वासिङ्टनमा २१ बर्षमुनिका व्यक्तिलाई धुम्रपान गर्न निषेध गरिने

सान फ्रान्सिस्को, संयुक्त राज्य अमेरिका, २३ चैत । सुर्तीजन्य दुव्र्यशन घटाउन २१ बर्षमुनिका व्यक्तिलाई धुम्रपान गर्न निषेध गर्ने कानून ल्याउने विधेयकमा अमेरिकी राज्य वासिङ्टनले शुक्रबार हस्ताक्षर गरेको छ।
यससँगै अमेरिकामा १८ बर्ष उमेर समूहभित्रका युवालाई लक्षित गरी लगाइएको रोक २१ बर्ष कायम गर्ने वासिङ्टन नवौँ राज्य भएको गभर्नरको कार्यालयले जनाएको छ ।
नयाँ कानून अनुसार वासिङ्टनमा सुर्तीजन्य पदार्थ खरिद गर्न पाउने न्यूनतम उमेर १८ बाट २१ भएको छ । यो विधेयकलाई वासिङ्टनको सिनेटले गत बुधबार सन् २०२० को जनवरी १ देखि लागु हुनेगरी पास गरेको हो ।
गभर्नर जय इन्स्लीले भने, “हामीले सूर्ती र निकोटिनसँग सम्वद्ध खतरालाई बुझेका छौँ। हामीलाई यो पनि थाहा छ कि हाम्रा बालबालिका दुव्र्यशनमा नफस्दै उनीहरूलाई धुम्रपानको कुलतबाट जोगाउन जति सजिलो छ त्यति धुम्रपान शुरू गरेका युवालाई सही ठाउँमा ल्याउन त्यति नै कठिन पर्छ । अझ उनीहरूलाई धुम्रपानका कारण क्यान्सर तथा अन्य रोग लागेपछि उपचार थप कठिन हुन्छ ।”
गभर्नरले वासिङटनका महान्यायाधिवक्ता बोव फेगुसनको उपस्थितिमा विधायक, स्थानीय स्वास्थ्य अधिकारी तथा दजर्नौँ विद्यार्थीको रोहबरमा वासिङ्टनको सवैभन्दा ठूलो शहर सिटलस्थित फ्रेड हचिन्सन क्यान्सर रिसर्च सेन्टरमा उक्त कानूनलाई वैधताका लागि हस्ताक्षर गरेका हुन् ।
धुम्रपान कानून सुधार विधेयकको कडा पक्षधर फेगुसनले भने, “पछिल्लो धुम्रपानबारेको कानूनले हजारौँ वासिङ्टनवासीलाई धुम्रपानका कारण अकालमा हुने मृत्यु तथा रोगबाट जोगाउनेछ ।”
यस प्रकारको कानूनको घोषणा गर्ने पहिलो अमेरिकी राज्य हवाइ हो भने यो कानून क्यालिफोर्निया, मेएन, म्यासाचुसेट, न्यू जर्सी, उताह, भर्जिनिया र ओरगन लगायतका ठाउँहरूमा लागू गरिएको छ । रासस/सिन्ह्वा
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




