स्वास्थ्य संस्थामा हुने तोडफोड स्विकार्य छैन : गगन थापा

काठमाडौँ, १८ बैशाख । पूर्व स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य संस्थामा हुने तोडफोडका घटना कुनै पनि हालतमा स्विकार्य नहुने बताएका छन् ।

एक सय २९ औं श्रमिक दिवसको अवसरमा मंगलबार ओम हस्पिटल कर्मचारी यूनियनले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले अस्पताल प्रशासनले गोप्य रुपमा तोडफोडका घटनालाई साम्य पार्ने प्रयास गर्दा समस्या झन् बल्झने गरेको टिप्पणी गरे ।

काठमाडौं क्षेत्र नम्बर ४ का निर्वाचित सांसद समेत रहेका थापाले स्वास्थ्य क्षेत्रमा धेरै विकृति रहेको औल्याउँदै स्वास्थ्य ऐनको प्रभावकारी निर्माण संगै त्यसको कार्यान्वयनमा जोड दिए । सार्वजनिक शिक्षा र स्वास्थ्य बलियो नभए सम्म मुलुक समृद्ध हुनै नसक्ने थापाको भनाइ थियो ।

ओम हस्पिटल कर्मचारी यूनियनका अध्यक्ष केशवप्रसाद चौलागाईले संस्थाको समग्र हीतसँगै कर्मचारीकोे वृत्ति विकासलाई यूनियनले विशेष प्राथमिकता दिएको बताए ।

यूनियनका जायज मागलाई बेवास्ता गर्दै प्रशासन अघि बढेमा त्यसपछि उत्पन्न हुने परिणामको जिम्मेवार प्रशासन नै हुने चौलागाईले बताए । यूनियनका उपाध्यक्ष विक्रम मुडभरीले कर्मचारी दास हुन् भन्ने प्रवृत्ति अन्त्य हुनुपर्ने माग गरे ।

अग्रज मजदूर नेता तथा यूएनआई एशिया प्यासिफिक डाइरेक्टर राजेन्द्र आचार्यले टे«ड यूनियनलाई समस्याको रुपमा लिने सोच नै गलत भएको बताए । टे«ड यूनियनले समस्या समाधान गर्न सधै प्रभावकारी भूमिका खेल्ने गरेको आचार्यले बताए ।

काठमाडौं महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष शुद्ध कुमार डंगोलले सार्वजनिक उत्तरदायित्य बोध गर्दै गुणस्तरीय सेवामा ध्यान दिन ओम अस्पताल प्रशासनलाई आग्रह गरे ।

हस्पिटलका प्रबन्ध संचालक बाबुकाजी कार्कीले प्रशासनले टिम वर्कमा विश्वास राख्ने भन्दै कर्मचारीको दक्षता अभिवृद्ध गर्न आफूहरु तयार रहेको बताए । कुनै पनि समस्या भए खुल्ला रुपमा प्रशासन समक्ष राख्न उनले कर्मचारीहरुलाई आग्रह गरे ।

अस्पतालका मेडिकल डाइरेक्टर केपी देवकोटाले संस्थाको विकासका लागि सबै एकजुट हुनुपर्ने बताए । कार्यक्रममा वरिष्ठ सर्जन डाक्टर धुव्र शर्मा मुडभरीसंगै हस्पिटल संचालकहरु विजय मल्ल, चण्डिराज ढकाल, डाक्टर आनन्द श्रेष्ठ लगायतले कर्मचारी र व्यवस्थापन मिल्नुको विकल्प नरहेको बताए ।

कार्यक्रममा २० वर्ष सेवा पूरा गरेका कर्मचारीहरुको सम्मान सहित बिदाई गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *