स्वास्थ्य मन्त्रालयको निर्देशन सूर्य टोवाकोद्धारा फेरी अटेरी
काठमाडौँ, ८ असार । नेपालको प्रमुख चुरोट उत्पादक कम्पनी सूर्य नेपाल प्रालिले सूर्ति नियन्त्रण सम्वन्धी कानूनको पालना गर्न स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो निर्देशनको पुन: अटेरी गरेको छ । उसले मन्त्रालयको निर्देशन तत्थ्य परक नभएको भन्दै उल्टै फिर्ता लिन आग्रह गरेको छ ।
सूर्तिजन्य पदार्थको प्याकेटको बाहिरी कुलभागमा ९० प्रतिशत चेतावनीमुलक चित्र छाप्नुपर्ने साढे तीन बर्ष अघि ल्याइएको कानूनी व्यवस्थाको निरन्तर उल्लंघन गर्दै आएपछि पछिल्लो पटक स्वास्थ्य मन्त्रालयले सूर्य नेपाललाई एक महिनाको म्याद दिएर पत्र काटेको थियो ।
गत २५ बैशाखमा काटिएको पत्रमा सूर्तिजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चित्र छाप्ने व्यवस्था कार्यान्वयन गरी त्यसको जानकारी एक महिना भित्र मन्त्रालयलाई गराउन भनिएको थियो ।
तोकिएको म्याद भन्दा तीन दिन ढिलागरी मन्त्रालयलाई लेखिएको पत्रमा बजार अनुगमनको रिपोर्ट र सञ्चारमाध्यममा आएका समाचार तथ्यसंगत नभएको दावी गरिएको छ । यसअघि मन्त्रालयले बजार अनुगमन र सञ्चारमाध्यममा आएका समाचारबाट ९० प्रतिशत चित्र छाप्ने व्यवस्था कार्यान्वनय नभएको बुझिन आएको भन्दै सूर्यलाई पत्र काटेको थियो ।
सूर्यले यसपटक पनि सूर्ति सम्वन्धी नियम कानून बनाउँदा आफूलाई समावेश गर्नुपर्ने र सर्बोच्चमा विचाराधिन मुद्धा रहेको भन्ने ‘काइते तर्क’ पेश गरेको छ ।
सूर्यको पत्रपछि फेरी सेलायो मन्त्रालय
बार्षिक २५ हजार नेपालीको ज्यान लैजाने सूर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न सरकारले २०६८ सालमा सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, निर्देशिका ल्याएको थियो । सूर्यले त्यतिवेला पनि सो २६ महिनासम्म अटेरी गरी रहयो ।
सरकारले २०६८ सालको निर्देशिका संसोधन गरी २०७१ सालमा सूर्तिजन्य पदार्थको बट्टा प्याकेट रयापर्स पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमुलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०७१ ल्यायो ।
यो निर्देशिकाले सूर्तिजन्य पदार्थको प्याकेटको कुल मध्ये ९० प्रतिशत भागमा चेतावनीमुलक चित्र छाप्नुपर्ने व्यवस्था गरेको थियो । सूर्यले अहिले यहि व्यवस्थाको अटेरी गरेको हो ।
सूर्यले गत २८ जेठमा पत्र पठाएपछि स्वास्थ्य मन्त्रालय अहिले फेरी अलमलमा परेको छ । सूर्य टोवाकोले उल्लेख गरेका तर्कहरु कानूनी रुपमै अबैध छन् भनेर दह्रोसंग तर्क गर्न सकेको छैन् ।स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिव, प्रवक्ता, कानून अधिकृतहरु आफूले बनाएको नीतिको बचाउँमा लागेको देखिदैन ।
७ जना मन्त्री फेरिए सूर्य टोवाकोले चित्र फेरेन
सूर्तिजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनीमुलक चित्रले छोप्नु पर्ने व्यवस्था ल्याउँदा स्वास्थ्य मन्त्री थिए खगराज अधिकारी । त्यसयता उनीसंगै अरु ७ जना मन्त्री फेरिए । तर सूर्य टोवाकोले उत्पादन गरेका कुनैपनि बस्तुमा राखिएको चित्रको भाग फेरिएन ।
यो कानून ल्याएयता स्वास्थ्यमा खगराज अधिकारी, रामजनम चौधरी, गगन थापा, गिरीराजमणी पोखरेल, दीपक बोहरा, पद्मा अर्याल र उपेन्द्र महतो गरी ७ जनाले मन्त्रालयको नेतृत्व सम्हालिसकेका छन् । तर कार्यान्वनयमा आएको छैन् ।
सूर्ति नियन्त्रण अभियानमा तत्कालिन स्वास्थ्य मन्त्री खगराज अधिकारी निकै सक्रिय देखिन्थे । त्यसपछि संक्रिय हुन थालेकी थिइन बर्तमान राज्यमन्त्री अर्याल । तर उनले पछिल्लो कदम चालेको केही सातामै मन्त्रीको रुपमा उपेन्द्र यादव आए र उनको सक्रियतामा ब्रेक लाग्यो ।
आशा गरिएका तत्कालिन मन्त्रीद्धय गगन थापा र गिरिराजमणि पोखरेलले सूर्ति नियन्त्रण सम्वन्धी कानून कार्यान्वनयमा कुनै प्रयास गरेको देखिएन् । तत्कालिन मन्त्री रामजनम चौधरीले त उद्योगीको पक्षमा लागेर बनिसकेको कानून संसोधन गरी मापदण्ड हटाउने योजनामा सक्रिय देखिए । यसर्थ मन्त्री पिच्छे सूर्ति नियन्त्रण सम्वन्धी कानूनको विषयले चर्चा पाउने र सेलाउने गरेको देखिन्छ ।
गत बैशाखको तेस्रो साता मन्त्रालयको नेतृत्वमा रहेकी स्वास्थ्य राज्यमन्त्री पदमा अर्यालले सूर्यलाई पत्र त काटिन तर उसले जवाफ नपठाँउदै मन्त्रालयमा उनको जिम्मेवारी खोसियो ।
अहिले मन्त्रालयको जिम्मेवारी उपप्रधान समेत जिम्मेवारी लिएका उपेन्द्र यादवले सम्हालेका छन् ।
भूमिका विहीन जस्तै बनेकी राज्यमन्त्री अहिले सूर्ति नियन्त्रण सम्वन्धी अभियानमा समेत सेलाएकी छन् । मन्त्री यादवले भने आफू नयाँ भएको भन्दै पन्छिने गरेका छन् ।
प्रवक्ता भन्छन्- मलाई जानकारी नै छैन, १० दिन भयो विभागमा पत्र नै पुगेन
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले सूर्यको पत्रबारे आफूलाई जानकारी नै नभएको बताउँछन् । ‘पत्रबारे मलाई त केही थाह नै छैन । पछि बुझेर भनम्ला,’ उनले भने ।
सूर्ति नियन्त्रण सम्वन्धी सम्पर्क विन्दुको रुपमा रहेको स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमा अहिलेसम्म पत्र पुगेको छैन । ‘सूर्यले पत्र पठाएको भन्ने अनौपचारिक जानकारी त आएको छ तर औपचारिक रुपमा छैन,’ केन्द्रकी प्रमुख स्वास्थ्य शिक्षा प्रशासक राधिका थपलियाले भनिन् ।