कर्णाली प्रदेशमा ‘रक्तचाप मापन महिना’ शुरु गर्दै स्वास्थ्यकर्मी

सुर्खेत, ३० बैशाख ।  मे महिनालाई रक्तचाप मापन महिनाको रुपमा मनाउने अभियान कर्णाली प्रदेशमा समेत शुरु भएको छ । नेपाल जनस्वास्थ्य संघ र नेपाल नर्सिङ संघको संयुक्त आयोजनामा कर्णालीका १० जिल्लामा यो अभियान शुरु गरिएको हो ।

अभियानको शुरुवात आइतबार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलको रक्तचाप मापन गरी शुरु गरिएको थियो । सोही अवसरमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य निर्देशक रिता जोशी, स्वास्थ्य महाशाखा प्रमुख बृषबहादुर शाहीको समेत रक्तचाप मापन गरिएको थियो ।

रक्तचाप मापन पछि बोल्दै मन्त्री रावलले बदलिँदो जीवनशैली तथा व्यवहारका कारण कर्णाली प्रदेशमा समेत नसर्ने रोग लगाएत उच्च रक्तचापको समस्या बढदो क्रममा रहेको बताए । उनले रक्तचाप मापन तथा यस सम्वन्धी चेतनामुलक कार्यक्रम यस प्रदेशका स्थानीय तह, स्वास्थ्य संस्था, शहर, गाँउ, टोल बस्तीका जोखिम पुरयाउनुपर्ने बताए । उनले सो कार्यमा प्रदेश सरकारको प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा नेफा कर्णाली प्रदेशका अध्यक्ष चेतनिधि वाग्लेले आफ्नो संस्था सहित जिल्ला स्वास्थ्य कार्यालय, नेपाल नर्सिङ संघ, हेल्थ अस्सिटेन्ट संघ लगायतका संस्थाहरुको संयुक्त आयोजनामा प्रदेशको १० वटै जिल्लामा मे महिनाभर रक्तचाप मापन कार्यक्रम गरिने बताए ।

उनले सो अभियानमा रक्तचापबारेको जनचेतनामुलक कार्यक्रम संगसंगै अघि बढाउने समेत जानकारी दिए ।

इन्टरनेशनल सोसाइटी अफ हाइपरटेन्सनको नेतृत्वमा विश्वका १०० बढी राष्ट्रले मे महिनालाई रक्तचाप मापन महिनाको रुपमा मनाउने अभियान चलाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *