ब्रोङ्किएलआज्मा अर्थात दम खोकीको समस्या के हो ? कसरी देखा पर्छ ?

– डा. निरज बम

फोक्सोको ठुला श्वास प्रश्वास नलीमा एलर्जीले गर्दा उत्पन्न हुने ‘इन्फ्लामेटरी रेस्पोन्स’ अर्थात श्वास प्रश्वास नली साघुँरिन गई श्वास प्रश्वास प्रक्रियामा उत्पन्न हुने एक प्रकारको कठिनाईलाई ब्रोङ्किएलआज्मा भनिन्छ । अर्को शब्दमा यसलाई दम खोकीको समस्या भनेर पनि बुझ्न सकिन्छ ।

धुलो, धुवा, प्रदुषण, चिसो, चिल्लो खानपान, धूमपान, फुलबाट निस्कने पराग, बायू प्रदुषण, बर्षातका कण आदिबाट कतिपयको श्वासप्रश्वास नलिमा एलर्जी हुन जान्छ र यसले श्वास प्रश्वास नलिको आयातन साघुँरो पारिदिन्छ अर्थात श्वासप्रश्वास नली खुम्चन थाल्दछ । जसको प्रत्यक्ष असर श्वास प्रस्वास प्रक्रियामा देखिन्छ । नली साघुँरिएका कारण व्यक्तिलाई सास फेर्न कठिनाई उत्पन्न हुन थाल्दछ । यहि अवस्थालाई ब्रोङ्किएलआज्मा अर्थात दम खोकीको समस्या भनेर बुझ्न सक्छौँ ।

ब्रोङ्कियल आज्माको प्रकोप विकासोन्मुख तथा गरीब मुलुकहरुमा बढ्दै गएको पाइन्छ । विश्वमा हाल करीब ३० करोड मानिस यस रोगबाट पिडीत भने सन् २०२५ सम्ममा थप १० करोड मानिसमा यो रोग थपिने सम्भावना विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कारक तत्वहरु
बाताबरणीय प्रदुषण बढ्दै जानु पनि यो रोग बृद्धिको मुख्य कारक हो । यस्तै घर भित्र र बाहिरका धुलो धुवाँका कण हावामा भएका भाइरस, व्याक्टेरिया, फंगसका किटाणु, बाताबरणीय प्रदुषण, चुरोटको धुँवा, मोटोपना आदि यस रोगका कारक तत्व हुन् ।

असन्तुलित आहार व्याहार, धेरै मानिसक तनाव, बाताबरणीय तापक्रम घटबढ्ले पनि यो रोग बढाउन महत्वपूर्ण भूमिका खेल्दछ ।
घरभित्रका फोहोरका कण, किरा, कुकुर विरालोका रौँबाट शरीर तथा फोक्सोका श्वास नलीमा एलर्जी भई श्वास नलिहरु खुम्चिन गई स्वास्थ्य प्रश्वासमा अवरोध उत्पन्न हुन सक्छ ।

औद्योगिक क्षेत्रबाट निस्कने फोहर तथा धुवाहरुबाट पनि यो रोग उत्पन्न हुनसक्छ । एस्पिरिन, बिटा लकर जस्ता औषधिले पनि श्वास प्रश्वास नलिमा अवरोध पुरयाउन सक्छन् ।

एलर्जीले विभिन्न प्रकारका रसायन तथा आइजीई, इओसिनोफिल्स, न्युट्रोफि लगायतका कोषहरु प्रसस्त मात्रामा उत्पन्न गराई स्वास प्रश्वास नलि साँघुरो बनाइदिन्छ र श्वास प्रश्वासमा कठिनाई उत्पन्न हुन थाल्छ ।

ब्रोङ्किएलआज्माका लक्षणहरु

  • विरामीलाई बारम्बार रुघा लाग्ने ( बढि जसो चिसो मौसममा )
  • लामो समयसम्म खोकी लागि रहने ।
  • छातीमा घ्यार घ्यार आवाज आउने ।
  • सास फेर्न कठिनाई हुने ।
  • छाती गरुङ्गो हुँदै जाने ।
  • खोकी बढ्दै जाँदा स्याँ स्याँ हुने ।
  • थकाई लाग्ने
  • शरीर चिलउने । आदि हुनसक्छन् ।
  • रुघा ज्वरो आउन सक्छ ।
  • खोकी विहान चिसोमा बढ्दै जान्छ ।

ब्रोङ्किएलआज्मा र सीओपीडी बीच यस्ता छन् फरक

त्यसो त ब्रोङ्किएलआज्मा अर्थात दम खोकीको लक्षणहरु र सीओपीडीको लक्षण झण्डै उस्तै देखिन खोज्दछ । तर केही फरक हुन्छ नै । ब्रोङ्किएल आज्मा र सीओपीडीमा लक्षणहरु यसरी फरक हुन्छन् ।

१.  ब्रोङ्किएलआज्मा हुनुको कारक तत्व धूलो धुँवा तथा चिसोको एलर्जी प्रमुख हो भने सीओपीडीमा धूमपान प्रमुख कारक मानिन्छ ।

२.  ब्रोङ्किएलआज्मा सानै उमेर देखिका मानिसहरुमा देखिन थाल्छ भने सीओपीडी प्राय ३५-४० बर्ष माथिका मानिसमा शुरु हुन्छ ।

३. ब्रोङ्किएलआज्माबाट प्राय महिलाहरु प्रभावित भएको पाइन्छ । साथै वंशाणुगत रुपमा देखिन्छ भने सीओपीडी प्राय धूमपान गर्ने पुरुषमा बढी मात्रामा देखिन्छ ।

४.  ब्रोङ्किएल आज्माको दम खोकीको मात्रा मौसम अनुसार परिवर्तन हुने गर्दछ । प्राय चिसो मौसममा मानिसहरु प्रभावित हुन्छन् । तर कहिलेकाँही वा कुनै निश्चित मौसममा यसको लक्षण नै हराउन पनि सक्छ । तर सीओपीडीका विरामीमा प्राय सबै मौसममा खोकी दम स्याँ स्याँको लक्षण रही रहन्छ ।

नेपालमा बढ्दो बायु प्रदुषणले दमका बिरामीहरुको संख्या पनि दिनानुदिन बढ्दै गई रहेको छ । हिजो आज अस्पतालहरुमा प्राय सानै उमेरका बालबालिका पनि लामो समयसम्मको रुघा, खोकी, स्वास प्रस्वासमा कठिनाईका जस्ता समस्या लिएर आउने गरेका छन् । यस्तो हुनुको कारण ब्रोङ्किएलआज्मा नै हो ।

यदि ब्रोङ्किएलआज्माको समयमा निदान, रोकथाम र उपचार भएन भने यसले छातीमा निमोनिया, क्षयरोग जस्ता संक्रमण निम्त्याउने र विरामीको ज्यानै समेत लिन सक्छ ।

ब्रोङ्किएल आज्मा भएको कसरी थाह पाउने ?

विरामीको रोगका लक्षण र एलर्जीको ‘हिस्ट्री’ निर्क्योल गरे पश्चात यो रोगको निदान हुनसक्छ । त्यसलाई थप विश्वसनीय बनाउन रगत परीक्षण, छातीको एक्सरे, ‘पल्मोनरी फङसन टेष्ट’ आदि परीक्षण गर्ने गरिन्छ ।

यो रोग खासगरी धुलो धूवाँ चिसो केही खानेकुरा, धूमपान, फुलका पराग, केही जनावरको एलर्जी, मानसिक तनाव, रक्सी सेवनले हुने एलर्जी जस्ता समस्याले नित्याउछ । कतिपय महिलामा गर्भवतीका बेला हुने एलर्जीको समस्याले समेत यो रोगलाई नित्याउँछ । र बंशाणुत रुपमा पनि यो रोग देखिन सक्छ ।

रोकथामका उपायहरु के के हुन् ?

  • धुलो धुवाँ चिसो तनाव, धूमपान आदि जस्ता एलर्जी बढाउने तत्वबाट जोगिनु पर्छ ।
  • प्रदुषित बाताबरण भएकोले बाहिर निस्कदा सकेसम्म मास्कको प्रयोग गर्नु राम्रो हुन्छ ।
  • घर र वरिपरिको बाताबरण सफा सुन्दर र हराभरा राख्ने । हरियाली कायम गर्ने ।
  • आफ्नो शरीरमा एलर्जी उत्पन्न गर्ने खानेकुरा सकेसम्म नखाने, प्रयोग पनि नगर्ने ।
  • पोषणयुक्त खानपान र प्रोटिन बढी भएका खानेकुरा खाने ।
  • ब्रोङ्किएल आज्मा लामो समयसम्म रहेमा चिकित्सकको सल्लाहमा इन्फ्लुएन्जा र निमोनिया खोप लगाउने ।

कसरी गर्ने उपचार ?

ब्रोङ्किएल आज्माका विरामीहरुले नियमित रुपमा छातीरोग विशेषज्ञसंग परीक्षण तथा परामर्स लिई राख्नु पर्ने हुन्छ । चिकित्सकको सल्लाह विना जथाभावि औषधि सेवन गर्नु हुँदैन । किनभने चिकित्सकले रोगको पहिचान गरी रोगको गम्भीरता हेरिकन औषधि दिने गर्छन् ।

उपचारकै कुरा गर्दा ब्रोङ्किएल आज्माका विरामीलाई अवस्थाको पहिचान गरिकन चिकित्स्कले साल्बुटामोल, फरमेट्रोल जस्ता इन्हेलरबाट शुरु गरी इन्हेल्ड कर्टिकोस्टेराईड जस्ता औषधि समेत रिफारिस गर्न सक्छ । त्यस्तै मोन्टेल्युकास्ट जस्ता खाने चक्की पनि प्रयोग गरिन्छ ।

छातीमा संक्रमणको लक्षण , जस्तै स् खकार बाक्लो र पहेलो भएमा ज्वरो आएमा वा छाती धेरै नै घ्र्यार घ्र्यार हुन थालेमा एन्टीबायोटिक जस्ता औषधि पनि दिइन्छ । विरामीलाई ज्यादै कठिनाई भएमा अस्पतालमा भर्ना गरि अक्सिजनका साथै इन्हेलर थेरापी, नेबुलाईजेसन थेरापीमा पनि राखिन्छ ।

चिकित्सकको प्रमुख उदेश्य यो रोगलाई औषधि उपचारको सहयोगले नियन्त्रणम राखी विरामीको जीवनस्तर सहज बनाउनु हो । यो रोगको उपचार जति कम उमेरमा जति छिटो शुरु गरियो त्यतिनै छिटो नियन्त्रण भई निर्मूल हुनसक्छ । अन्यथा यो रोगले दीर्घ रोगको रुप लिई नियन्त्रणमा कठिनाई उपन्न हुन्छ । साथै विरामीले जीवनभर औषधिको सहायता लिनुपर्ने हुन्छ ।

नेपालको सन्दर्भमा कुरा गर्दा ब्रोङ्किएल आज्माको उपचार सहज रुपमा लिन सकिन्छ । यसका लागि चाहिने औषधि उपकरण तथा दक्ष जनशक्ति काठमाडौँ सहितका सहरमा सहज रुपमा पाउन सकिन्छ । त्यसैले शंका लागेमा वा लक्षण देखिएमा तुरुन्त विशेषज्ञ चिकित्सकसंग सम्पर्क गर्नु बुद्धिमानी हुन्छ ।

 डा.  बम त्रिवि शिक्षण अस्पताल पल्मोनोलोजी एण्ड क्रिटिकल केयर मेडिसिन विभागका उप प्राध्यापक हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *