नेपालमा औलो रोग : संक्रमित मध्ये दुई तिहाई विदेशबाट फर्केका
काठमाडौँ, १२ बैशाख । पछिल्लो तथ्यांकले नेपालमा औलो रोगबाट संक्रमित व्यक्तिमध्ये करीब दुई तिहाई व्यक्ति विदेश गएर फर्केका भएको पाइएको छ । अघिल्ला बर्षहरुमा यो संख्या करीब आधा मात्रै हुने गर्दथ्यो ।
विश्व औलो दिवसको अवसरमा स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा निर्देशक डा. केदार सेन्चुरीले पछिल्लो तथ्यांक प्रस्तुत गर्दै भने, ‘औलोका विरामी स्वदेशमै बस्ने भन्दा विदेश गएर फर्केकाहरु बढी देखएका छन् ।’
महाशाखाका अनुसार आर्थिक बर्ष २०७३-४ मा औलो संक्रमितको संख्या १ हजार एक सय २८ थियो । त्यसमध्ये ६ सय ३६ जना विदेशबाट फर्केका व्यक्तिहरु छन् ।
अघिल्लो बर्ष भने आयातित ४ सय ८५ र स्वदेशमै रहेका ५ सय ६ जनामा औलोको संक्रमण भएको पाइएको थियो ।
डा सेन्चुरी भन्छन्, ‘केही बर्ष अगाडी स्थानीय तहमा देखिने औलोका बिरामी धेरै हुने गरे पनि पछिल्लो समय आयातिन औलोको जोखिम बढ्दै गएको छ ।’ उनले अहिले औलोको जोखिम सबैभन्दा बढी सात नम्बर प्रदेश रहेको जानकारी दिए ।
हिमाल चढ्यो औलो ?
सरकारले सन् २०२५ सम्ममा नेपालबाट औलो उल्मूलन गर्ने घोषणा गरे पनि बढ्दो जनवायु परिवर्तन तथा तापक्रम बढ्दै गएको हुँदा हिमाली क्षेत्रमा समेत लामखुट्टेहरु देखिन थालेका छन्। जसले गर्दा ती क्षेत्रमा पनि औलो जोखिम रहेको समेत डा. सेन्सुरीले बताए।
उनले भने, ‘तापक्रमकै वृद्धिका कारण तराईका लामखुट्टे विभिन्न माध्यमबाट हिमाली क्षेत्रमा समेत जान थाले र त्यहाँ फोहोर, खाल्डाखुल्डीमा लामखुट्टेको वृद्धि हुन थालेको छ जसले गर्दा पछिल्लो समयमा औलोका बिरामी हिमाली जिल्लामा समेत भेटिन थालेका छन् ।’
नेपालमा सन् २०२५ सम्म औलो उल्मूलन गर्ने रणनिती अनुसार सन् २०१८- २०२२ सम्मको लागि ग्लोवल फण्डको सहयोगमा ४२ लाख अमेरी डलरको सहयोगमा विभिन्न जनचेतना मुलक भइरहेको छ।