महोत्तरी : आँखाको समस्या महिलामा धेरै


बर्दिवास, २२ जेठ । महोत्तरी जिल्लाका धेरैजसो महिलामा आँखाको समस्या देखिएको छ । नेपाल रेडक्रस सोसाइटी र नेपाल नेत्रहीन संघ पुनःस्थापना कार्यक्रमका जिल्ला शाखाले आर्थिक वर्ष २०७४/७५ मा जिल्लाका विभिन्न भेगमा सञ्चालन गरेको १० भन्दा बढी शिविरमा आँखा जाँच गराएकामध्ये ७० प्रतिशत महिलामा जटिल समस्या देखिएको हो ।

आँखाको जटिल समस्या भएकाहरू धेरैजसो ५० वर्ष नाघेका पाइएको पुनःस्थापना कार्यक्रमका कार्यकारी निर्देशक अमृत राईले जानकारी दिए ।

“यही जेठ १३–१९ सम्म जिल्लाका चार स्थानमा शिविर चलायौँ”,सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, “जस्मा उपचार गराउने ६५३ मध्ये ३४३ महिला आँखाको समस्याबाट ग्रसित भएको पाइयो भने ७९ जनामा त मोतिबिन्दूकै समस्या रहेछ ।”

महिलामा आँखाको समस्या बढी देखिनुमा चुलोचौकाको काम नै मुख्य कारण रहेको चिकित्सकले औँल्याएका छन् । तराईमा प्राय झुम्म बस्ती हुने, चारैतिरबाट घेरिएको झ्याल नभएको स्थानमा खाना पकाउँने गर्नाले हुँदा धुवाँ रुमल्लिेर महिलामा आँखाको समस्या धेरै हुने गरेको शिविरमा संलग्न नेत्र विशेषज्ञ डा नवीन साहले बताए। भान्सा कोठाको परिवेशसँगै बढी धुवाँ आउने गुइँठा पनि आँखाको समस्या बढाउने कारक भएको पाइएको उनको भनाइ थियो ।

रेडक्रसले सञ्चालन गरेका शिविरमा पनि आँखा जाँच गरिएका बिरामीमध्ये महिलाको संख्या नै बढी पाइएको छ । आर्थिक वर्ष २०७४/७५ को हालसम्मको अवधिमा रेडक्रसले सञ्चालन गरेका शिविरमा आँखा जाँच गराउने करिव एक हजारमा झण्डै ६०० महिला रहेका रेडक्रसका जिल्ला सभापति दीपक मिश्रले बताए ।

बर्दिवास आँखा अस्पतालमा पनि आँखाको उपचार गराउनेहरूमा महिला नै बढी भेटिएका छन् तर गर्मीयाममा खेतीपातीको काम बढेपछि आखाँ उपचार गराउनेमा पुरुषको संख्या बढ्ने गरेको छ । जेठदेखि भदौ १५ सम्म पुरुष बिरामी बढी हुने र अन्यबेला आँखाको समस्या लिएर आउनेमा महिलाकै संख्या बढी देखिने गरेको अस्पताल सञ्चालक बोर्डका अध्यक्ष मुकुन्दप्रसाद पौडेलले बताए ।

आँखाको नियमित सरसफाइ नगर्दा र धुलो, धुवाँबाट बच्न नसक्दा बढीजसोमा आँखाको समस्या बढ्ने गरेको उक्त अस्पतालका आँखा चिकित्सक डा डिनाले जानकारी दिइन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *