स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको पाँचौ शिखर सम्मेलन समापन

काठमाडौँ, २९ चैत ।  उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य नीतिका लागि अनुसन्धान जरुरी रहेको बताएका छन् । उनले अनुसन्धानबीना नीति बनाउदा त्रुटि हुनसक्ने भन्दै राज्यले अनुसन्धानलाई प्राथमिकतामा राखेको दावी गरेका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको आयोजनामा राजधानीमा भएको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको तीनदिने पाँचौँ शिखर–सम्मेलनको आज समापन गर्दै मन्त्री यादवले विकासका लागि स्वास्थ्य र शिक्षा नै मुल आधार रहेको बताए ।

परिषद्का कार्यकारी अध्यक्ष डा. अञ्जनीकुमार झाले मुख्य नारामा आधारित स्वस्थ्यबीमा नसर्ने रोग, मातृस्वास्थ्य, बालस्वास्थ्य, किशोर–किशोरी स्वास्थ्य मानसिक स्वास्थ्यलगायत थुप्रै विधा र विषयमा महत्वपूर्ण प्रस्तुतीकरण भएको बताए ।

उनले शिखर सम्मेलनबाट स्वास्थ्य क्षेत्रमा अनुसन्धान गर्ने सस्कृतिको विकास भएको धारणा व्यक्त गरे । उनले सम्मेलनले दिएका निष्कर्षलाई लिपिबद्ध गरेर ६ साता भित्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाउने समेत जानकारी दिए ।

संघीयतामा समता र विकासका लागि अनुसन्धान’ भन्ने मूल नाराका साथ आयोजना भएको शिखर सम्मेलनको समापनमा ६ बुँदे काठमाडौँ घोषणापत्रसमेत जारी गरिएको छ ।

सम्मेलनमा १ हजार ३ सयभन्दा बढी वैज्ञानिक एवम् सरोकारवाला प्रतिनिधिले एकै ठाउँमा भेला भएर १ सय ३७ वटा जनस्वास्थ्यसँग सम्बन्धित विषयमा छलफल गरेका थिए । कार्यक्रममा ३३ वटा मौखिक प्रस्तुतीकरण, १ सय ४ वटा पोस्टर, १० वटा विशेष प्रस्तुतीकरण भएका थिए ।

समापन कार्यक्रममा पूर्वस्वास्थ्यराज्यमन्त्री वंशीधर मिश्र, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले स्वास्थ्य क्षेत्रमा अनुसन्धानको महत्व दर्शाएका थिए ।

बेस्ट पेपर अवार्ड पाए डा. ओममूर्तिले, लाइफ टाइम एचिभमेन्ट अवार्ड प्राडा शिवकुमार राईलाई

यसैबीच शिखर सम्मेलनका अवसरमा स्वास्थ्य अनुसन्धानमा आधारित कार्यमा उत्कृष्ठ भएका विभिन्न मा व्यक्तिलाई सम्मान गरिएको छ । सो क्रममा यसबर्षको जर्नल अफ एनएचआरसी वेस्ट पेपर अवार्डबाट मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल सम्मानित भएका छन् । परिषद्को जर्नल जेएएचआरसीमा सन् २०१८ मा प्रकाशित लेखमध्ये डा. ओममूर्तिको लेख उत्कृष्ठ भएको हो ।

त्यसैगरी, परिषद्ले यस वर्षदेखि सुरु गरेको हेल्थ रिसर्च लाइफटाइम अवार्डबाट यसबर्ष प्राडा शिवकुमार राई सम्मानित भएका छन् । उनका विभिन्न जर्नलमा १७९ वटा अनुसन्धानपत्र प्रकाशित भएका छन् भने २५ वटा किताव प्रकाशित भएका छन् ।

त्यसैगरी आउटस्ट्यान्डिङ हेल्थ रिसर्च अवार्डबाट डा. शमसुल अन्सारी, मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट योङ हेल्थ रिसर्च अवार्डबाट बिहंगम विष्ट, बेस्ट इम्प्लोई अवार्ड अफ एनएचआरसीबाट प्रदीप बेल्बासे, पुराना कर्मचारी रामप्रसाद पोखरेल, बेस्ट ओरल प्रिजेन्टेसन अवार्डबाट डा निशा झा र बेस्ट पोस्टर प्रिजेन्टेसन अवार्डबाट पुष्करचन्द्र ठकुरी सम्मानित भएका छन् ।

विभिन्न विधामा अवार्ड जित्न सफल व्यक्तित्वलाई मन्त्री यादवले सम्मान गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *