पदमा गरी करीब २ हजारको दरखास्त परेको छ । अहिले परीक्षा स्थगित हुँदा उनीहरुले के गर्लान भन्नेमा समेत अधिकारीहरु चिन्तित देखिन्छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *