दाङ : गर्मीयाममा सर्पदंशबाट पाँचजनाको मृत्यु, प्रभावकारी छैनन् सर्पदंश उपचार केन्द्र

बालाराम खड्का

दाङ, ३ साउन । यस जिल्लामा स्थापना भएका सर्पदंशका उपचार केन्द्र प्रभावकारी छैनन् ।

राप्ती अञ्चल अस्पताल, घोराहीको राप्ती उपक्षेत्रीय अस्पताल र लमहीको लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र छन् । तर ती सर्पदंश उपचार केन्द्र ‘रेफर सेन्टर’को रुपमा मात्रै छन् । गर्मीयामसँगै जिल्लामा सर्पदंशबाट पाँचजनाको ज्यान गइसकेको छ । अस्पतालमा सर्पले टोेकेका बिरामी आएमा उनीहरुलाई सामान्य औषधि दिने र रिफर गरिदिने गरेको बिरामीका आफन्तले गुनासो गरेका छन् । केही बिरामीको बाटोमै मृत्यु भएको छ भने केही बिरामीको अस्पताल पु¥याएपछि मृत्यु हुने गरेको छ ।

जिल्लाका तीनवटै सर्पदंश उपचार केन्द्र नाममात्रैका छन् । उपचार केन्द्र प्रभावकारी नहँुदा सर्पदंशका बिरामीको मृत्यु हुने गरेको छ । तीनवटै स्वास्थ्य संस्थामा भेन्टिलेटर छैन, जसले गर्दा बिरामीलाई औषधि दिने अनि अन्यत्र पठाउनेभन्दा अर्को विकल्प नभएको चिकित्सकले बताउने गरेका छन् । केही समय अघि तुलसीपुर उपमहानगरपालिका–१९ निवासी ९ वर्षीय सुनिल विकको सर्पदंशबाट निधन भयो । राप्ती अञ्चल अस्पतालमा भेन्टिलेटर नहुँदा उनलाई नेपालगञ्ज रेफर गरिएकोमा लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भयो ।

सोमबार र मंगलबार मात्रै सर्पको टोकाइबाट दाङमा दुई जनाको मृत्यु भएको छ । मंगलबार बबई गाउँपालिका–४, हापुरे निवासी २३ वर्षीय देवराज आलेको मृत्यु भएको थियो । सोमबार तुलसीपुर–८, अस्वारा निवासी चार वर्षीय झपेन्द्र विकको निधन भएको थियो । यो वर्ष मात्रै दाङका पाँचजनाको सर्पको टोकाइबाट मृत्यु भइसकेको छ ।

त्यस्तै, तुलसीपुर–१ की एक १८ महिने शिशुलाई घर आँगनमै खेल्ने क्रममा सर्पले टोक्यो । त्यसको केही समयमा अस्पताल पु¥याउँदै गर्दा बाटोमै मृत्यु भयो । सर्पदंश उपचार केन्द्र भएपनि भेन्टिलेटर नहुँदा रेफर गर्नुपर्ने बाध्यता रहेको राप्ती अञ्चल अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा विनोद सिंहले बताए । “हामीसँग औषधि छ, तर भेन्टिलेटर छैन, जसले गर्दा हामीले बिरामी रेफर गर्नुपर्ने बाध्यता छ” उनले भने ।

त्यस्तै, सर्पका बिरामीलाई प्रभावकारी रुपमा उपचार गर्नका लागि भेन्टिलेटर अनिवार्य रहेको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीका डा। जितनारायण यादवले बताए। “अहिले अस्पतालमा आएका सर्पदंशका बिरामीलाई रेफर गर्नुको विकल्प छैन” उनले भने ।

अस्पतालमै प्रभावकारी सेवा प्रदान गर्नका लागि भेन्टिलेटरको व्यवस्था अनिवार्य छ । लमही अस्पतालमा पनि औषधि मात्रै छ । अस्पतालका निमित्त प्रमुख डा विमलेशकुमार गुप्ताका अनुसार औषधि भएर मात्र सर्पदंशका बिरामीको उपचार सम्भव नभएको भन्दै उनले सर्पदंशका बिरामीको सफल उपचारका लागि भेन्टिलेटरको व्यवस्था अनिवार्य रहेको बताए ।

देउखुरी क्षेत्रमा त्यहाँ व्यवसायीको पहलमा सर्पदंशको उपचार केन्द्र स्थापना ल्याउने तयारी गरिहेको छ । देउखुरी उद्योग वाणिज्य संघले सर्पदंश केन्द्र स्थापना गर्ने गरी प्रक्रिया अगाडि बढाएको छ । देउखुरी क्षेत्रमा सर्पदंशका बिरामी धेरै हुने भएकाले सर्पदंशको उपचार केन्द्र स्थापना गर्ने तयारी थालिएको देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले बताए।

लमही अस्पतालको मातहतमा रहने गरी केन्द्र सञ्चालनको तयारी गरिएको छ । उक्त केन्द्रका लागि करीब रु २०÷२५ लाख रकम लाग्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । वर्षेनी दाङमा सर्पको टोकाइबाट मानिसको मृत्यु भएपनि त्यसको तथ्यांक कुनै पनि निकायमा छैन । विश्वभर करीब तीन हजार ४०० प्रकारका सर्प पाइन्छन् । नेपालमा भने पहाडदेखि तराईसम्म ९० प्रकारका सर्प छन् ।

तर ती सबै सर्प विषालु हँुदैनन् । केही सर्पमात्र मानवलाई असर गर्ने विष भएका हुन्छन् । करीब १७ प्रजातिका अति विष भएका सर्प छन् । गर्मीयामको शुरुवातबाटै सर्प भू–सतहमा आउँछन् । त्यसैले, सर्पको टोकाइबाट प्रभावित हुने र ज्यानको जोखिम हुने सम्भावना हुन्छ ।

जिल्लामा करेत र गोमन सर्पको दंशबाट धेरै व्यक्तिको ज्यान जाने गरेको छ । यी सर्पको विष साह्रै विषालु हुने र मानव शरीरलाई असर पु¥याउने किसिमका हुन्छन् । यी सर्पको विषको कारणले शरीरमा पक्षाघात हुने गर्छ । श्वासप्रश्वासमा पक्षाघात भई सास फेर्न नसकेर बिरामीको मृत्यु हुने चिकित्सकको भनाइ छ ।
रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *