धादिङ बन्यो पूर्णखोपयुक्त जिल्ला

60
Shares

धादिङ, १७ पुस । धादिङलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ ।  स्वास्थ्यमन्त्री दीपक बोहोराले आइतबार एक समारोहबीच धादिङलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेका हुन् ।

सो अवसरमा उनले जिल्ला खोप समन्वय समितिका संयोजक एंव जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाललाई धादिङ पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको प्रमाणपत्रसमेत हस्तान्तरण गरे ।

समारोहमा मन्त्री बोहोराले जिल्ला अस्पताललाई हालको १५ श्ययाबाट बढाएर ५० श्ययाको स्वीकृति दिन आफूले तत्कालै पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

क्यान्सर, स्पाइनल कर्ड इन्जुरी लगायतका गम्भीर रोग लागेका बिरामीलाई सरकारले पाँच हजार भत्ता दिने निर्णय आफूले गरेको बताउँदै उनले जिल्लालाई पूर्णखोप बनाएर मात्र नपुग्ने भएकाले अब सबै बालबालिकाले निरन्तर पूर्ण खोप पाउने वातावरणको सुनिश्चितता गर्न जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिए ।

कानून, न्याय तथा संसदीय मामिला राज्यमन्त्री दिलमान पाख्रिनले पूर्वाधार पुगेर पनि जिल्ला अस्पतालले ५० श्ययाको स्वीकृति नपाएको गुणासो व्यक्त गर्दै तत्काल ५० श्ययाको स्वीकृत दिन सरकारसंग आग्रह गरे।

सांसद खेमप्रसाद लोहनी, प्रदेशसभा सदस्य डा रामकुमार अधिकारी लगायतले स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाले उल्लेखनीय कार्य गरेको बताउँदै उनीहरुको उत्कृष्ट कार्यका लागि सरकारले सम्मान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मन्त्री बोहोराले जिल्लालाई पूर्णखोपयुक्त बनाउने कार्यमा उल्लेखनीय कार्य गरेवापत दुई नगरपालिका र ११ गाउँपालिकाका एक–एकजना महिला स्वास्थ्य स्वयंसेविकालाई दोसल्ला ओडाएर सम्मान गरे ।

खोप समन्वय समितिका संयोजक जगन्नाथ नेपालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।

यसअघि जिल्ला सदरमुकाम धादिङबेसीको पुछारबजारबाट लामाहरुको झाँकी, तामाङ समुदायको घोडचडी नाच, भजनलगायत विभिन्न झाँकी र बाजागाजासहित निस्केको ¥याली खुलामञ्चमा पुगेर सभामा परिणत भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *