गण्डकी मेडिकल कलेजका विद्यार्थी आन्दोलित

 

कास्की, २८ माघ । यहाँस्थित गण्डकी मेडिकल कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । तोकिएभन्दा बढी शुल्क लिएको भन्दै माघ १७ देखि कक्षाकोठा, कलेज प्रशासन र अस्पतालको बहिरङ्ग विभागमा तालाबन्दी गरेका विद्यार्थीले आइतबारदेखि मेडिकल कलेज परिसरमा रिले अनशन जारी छ ।

बिहान १० देखि साँझ ८ बजेसम्म विद्यार्थी अनशनमा बसेका छन् । आज विद्यार्थीले अस्पतालको बिल काउन्टरमा समेत तालाबन्दी गरे । अतिरिक्त शुल्क फिर्ता हुनुपर्ने, सरकारले तोकेको शुल्कमा पढ्न पाउनुपर्ने र विद्यार्थीले तिरेको रकमको बिल, भौचर र रसिद उपलब्ध गराउनुपर्ने माग विद्यार्थीको छ ।

काठमाडौँ उपत्यकाबाहिर एमबिबिएस पढ्ने विद्यार्थीले रु ४२ लाख ४५ हजार शुल्क तिर्नुपर्ने सरकारी नियम रहे पनि विद्यार्थीले रु ५५ लाखभन्दा बढी शुल्क तिर्नु परेको विद्यार्थी सुमित घिमिरेले बताए ।

सन् २०१५ देखियताको ब्याचका विद्यार्थीले कलेजबाट बढी शुल्क उठाइएको बताउँदै आन्दोलन गरेको उनले बताए । “सन् २०१५ देखियताका एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ र बिएन लगायतका सम्पूर्ण विद्यार्थी आन्दोलनमा छौँ,” घिमिरेले भने ।

कलेज प्रशासनले भने सरकारले तोकेको शुल्क नै लिँदै आएको जिकिर गरेको छ । हरेक वर्ष शुल्क तयार हुने भएकाले ३ वर्षअघिको शुल्क अहिले लागू नहुने र कानूनअनुसार नै शुल्क लिएको जिकिर कलेज प्रशासनको छ । विद्यार्थीको आन्दोलनलाई अनेरास्ववियु, विवेकशील साझा पार्टी लगायतले पनि समर्थन गरेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *