स्क्रब टाइफसको सङ्क्रमण

चितवन, ७ भदौ । गएको साउन महिनामा जिल्लामा ८२ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ४३१ जना बिरामीको नमूना परीक्षण गरिएको थियो ।

मुसामा हुने किरा (माइट) को टोकाइबाट यो रोग लाग्ने गर्दछ । गत आव २०७४/७५ मा दुई हजार २३७ जनाको नमूना परीक्षण गर्दा ४१० जनामा स्क्रब टाइफस भेटिएको थियो ।

साउनमा जिल्लामा ५ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार ३४६ जनाको परीक्षण गरिएको थियो । डेङ्गु सङ्क्रमित तीन जना चितवनका हुन् भने दुई जना बाहिरी जिल्लाका रहेका छन् । अघिल्लो आवमा ५९ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको थियो । एक हजार ४८३ जनाको नमूना परीक्षण गरिएकामा सो सङ्ख्यामा डेङ्गु सङ्क्रमण भेटिएको थियो । जसमध्ये ३३ जना चितवनका रहेका थिए । डेङ्गु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जिल्लामा स्वाइनफ्लूका बिरामी भने नरहेको दाबी गरेको छ । कार्यालयका प्रमुख विजयकुमार झाले मौसमी रुघाखोकी देखिएको बताए । मानिसबाट मानिसमा सरेर आएको फ्लूलाई स्वाइन्फ्लू भन्न नमिल्ने उनको भनाइ छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *