मेडिसिटी अस्पताल भन्छ, ‘डा. गोविन्द केसीको उपचार हामी गर्न चाहन्छौँ’

काठमाडौँ, २२ असार । जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य प्रति चिन्ता व्यक्त गरिरहेका बेला नेपाल मेडिसिटी अस्पतालले उपचार नै गरिदिने प्रस्ताव अघि सारेको छ । उसले जुम्लाबाट अनशनरत डा. केसीलाई आफ्नै खर्चमा एयर लिफ्टिङ्ग मार्फत मेडिसिटी ल्याउने समेत जनाएको छ ।

नेपाल चिकित्सक संघले डा. केसीको अनशन र उनको स्वास्थ्यको बारेमा गरेको सरोकारवाला बीचको छलफलमा मेडिसिटि अस्पतालका मेडिकल डाइरेक्टर डा. सुनिल शर्माले भने, ‘उहाँको स्वास्थ्य प्रति हामी सबै चिन्तित छौँ । त्यसैले उहाँको सुविधासम्पन्न अस्पतालमा उपचार हुनु जरुरी छ । उहाँले मान्नुहुन्छ भने हामी डा. केसीलाई मेडिसिटिमै उपचार गर्न तयार छौँ । बरु एयर लिफ्टिङ्ग समेत हामी आफै गर्छौँ ।’

मेडिकल डाइरेक्टर डा. शर्माले चिकित्सा शिक्षा सुधारका लागि डा केसीका कतिपय मागहरु जायज भएपनि कतिपय मागहरु सान्दर्भिक नभएको बताए । उनले भने, ‘अहिले डा केसीको मुद्धाको विषयमा भन्दा पनि उहाँको स्वास्थ्यको बारेमा गम्भीर हुन जरुरी छ । त्यसैले उहाँलाई सुविधासम्पन्न अस्पतालमा ल्याएर उपचार गर्नु जरुरी छ ।’

कार्यक्रममा नेशनल रेजिडेन्ट डाक्टर एसोसियशनका अध्यक्ष डा. सुमित पाण्डेले डा केसीको अनशन लम्विदै जाँदा एनआरडीए उहाँको साथमा सरिक हुन बाध्य हुने बताए । यसअघि हामीले छात्रबृत्तिका चिकित्सा व्यवस्थापन तथा परिचालन कार्यविधिका बारेमा आन्दोलन गरयौँ । त्यस लगत्तै सर अनशन बस्नु भयो । हामीले अहिलेसम्म माग पुरा हुन्छन् कि भन्ने सोचेका थियौँ । अब भने हामी चुप लागेर बस्दैनौँ । अघिल्ला अनशनमा जस्तै हाम्रो साथ सर (डा केसी)लाई हुनेछ।’ उनले आफूहरु एनएमएको अगुवाईमा आन्दोलन होस भन्ने चाहेको समेत स्पष्ट पारे ।

कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका सदस्य डा. कृष्ण अधिकारीले डा. केसीका कतिपय माग जायज र कतिपय माग असान्दर्भिक रहेको भन्दै जायज मागका विषयमा बार्ता गर्न ढिलो नगर्न आग्रह गरे । उनले त्यसको नेतृत्व एनएमएले लिनुपर्ने सुझाव दिए ।

कार्यक्रममा अन्य चिकित्सक तथा प्राध्यापकहरुले आफ्नो धारणा राखेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *