चौथो अन्तर्राष्ट्रिय योग दिवस बिहीबार मनाइने

 

काठमाडौँ, ६ असार । चौथो अन्तर्राष्ट्रिय योग दिवस मुलुकभर योग र आयुर्वेदसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरी बिहीबार मनाइने भएको छ ।

पतञ्जलि योगपीठ नेपालको आयोजनामा यही असार ७ गते बिहान ६ बजेदेखि ८ बजेसम्म काठमाडौंँसहित सबै जिल्लामा एकसाथ योग शिविर सञ्चालन हुने यहाँ आज आयोजित पत्रकार सम्मेलनमा योगपीठका ट्रष्टी शालिग्राम सिंहले जानकारी दिए।

नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले नेपालमा चौथो अन्तराष्ट्रिय योग दिवसको शुभारम्भ समुद्र सतहदेखि १२ हजार ५०० फिटको उचाइमा अवस्थित मुस्ताङको मुक्तिनाथ मन्दिरको प्राङ्गणबाट गरिएको र यसले सम्पूर्ण मानवजातिलाई मुक्तिको मार्गमा जान प्रेरित गर्ने बताए ।

पतञ्जलि योग समिति नेपालका प्रमुख लवदेव मिश्र र योग दिवस आयोजक समितिका संयोजक ज्ञानेन्द्रविक्रम महतले पूर्वीय दर्शनको एउटा महत्वपूर्ण उपहारका रूपमा योगलाई विश्वसामू परिचित गराउनु आवश्यक रहेको धारणा राखे ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा सबै जिल्लामा पतञ्जलि योग समिति नेपालका जिल्लास्तरीय समितिमार्फत विद्यालय र समुदायलाई लक्ष्य गरी असार १ गतेदेखि साताव्यापी रूपमा योग र प्राणायामका चेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको योगपीठले जनाएको छ । संयुक्त राष्ट्र संघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो ।

अन्तर्राष्ट्रिय योग दिवस मनाउने सन्दर्भमा सन् २०१४ मा राष्ट्र संघको महासभामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभएको प्रस्ताव र नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गर्नुभएको समर्थनलाई विश्वका १ १७० भन्दा बढी देशले समर्थन गरिसकेका छन् । रासस


Leave a Reply

Your email address will not be published.