ट्रकोमा निवारण गर्ने नेपाल दक्षिण पूर्वी एसियामै पहिलो

काठमाडौँ, २९ जेठ । नेपाल अन्धोपनको दोस्रो प्रमुख कारक मानिने ट्रकोमा निवारण गर्ने दक्षिण पूर्वी एसियामै पहिलो राष्ट्र बनेको छ । विश्व स्वास्थ्य संगठनले गत ११ बैशाखका दिन नेपाललाई ट्रकोमा निवारण भएको प्रमाणपत्र उपलव्ध गराएको थियो । त्यतिवेला विश्व स्वास्थ्य संगठनको ७१ औँ महासभामा भाग लिन जेनेभा पुगेकी स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सो प्रमाणपत्र लिएकी थिइन ।

त्यसअघि नेपाल नेत्रज्योति संघले डव्लुएचओको मापदण्ड अनुसार कार्यक्रम सञ्चालन गरिएका जिल्लाहमा ट्रकोमाको स्थितिको मूल्यांकन गर्ने आवश्यक निगरानी सर्भेक्षण गरेको गरेको थियो । सो सर्भेक्षणबाट ट्रकोमा रोग जनस्वास्थ्य समस्याको रुपमा नरहेको देखिएपछि निवारणको प्रक्रिया अघि बढेको थियो ।

‘नेपालको आँखा स्वास्थ्यमा ९० प्रतिशत उपस्थिति नेपाल नेत्र ज्योति संघको छ,’ स्वास्थ्य पत्रकार मञ्चका पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा संघका अध्यक्ष प्राडा तीर्थप्रसाद मिश्रले भने, यसैले आँखा सम्वन्धी हरेक समस्या र त्यसको समाधानका लागि हाम्रो संघ नै अघि हुन्छ ।’

उनले ट्रकोमा अति प्रभावित क्षेत्रमा कार्यक्रम लैजाने, उपचार गर्ने र जनचेतना फैलाउने नियन्त्रणमा ल्याउने काम संघको अगुवाई भएको बताउँदै त्यसैको प्रतिफल स्वरुप अहिले नेपाल दक्षिण पूर्वी एसियामै ट्रकोमा निवारण गर्ने पहिलो राष्ट्र बन्न सफल भएको दावी गरे । यद्धपी उनले  निवारणको घोषणासंगै चुनौति पनि थपिएको बताए । ‘खुल्ला बोडरको अवस्था छ । गाँउ गाँउमा स्वास्थ्यको पहुँच अझ पुग्न सकेको छैन । त्यसले पनि हामीलाई केही चुनौति त छ नै तै पनि हामी यसलाई निमिट्यान्न पार्ने दिशामा अघि बढीरहेका छौँ,’ प्राडा मिश्रले भने ।

संघका कार्यकारी निर्देशक शैलेशकुमार मिश्रले ट्रकोमा निवारणलाई आँखा क्षेत्रमा महत्वपूर्ण सफलता हो भन्दै यसलाई उन्मुलन गर्ने दिशामा आफूहरु अघि बढीरहेको बताए । संघले देशभर १८ वटा आँखा अस्पताल, ३९ वटा जिल्लामा जिल्ला शाखा, ८० वटा उपचार केन्द्र रहेको भन्दै २ हजार बढी आफ्ना कर्मचारी र १० हजार बढीले स्वयंसेवाको रुपमा काम गरिरहेको जानकारी दिए ।

कार्यक्रममा संघले स्वास्थ्य बीटमा क्रियाशिल पत्रकारहरुको साझा संस्था स्वास्थ्य पत्रकार मञ्चका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा सम्मान कार्यक्रम समेत गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *