स्वास्थ्य सेवा विभागले सञ्चालनमा ल्यायो स्तनपान कक्ष
काठमाडौँ, १६ साउन । स्तनपान गराउनु पर्ने महिला कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गर्दै स्वास्थ्य सेवा विभागले स्तनपान कक्ष सञ्चालनमा ल्याएको छ । विश्व स्तनपान सप्ताहको अवसर पारी विभागले आजबाट स्तनपान कक्ष सञ्चालनमा ल्याएको हो ।
सो कक्षमा अब देखि स्वास्थ्य सेवा विभाग र त्यस वरपर रहेका स्वास्थ्यका निकायमा कार्यरत महिला कर्मचारीहरुले र ती कार्यालयमा गएका सेवाग्राहीले स्तनपान गराउन सक्नेछन् ।
स्तनपान कक्ष महानिर्देशक कार्यकक्ष मुनि रहेको क्यान्टिनको अगाडी पट्टीको कोठालाई गराइएको छ ।
त्यस कक्षमा आमाहरुका लागि आरामदायी सोफा र बच्चाको लागि स्टाण्डवाला झलुंगोको व्यवस्था गरिएको छ ।
दिवसको अवसरमा आयोजित कार्यक्रममा विभागका महानिर्देशक डा गुणराज लोहनीले सो कक्षको उद्घाटन गरे । त्यस लगत्तै एक जना महिला कर्मचारीले आफ्नो बच्चालाई स्तनपान गराएकी थिइन ।
उद्घाटनपछि बोल्दै विभागका महानिर्देशक डा लोहनीले धेरै कर्मचारी र सेवाग्राही चहलपहल हुने अस्पताल तथा स्वास्थ्य संस्थाले अनिवार्य रुपमा स्तनपान कक्षको निर्माण गर्नुपर्ने बताए ।
उनले क्षेत्रीय तथा अञ्चल अस्पताल तथा त्यसभन्दा माथिका सबै खाले अस्पतालहरुमा स्तनपान कक्ष अनिवार्य गराउनुपर्ने बताए । अस्पतालहरुको अनुगमन गर्दा स्तनपान कक्ष हुनुपर्ने पनि एउटा मापदण्ड रहने उनले जनाए ।
सम्पर्क इमेल : [email protected]