‘राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार’ का लागि आवेदन आह्वान

काठमाडौं, ५ माघ । राधा क्यान्सर सचेतना फाउण्डेसनले ‘राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार’ का लागि आवेदन आह्वान गरेको छ।
फाउण्डेसनले आइतबार प्रेस विज्ञप्ति जारी गरी यस वर्षको पत्रकारिता पुरस्कारका लागि आवेदन आह्वान गरेको हो। फाउण्डेसनले स्वर्गीय पत्रकार राधा बस्यालको जन्म जयन्तीमा हरेक वर्ष आवेदन परेका पत्रकारमध्ये एक जना पत्रकारलाई पुरस्कार प्रदान गर्दै आइरहेको छ।
आवेदन दिन इच्छुक पत्रकारले गत वर्षको फागुनदेखि यस वर्षको पुस मसान्तसम्म प्रकाशन तथा प्रसारण गरेका क्यान्सर सचेतना र हिंसा विरुद्धको ३ वटा (क्यान्सरसम्बन्धी एउटा सामग्री अनिवार्य) लेख फागुन ४ गतेभित्र फाउण्डेसनमा पठाउनुपर्नेछ।
प्राप्त आवेदनमध्येबाट फाउण्डेसनको पुरस्कार छनोट समितिले पुरस्कृत हुने व्यक्ति छनोट गर्नेछ। पुरस्कृत हुने पत्रकारले २० हजार रुपैयाँको राशी र सम्मान पत्र प्राप्त गर्ने फाउण्डेसनका अध्यक्ष प्रकाश बस्यालले जानकारी दिए।
यस किसिमको पुरस्कारले देशभरका क्रियाशिल पत्रकारलाई क्यान्सरसम्बन्धी चेतना जगाउन र हिंसा विरुद्ध कलम चलाउन प्रेरणा मिल्ने आफुहरुको विश्वास रहेको बस्यालले बताए।
२०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो। एक दशक भन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी राधाले वैवाहिक जीवनपछि व्यक्तिगत रुपमा घरेलु हिंसा र क्यान्सरसँग लड्दै आएकी थिइन्।
समाजमा महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान सन्चालन गर्न राधा क्यान्सर फाउन्डेसनको स्थापना गरेर गाउँ–गाउँमा सचेतना अभियानसमेत चलाएकी थिइन्। राधाको निधनपश्चात फाउन्डेसनलाई उनका भाई बस्यालले निरन्तरता दिइरहेका छन्।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



