चितवन : सिमुलेटर मेसिन बन्द हुँदा क्यान्सरका बिरामी प्रभावित

नारायण अधिकारी

चितवन, २२ जेठ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा रेडियो थेरापी (सेकाई गर्ने) बिरामीको प्लानिङ गर्ने सिमुलेटर मेसिन बिग्रिएपछि क्यान्सका बिरामी प्रभावित भएका छन् ।

क्यान्सरका बिरामीलाई रेडियो थेरापी गर्नुपूर्व प्लानिङ गर्ने उक्त मेसिन बिग्रिएपछि बिरामीले रेडियो थेरापी गर्न पाएका छैनन् । यो उपकरणले सेकाई गर्ने ठाउँको पहिचान गर्ने गर्दछ ।

अस्पतालको रेडियसन अंकोलोजी विभागले जेठ ७ गते सूचना टाँस गरी प्लानिङ गर्ने सिमुलेटर मेसिन पूर्णरुपमा बिग्रेको हुनाले नयाँ मेसिन जडान नहुञ्जेल प्लानिङ सेवा स्थगित गरिएको जनाएको छ ।

मेसिन बिग्रिएसँगै नयाँ आउने क्यान्सरका बिरामीले प्लानिङ गर्न नपाएपछि रेडियो थेरापी पनि गर्न पाएका छैनन् । पन्ध्र दिन अघिदेखि बन्द रहेको प्लानिङ सेवा सञ्चालन गर्न थप १५ दिन समय लाग्ने अस्पतालले जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले अस्पताल स्थापनासँगै ल्याइएको प्लानिङ मेसिन धेरै पुरानो भएकाले नयाँ मेसिन जडान गर्न लागिएको बताए ।

उनका अनुसार नयाँ मेसिन एजेण्टमार्फत् ल्याइँदैछ । उक्त मेसिन वीरगञ्ज भन्सार कार्यालयसम्म आएको आचार्यले जानकारी दिए । उनका अनुसार वीरगञ्जबाट तीन÷चार दिनमा मेसिन अस्पताल आउने र थप १० दिनभित्र जडान गरी मेसिन सञ्चालन गर्न सकिने छ ।

पुरानो मेसिन हटाएर सोही ठाउँमा नयाँ मेसिन जडान गर्नुपर्ने भएकाले केही समयका लागि सेवा बन्द गर्नुपरेको आचार्यको भनाइ छ ।

अस्पतालमा दैनिक २० जनाको हाराहारी नयाँ क्यान्सरका बिरामी आउने गर्दछन् । उनीहरुमध्ये अधिकांशलाई रेडियो थेरापी गर्नुपर्ने हुन्छ । प्लानिङ मेसिन नहुँदा बिरामीले रेडियो थेरापी गर्न पाएका छैनन् ।

अस्पतालका रेडियसन अंकोलोजी विभागका प्रमुख डा सुरेश श्रेष्ठले नयाँ मेसिन जडान नहुन्जेलका लागि बिरामीलाई प्लानिङ गरेर राखेको बताए । उनले भने “नयाँ मेसिन जडान नहुञ्जेल रेडियो थेरापी गर्नका लागि यसअघि आएका सबै बिरामीको प्लानिङ गरेर राखेका छौँ, प्लानिङ भइसकेका बिरामीले नियमित रेडियो थेरापी सेवा पाएका छन् ।”

विसं २०५७ सालमा अस्पतालको औपचारिक उद्घाटन भएको हो । स्थापनाकालमा ल्याइएको उक्त प्लानिङ मेसिन सन् २००८ मा नै मेसिन उत्पादक कम्पनीले ‘अब सञ्चालन गर्न नसकिने’ जनाएको भए पनि अस्पतालले जेनतेन चलाउँदै आएको कार्यकारी निर्देशक आचार्यले बताए ।

उनले भने “कम्पनीले सञ्चालन गर्न सकिँदैन भनेपछि पनि जोरजाम गरेर हामीले थप १० वर्ष सञ्चालन ग¥यौँ ।” अहिले ल्याइएको मेसिन तीन वर्ष अघि नै टेण्डर गरिएको भए पनि १० करोड रुपैयाँ हाराहारीको उक्त मेसिन अस्पतालले समयमा रकम निकासा गर्न नसक्दा ल्याउन ढिलाइ भएको हो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *