शरणार्थी शिविरमा ‘भ्यागुते रोग’ बाट नौ जनाको मृत्यु

28
Shares

ढाका, बङ्गलादेश, २६ मङ्सिर । बङ्गलादेशस्थित रोहिङ्ग्या शरणार्थी शिविरमा शङ्कास्पद भ्यागुते रोगबाट नौ जनाको मृत्यु भएको र ७०० भन्दा बढी व्यक्तिमा सङ्क्रमण भेटिएपछि बङ्गलादेश सरकारले मङ्गलबारदेखि व्यापक खोप अभियान सञ्चालन गरेको छ ।

बङ्गलादेशका स्वास्थ्य अधिकारीहरूले दक्षिणी बङ्गलादेशमा रहेको रोहिङ्ग्या शरणार्थी शिविरमा भ्यागुते रोगको प्रकोप फैलिएकोबारे अनभिज्ञता प्रकट गरे ।

म्यानमारमा जातिय हिंसा चर्किएपछि केही महिना पहिले भागेर बङ्गलादेश पुगेका छ लाख ४६ हजार रोहिङ्ग्याहरू रहेका शिविरमा भ्यागुते रोगको सङ्क्रमण भेटिएको हो ।

“अहिलेसम्म नौजनाको भ्यागुते रोगको प्रकोपका कारण मृत्यु भएको हुनसक्ने देखिएको छ,” बङ्गलादेशको सरुवा रोग तथा महामारी नियन्त्रण शाखाका प्रमुख मिर्जादि सब्रिना फ्लोराले भने।

सङ्क्रमण देखिएका ७०० जनामध्ये अधिकांश बालबालिकासहित १०४ जनामा विगत २४ घण्टाभित्र रोगको सङ्क्रमण देखिएको बङ्गलादेशको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

अधिकारीले शरणार्थी शिविरमा भीड भएका स्थानमा दुई छुट्टै एकाई बनाई प्रयाप्त बास र खाना साथसाथै औषधोपचारको पहँुच नपुग्ने रोहिङ्ग्या शरणार्थीलाई सेवा प्रवाह गर्ने बताएका छन् ।

खोपका कारण पछिल्ला केही दशक यता भ्यागुते रोगका विरामी लगभग उन्मुलनको दिशामा पुगेको बताउने गरिन्छ । यस रोगका कारण श्वासप्रश्वासमा सङ्क्रमण हुने र समयमा उपचार सेवा नलिएमा यसले ज्यानै लिने खतरा हुन्छ ।

सरकार र राष्ट्रसङ्घीय निकायको संयुक्त पहलमा सातबर्ष मूनिका दुई लाख ५० हजार शरणार्थी बालबालिकालाई खोप दिने तयारी थालिएको छ । रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *