स्थानीय तहका सरोकारवाला भन्छन्, ‘स्वास्थ्यमा हानी गर्ने सूर्ति उद्योग नै बन्द गरिदिए हुँदैन् ?’

काठमाडौँ, ११ असार । बार्षिक २५ हजार बढी नेपालीको ज्यान लैजाने सूर्तिजन्य पदार्थको प्रयोगमा नियन्त्रण गर्न ल्याइएको कानूनका कतिपय बुँदा कार्यान्वनय नभईरहेका बेला स्थानीय तहका सरोकारवालाहरुले भने उद्योग नै बन्द गर्न सरकारलाई सुझाव दिएका छन् ।

उनीहरुले राज्यलाई पर्ने आर्थिक भारबाट जोगाउन, स्वस्थ समाज निर्माण गर्नका लागि यसको प्रयोगलाई पूर्ण रुपमा निषेध गरे राम्रो हुने तर्क दिएका छन् ।

‘सूर्तिजन्य पदार्थ नियमन तथा नियन्त्रण सम्वन्धी कानून’बारे सञ्जीवनी हेल्थ मिडियाले आज टोखा सरस्वती नगरपालिका वडा नं ७ धापासीमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै वडा अध्यक्ष नरोत्तम रानाले मानव स्वास्थ्यमा प्रत्यक्ष हानी हुने सूर्तिजन्य पदार्थको प्रयोगलाई पूर्ण रुपमा निषेध गर्नुपर्ने बताए ।

उनले प्रयोगमा नियन्त्रण गर्नुपर्छ भन्ने तर उत्पादनमा लगाम नलगाउने गर्दा सरकारको द्धैद व्यवस्था जस्तो देखिएको भन्दै उत्तम विकल्प उत्पादनमै बन्द गर्नु बन्द गर्नुपर्नेमा जोड दिए ।

‘छिमेकी देश भुटानमा बन्द छ । भारतका पनि कतिपय देशमा यसको उत्पादन तथा प्रयोगलाई बन्द गरिएका खबर सुनिएको छ । हामीले त्यसो गर्न सकिदैन ?,’ प्रतिप्रश्न गर्दै उनले भने ।

उनले सूर्तिजन्य पदार्थबाट उठने कर भन्दा बढी यसको प्रयोगबाट हुने रोगका उपचारमा खर्च बढी लाग्ने भएपछि कुनै कोणबाट पनि यसको प्रयोग ठीक नभएको औल्याए । उनले सरकारले सूर्ति नियन्त्रण गर्न उत्कृष्ठ कानून बनाए पनि त्यसको चेतना स्थानीय तहसम्म नपुगेको बताए । ‘हामी जनप्रतिनिधि त अनभीग्य रहेछौँ । अरु सर्वसाधारणलाई के थाहा ? त्यसैले अब सूर्ति नियन्त्रण सम्वन्धी कानूनबारे व्यापक जनचेतना फैलाउनुपर्छ ,’ उनले भने .

वडा नं ७ का सदस्य सानुराजा बस्नेतले सूर्तिजन्य पदार्थको नियन्त्रण गर्न घर घरबाट अभियान थाल्नुपर्ने बताए । उनले भने, ‘मैले सूर्तिजन्य पदार्थ प्रयोग गरेको छैन, मेरा परिवारमा कसैले पनि गरेको छैन । गर्न हुन्न भने सबै सचेत छन् । यस्तै सचेत अरु पनि हुनुपरयो ।,’  स्कूलका शिक्षक, अस्पतालका डाक्टर, राजनीतिक नेता सबैले यी कुरालाई मनन गरेर छाड्ने हो भने नयाँ पुस्ता यसको प्रयोगमा नआउने वा आएपनि निकै कम हुने उनको तर्क थियो ।

वडा सचिव दीपककुमार धिताललले विद्यालय तथा कार्यालय भित्र सूर्तिजन्य पदार्थको प्रयोग निषेध गरिएपनि १०० मिटर वरपरको भाग सूर्ति निषेधित क्षेत्र हो भन्ने कुरा अझै पनि धेरैको ध्यान नगएको बताए । उनले कानून बनेपनि त्यसको समूचित प्रयोगका लागि जनचेतना अझै नपुगेको बताए । उनले अव स्थानीय जनप्रतिनिधि र स्थानीय सरकारले यो अभियान सुरु गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा बोल्दै धापासी स्वास्थ्य चौकी इन्चार्ज बिन्दु शर्माले कानूनको कार्यान्वनय गर्न सके र प्रयोग दर घटे नसर्ने रोगको विगविगी कम हुनसक्ने औल्याइन । उनले सूर्ति नियन्त्रण सम्वन्धी कानून राम्रो बनेपनि कार्यान्वनय फितलो भएको अनुभव सुनाइन । यद्धपी स्वास्थ्यकर्मीको नाताले आउने विरामी तथा तिनका सदस्यहरुलाई सूर्तिजन्य पदार्थको प्रयोगले हुने हानीबारे सचेत गराई रहेको दावी गरिन् ।

कार्यक्रममा स्थानीय, सानुराजा बस्नेत, सविन श्रेष्ठ, जयराम न्यौपाने, मुकुन्द भण्डारी, सविना खनाल लगायतले सूर्तिनियन्त्रण सम्वन्धी कानून र यसको कार्यान्वनय अवस्थाबारे आ आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा नेपाली हेल्थका रामप्रसाद न्यौपानेले सूर्ति नियन्त्रण सम्वन्धी कानूनबारे आफ्नो प्रस्तुति राखेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *