मुटुरोगबारे जनचेतना जगाउँन नर्भिक अस्पतालद्धारा प्रभातफेरी

काठमाडौँ, १२ असोज । विश्व मुटु दिवसको सन्दर्भ पारी नर्भिक अस्पतालले आज विहान जनचेतनामुलक र्‍याली आयोजना गरेको छ । विहान ७ बजे अस्पताल परिसरबाट शुरु भएको र्‍याली बबरमहल, अनामनगर, थापागाँउ मध्य बानेश्वर, महादेवस्थानसम्म पुगी फर्केको थियो ।

र्‍यालीमा अस्पतालका मुटुरोग विभागीय प्रमुख प्राडा यादवदेव भट्ट सहित अन्य चिकित्सक स्वास्थ्यकर्मी र कर्मचारीहरु सहभागी थिए । त्यसैगरी मुटुरोग उपचार गराई नयाँ जीवन प्राप्त गरेका व्यक्तिहरुको समेत उपस्थिति थियो ।

विश्व मुटु महासंघको आह्वानमा सन् २००० को सेप्टेम्बर अन्त्यदेखि मनाउन थालिएको विश्व मुटु दिवस यस वर्ष सेप्टेम्बर २९ तारीखका दिन विश्वमुटु महासंघका विश्वभरका १५० भन्दा बढी सदस्य राष्ट्रहरूमा मनाइदैछ ।

विश्व मुटु महासंघको सन् २००५ को तथ्याङ्कअनुसार विश्वभर हरेक वर्ष १ करोड ७५ लाख भन्दा बढी मानिसहरूले रक्तनली, पक्षाघात तथा मुटुजन्य रोगका कारण ज्यान गुमाइरहेका छन् । हाल उक्त संख्या बढेर झण्डै २ करोड पुग्न लागेको अनुमान छ ।

तसर्थ मुटुरोगलाई संसारकै एक नम्बरको ज्यानमारा मानिन्छ । अर्कोतर्फ मुटुजन्य रोग लागी त्यसले ज्यान नलिए पनि अङ्गभङ्ग हुने लगायतका अन्य जटिलताहरू समेत निम्त्याउने गर्दछ । हाल विश्वमै मानव मृत्युको प्रमुख कारण हुँदै त्यसले सिर्जना गर्ने सामाजिक र आर्थिक बोझमा पनि मुटुजन्य रोगजस्ता नसर्ने रोगको हिस्सा एक नम्बरमै रहेको छ । त्यसखाले विकराल समस्याबाट जोगिने भनेकै मानिसहरूलाई रोग लाग्नबाट कसरी बचाउने भन्ने हो । यसमा जनचेतनाको अत्यन्तै ठूलो भूमिका रहन्छ ।

विश्व मुटु दिवसका अवसरमा संसारभर नै वृहत् मुटु परीक्षण शिविरहरू, वैज्ञानिक एवम् चिकित्सकीय गोष्ठी तथा कार्याशालाहरू एवम् जनचेतनाको अभिवृद्धि गराउने खालका प्रबचनलगायत प्रभातफेरि जस्ता कार्यक्रमहरू गरिन्छन् ।

नर्भिकले पनि शनिबार (भोलि) विहान ८ देखि १० बजेसम्म मुटुरोग र यसका जटिलता रोकथामका उपायबारे विरामी पक्ष र सर्वसाधारणलाई विशेष प्रशिक्षण दिने बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *