मन्त्रिपरिषद्का पूर्व अध्यक्षले भेटे पाल्पा बस दुर्घटनाका घाइतेलाई
काठमाडौँ, २० जेठ । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले पाल्पा बस दुर्घटनाका घाइतेहरुलाई भेटेका छन् । आज दिउसो धापासीस्थित ग्राण्डी अस्पतालमा पुगेर उनले घाइतेहरुलाई भेटेका हुन् ।
१५ जनाको ज्यान जाने गरी गत शुक्रबार पाल्पाको हुमिनमा भएको दुर्घटनाका तीन जना घाइतेलाई थप उपचारका लागि शनिबार काठमाडौँ ल्याइएको थियो ।
भेटका क्रममा पूर्व अध्यक्ष रेग्मीले परिवारलाई धैर्य हुन आग्रह गर्दै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बचनबद्धता व्यक्त गरे ।
त्यसअघि रेग्मीलाई घाइतेको अवस्था र उपचारबारे अस्पतालका कार्यकारी निर्देशक डा चक्रराज पाण्डेले जानकारी गराएका थिए । सो क्रममा पूर्व अध्यक्ष रेग्मीले घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न अनुरोध समेत गरे ।
यसैबीच पूर्व अध्यक्ष रेग्मीले ग्राण्डी अस्पतालमै आज भर्ना भएका राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
भारतको दिल्लीस्थित मेदान्ता अस्पतालमा दश दिन लामो उपचार गरि हिजो मात्रै स्वदेश फर्किएका घिमिरेको स्वास्थ्य अवस्था पुन विग्रिएपछि विहानै ग्राण्डी पुरयाइएको थियो । रेग्मीले राष्ट्रकवि शीघ्रस्वास्थ्य लाभको कामना समेत व्यक्त गरे ।