प्रधानमन्त्रीको आश्वासनपछि गोदानको आन्दोलन स्थगित
काठमाडौँ, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको आश्वासन पछि सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले समायोजन प्रक्रिया विरुद्ध जारी आन्दोलन स्थगित गरेको छ ।
सरकारी चिकित्सकले उठाउँदै आएको मागको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले शनिबार गोदान प्रतिनिधिलाई बालुवाटारमै बोलाएका थिए । सो छलफलमा पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत उच्च अधिकारीहरुको सहभागिता थियो ।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले गोदानको माग जायज भएको र विद्यमान व्यवस्था संसोधनका लागि आफूहरुले पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।
‘देशका सबोच्च कार्यकारीले नै प्रतिवद्धता पछि हामीले हाललाई आन्दोलन स्थगित गरेका छौँ,’ गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डे र महासचिव डा रविन खडकाद्धारा शनिबार अवेर जारी विज्ञप्तीमा जनाइएको छ ।
समायोजन प्रक्रियामा सरकारी चिकित्सकलाई संघ अन्तरगर्त राख्नुपर्ने माग राख्दै आन्दोलनरत चिकित्सकले पछिल्लो समय आकस्मिक बाहेकका सेवा बहिस्कार गर्नेसम्मका कार्यक्रम अघि सारेका थिए ।
शनिबार बालुवाटारमा छलफल पछि गोदानले यसरी विज्ञप्ती जारी गरेको थियो ।
यस संघले विभिन्न चरमबद्ध आन्दोलन मार्फत उठाउदै आएका मागहरूलाई सम्बोधन गर्न आज मिति २०७५ साल फाल्गुन महिनाको १८ गतेका दिन सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा वलीज्यूको अग्रसरतामा यस संघका अध्यक्ष सहितका प्रतिनिधिहरूलाई छलफल तथा औपचारिक वार्ताका लागि डाकिएको बैठकमा सम्माननीय प्रधानमन्त्रीज्यू, भूतपूर्व प्रधानमन्त्री तथा ने।क।पा। अध्यक्ष माननीय श्री पुष्पकमल दहाल ‘प्रचण्ड’ लगायतका उच्च अधिकारीहरूको उपस्थितिमा गहन छलफल एवं वार्ता सम्पन्न भयो ।
सो छलफल तथा वार्तामा स्वयम् सम्माननीय प्रधानमन्त्रीज्यू तथा उपस्थित उच्च अधिकारीहरूले यस संघका मागहरू जायज रहेको र आफूहरू चिकित्सकका समायोजन लगायतका अन्य माग पूरा गर्न संघीय निजामति विधेयकमा माननीय सांसदहरूले पेश गर्नुभएको यस संघका माग अनुकुलको आबस्यक संशोधन लगायतका अन्य आबस्यक पहलकदमीका लागि प्रतिबद्ध रहेको भन्ने स्पष्टोक्ति व्यक्त गर्नुभयो ।
यसरी राज्यको सर्वोच्च कार्यकारी प्रमुख लगायतका उच्च नेतृत्वबाट आएको ठोस प्रतिबद्धता कार्यान्वयन हुने विश्वासका साथ र आम नागरिकको स्वास्थ्यलाई समेत ध्यानमा राखी आजको यस संघको केन्द्रीय समितिको आकस्मिक बैठकबाट पूर्वघोषित “अनिश्चितकालीन स्वास्थ्य सेवा बहिष्कार” को कार्यक्रम अर्को निर्णय नहुँदा सम्मका लागि स्थगन गर्ने निर्णय भएको छ ।
तर, यस संघका मागहरू पुरा गर्ने बारेको राजनितिक, कानुनी तथा संसदीय प्रक्रिया,पहल र प्रगति बारे भने यो संघको सजग(दृष्टी रहिरहने छ र सरकारी चिकित्सकहरूको भावना र माग विपरित हुन गए यो संघ पुनः कडा रूपमा आन्दोलित हुन बाध्य हुनेछ । यस संघलाई साथ र सहयोग प्रदान गर्नुहुने सम्पूर्णमा धन्यवाद ।
डा. रविन खड्का – महासचिब डा. दिपेन्द्र पाण्डे – अध्यक्ष
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

